उकेरामा आज : कोरोना खोपमा सरकारी मनोमानीदेखि पत्रकारबाट दिक्क भएकी पात्रको कथासम्म

उकेरामा आज : कोरोना खोपमा सरकारी मनोमानीदेखि पत्रकारबाट दिक्क भएकी पात्रको कथासम्म

काठमाडौं : आज पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोइरालाको छैटौँ स्मृति सभा। सादगी नेता कोइरालाको स्मृति सभालाई नेपाली काँग्रेसले त्यति महत्त्व दिएन। पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी संघले दीप प्रज्वलन गर्ने बाहेक खासै औपचारिक कार्यक्रम गरेन।

कोइराला परिवारसँग लामो समयदेखि विरासतको लडाईमा रहेका शेरबहादुर देउवा अहिले पार्टीको सभापति छन्। सायद त्यही तुसले हुनसक्छ उनले सुशील कोइरालाको स्मृति सभालाई त्यत्ति महत्त्व दिएको देखिएन।।

अन्य राजनीतिक घटनाक्रममा आज नेकपाको दाहाल–नेपाल समूहले विभिन्न कार्यक्रमको आयोजना गर्यो। पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री तथा नेकपाको अर्को समूहका नेता केपी ओलीको आलोचनामै दिन बिताए। 

सर्वोच्चको संवैधानिक इजलासमा प्रधानमन्त्रीले गरेको संसद् विघटन संवैधानिक कि गैर संवैधानिक भन्ने बहस जारी छ। आज प्रधानमन्त्रीको तर्फबाट निजी वकिलहरूले बहस गरे।

नेपाल प्रहरीका एक सई लागु औषध कारोबारीको आरोपमा पक्राउ परे। उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए। 

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दलहरूबिच संयुक्त आन्दोलनको गृहकार्य सुरु भए लगत्तै नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला त्यसको विपक्षमा उभिए।

हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको आज पोस्टमार्टम रिर्पोट सार्वजनिक भयो जसमा उनको बलात्कार समेत भएको पुष्टि भयो। आजका मुख्य औपचारिक समाचार यस्तै नै हुन्। 

अब लागौँ उकेराका विषयतिर

उकेरा टप पाँच

दीर्घ रोगीको सट्टा किन अरूलाई खोप ?

उकेराले बिहानै कोरोना खोपबारे समाचार प्रकाशन गर्यो। सरकारले सार्वजनिक गरेको खोपको प्राथमिकता सूचीमा फ्रन्टलाइनमा खटिनेहरूलाई खोप उपलब्ध गराएपछि जोखिम समूहलाई खोप लगाउने उल्लेख थियो। तर सरकारले जोखिम समूह छाडेर सञ्चारकर्मी र कूटनीतिक र र राष्ट्र सङ्घीय नियोगका पदाधिकारी र कर्मचारीलाई खोप सेवा उपलब्ध गरायो। जोखिम समूहकालाई किन सरकारले बेवास्ता गर्यो त्यसको लेखाजोखाको प्रयास गर्यो। दीर्घ रोगीको सट्टा किन अरूलाई खोप ?

‘आफ्नो व्यथा, पत्रकारलाई कथा’

उकेराको नियमित स्तम्भ भुईमान्छेको कथामा यो पटक हामीले निर्माण क्षेत्रकी मजदुर जो काम गर्दागर्दै दुर्घटनामा परेर ह्विप चेयरमा पुगेकी थिइन् उनको भावना प्रस्तुत गर्यौ।

दुख जिलो गरेर आफ्नो जीवन चलाइरहेकी उनलाई यूट्यवमा केन्द्रित समूहले कति सताएका रहेछन् भन्ने देखियो। उनका लागि दृष्य देखाउनेहरु सब पत्रकार हुन। उनमा पत्रकार शब्दप्रति चरम वितृष्णा थियो। कारण आफ्नो दुखको पोको खोले बापत आर्थिक सहयोगको वाचा गर्ने रहेछन्। तर आफ्नो काम सकिएपछि बेपत्ता। ‘आफ्नो व्यथा, पत्रकारलाई कथा’

सरकार महँगीमा उल्टो ज्याला घटाउँछ

रोजगार दिने भनेर सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्यो। तर ज्याला भने बजारको चल्तीभन्दा पनि निक्कै कम दिँदै आएको छ। बजारमा महँगी अचाक्ली छ। तर सरकारले नै सुरु गरेको रोजगार कार्यक्रमको ज्याला जीवन धान्न साउनेसम्मको पनि छैन। सामान्य मजदुरले पनि दिनको हजार कमाउन सक्छ। तर सरकारी रेट छ पाँच सय १७ रुपैंया। सरकार महँगीमा उल्टो ज्याला घटाउँछ

विवेकशीलको असन्तुष्ट पक्ष आन्दोलनमा, साझामा गएको समूहको असन्तुष्टि

समाजमा नयाँ संस्कारसहितको राजनीतिको अभ्यास गर्ने भनेर आएको विवेकशील पार्टीको एक समूह साझा पार्टीसँग एकीकृत भयो। असन्तुष्ट समूह आफैँ क्रियशिल हुने प्रयासमा छन्। फरक संस्कारका साथ राजनीतिमा भिजिरहेको सो समूहले आज माइतीघरमा प्रदर्शन गर्यो। उनीहरूले ब्यानरमा विवेकशील पार्टीको नाम प्रयोग गरेकोमा साझासँग एकीकरण गरेको समूहले असहमति जनायो। त्यसलाई उकेराले प्राथमिकताका साथ प्रकाशन गर्यो। विवेकशीलको असन्तुष्ट पक्ष आन्दोलनमा, साझामा गएको समूहको असन्तुष्टि

किशोरी भागरथीको पोस्टमार्टम रिपोर्ट : घाँटी थिचेर हत्या, बलात्कार पनि

बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको जीवन समाप्त गर्ने अपराधी को हो खुलेको छैन। उस्तै प्रकृतिले मारिइन् अर्की किशोरी भागरथी भट्ट।। शनिवार भएको पोस्टमार्टमको रिर्पोट सोमबार आउँदा उनको हत्या पनि बलात्कारपछि भएको खुल्यो। प्रहरीले निर्मला केसमा झैँ यसमा पनि भेजाइनल स्वाबलाई प्राथमिकता राखेर नमुना परीक्षणका लागि काठमाडौँ पठाएको छ। प्रहरी यो अनुसन्धानमा केही गम्भीर देखिन्छ। तर उनको बलात्कार र हत्यामा कुन पापी हो संलग्न सङ्केत समेत फेला परेको छैन। यस विषयलाई पनि हामीले दिनभर प्राथमिकता साथ सम्प्रेषण गर्यौ। भोलिका दिनमा पनि हामी यो केसको निरन्तर निगरानी गरिनै रहने छौँ। किशोरी भागरथीको पोस्टमार्टम रिपोर्ट : घाँटी थिचेर हत्या, बलात्कार पनि

२६ माघ, २०७७, २३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।