संयुक्त आन्दोलनको विपक्षमा शशांक

संयुक्त आन्दोलनको विपक्षमा शशांक

काठमाडौँ : संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दलहरूबिच संयुक्त आन्दोलनको गृहकार्य सुरु भए लगत्तै नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला त्यसको विपक्षमा उभिएका छन्।

प्रतिपक्षमा रहेका दलहरूले अलग–अलग आन्दोलन गर्नुको साटो एकीकृत आन्दोलन गर्न छलफल जारी रहेकै बेला उनी भने विपक्षमा उभिएका हुन्।

उनले सोमबार एक कार्यक्रममा संसद् विघटनको विरोधमा हुने संयुक्त आन्दोलनमा गए काँग्रेसलाई घाटा हुने दाबी गरे। पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले आन्दोलनमा काँग्रेस कसैसँग मिल्न नहुने धारणा राखेका थिए।

उनको तर्क थियो‘ काँग्रेसको आफ्नै विचार र आफ्नै अस्तित्व छ। त्यसैले संयुक्त आन्दोलनमा जान हुँदैन।’ उनले आफ्ना कार्यकर्तालाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। 

काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल समेत संयुक्त आन्दोलनको पक्षमा देखिएनन्। सोही कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीको आलोचना गर्दै ‘अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता’ रहेको बताए। उनले ‘ संसद् विघटनअघि एकै ठाउँमा बसेका मान्छेहरू अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा  काँग्रेस नलाग्ने दाबी गरेका थिए।

कांगेसका दुवै नेता संयुक्त आन्दोलनको विपक्षमा उभिँदा सोही कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहका नेता रघुजी पन्त पनि थिए। उनी संयुक्त आन्दोलनको प्रसङ्गतिर नगई संविधानको रक्षा गर्नु अहिलेको मूल दायित्व भएको बताए।

२६ माघ, २०७७, १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।