'कोटेश्वरको केटो' लाई एक लाख रुपैयाँ राशिको पुरस्कार

'कोटेश्वरको केटो' लाई एक लाख रुपैयाँ राशिको पुरस्कार

काठमाडौँ : नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति 'कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरूमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरूको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर 'कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको हो ।

राजेन्द्र पराजुली विशेष गरी कथा लेख्न रुचाउँछन् । उनका हालसम्म विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा मार्क्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । एउटा उपन्यास नायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनले आठ वटा कृति नेपाली साहित्य जगतलाई दिइसकेका छन् ।

राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा झन्डै साढे चार दशकअघिको काठमाडौँको दृश्य हो । यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ । काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, सङ्घर्ष र पीडाको कथा यो कृतिको एक भागमा उनले उनेका छन् । कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो विषय बन्न सक्छ । जिन्दगीका साना मसिना सन्दर्भलाई गम्भीर ढङ्गमा साहित्यिक लेप लगाउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ । त्यस कारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ ।

कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’ बाट । अन्य तीन भागमा ‘अनुहारहरू’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरूसँग’ रहेका छन् । अक्षरहरूसँग पाठमा उनले पत्रकारिताका अनेक तीता मीठा प्रसङ्ग ल्याएका छन् । तीन दशकभन्दा लामो पत्रकारिता गरेका उनले आफ्ना भोगाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन् । अक्षरहरूसँग नेपाली पत्रकारिताको सग्लो दृश्य उतार्न सफल छ ।

२०२१ सालमा काठमाडौँको कोटेश्वरमा जन्मिएका उनी जसरी नेपाली साहित्यमा स्थापित छन्, उसैगरी पत्रकारितामा पनि सम्मानित छन् । पत्रकारितामा निष्ठा, व्यावसायिकता र धैर्य आवश्यक पर्छ । यी कुरामा पराजुली कहिल्यै चुकेका देखिँदैनन् । बेलाबखत उनी साहित्यका बारेमा टिप्पणी पनि लेख्छन्, ती टिप्पणीले लामो समयसम्म नेपाली साहित्यिक जगत्मा चर्चा पाइरहन्छ । न कहिल्यै हल्ला, न कहिल्यै चर्चा न त पुरस्कार वा सम्मान नै पनि, राजेन्द्र पराजुली चुपचाप अविरल आफ्नो साहित्य यात्रामा हिँडिरहेका छन् । यी शालीन, प्रतिभाशाली र शान्त लेखकलाई पुरस्कृत गर्न पाउँदा नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) गर्व महसुस गर्छ ।

 

२७ माघ, २०७७, १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।