किशोरी भागरथीको भेजाइनल स्वाब परीक्षण गर्दै प्रहरी

किशोरी भागरथीको भेजाइनल स्वाब परीक्षण गर्दै प्रहरी

काठमाडौँ : प्रहरीले किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको शङ्का गर्दै भेजाइनल स्वाबको परीक्षणको गर्ने भएको छ।

पोस्टमार्टम अगाडि चिकित्सकले सङ्कलन गरेको स्वाबको नमुना प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ल्याएर परीक्षणको तयारी गरिएको हो।

केन्द्रीय प्रवक्ता वसन्त बहादुर कुँवरका अनुसार परीक्षणका लागि स्वाब काठमाडौँ मगाइएको छ।

‘घटनास्थलमै गएर अनुसन्धान गर्न विशेष टोली खटाइएको छ। प्राविधिक अनुसन्धान केन्द्रले हेरिरहेको छ,’ उनले उकेरासँग भने‘ स्वाबबाट अनुसन्धानलाई अगाडि बढाउने केही तथ्य मिल्छ कि भनेर परीक्षणको तयारी गरेका हौँ।’

स्वाबमा अन्य कसैको डिएनए देखिन्छ कि भनेर परीक्षण गर्न लागिएको हो।

शनिवारै पोस्टमार्टम सकिए पनि विस्तृत प्रतिवेदन भने आएको छैन। शुक्रवार विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको शव फेला पर्दा भित्री वस्त्र चुँडिएको, योनीबाट रगत बगेको र शरीरमा टोकेको घाउका चोटहरू रहेकाले उनको बलात्कारपछि हत्या भएको प्रहरीको आशङ्का देखिन्छ।

यस अगाडि किशोरी निर्मला पन्तको समेत भेजाइनल स्वाब परीक्षण गरिएको थियो। त्यसकै नतिजाको आधारमा अनुसन्धान अगाडि बढ्दा उल्टो अलमल भयो। 

डिएनएलाई नै मुख्य आधार बनाउँदा शंकामा रहेकाहरू नै अनुसन्धानको दायराबाट बाहिर पुगेका थिए। धेरै विवाद भएपछि डिएनएबारे अनुसन्धान गर्न विशेष टोली नै गठन गरियो।

टोलीले डिएनएलाई मात्र आधार नबनाई अन्य प्रक्रियाबाट समेत अनुसन्धान गर्न सुझाव दिए पनि अनुसन्धानले गति लिन सकेको छैन।

के भयो पाँच दिनमा ?

प्रहरीका अनुसार अहिले भट्टको सम्पर्कमा देखिएका, आफन्त, विद्यालयका साथी र शिक्षकसँग जानकारी लिने र शङ्का लागेकालाई सोधपुछ गर्नेमा अनुसन्धान केन्द्रित देखिन्छ।

प्रहरीले घटनास्थलमै भट्टको मोबाइल बरामद गरेको थियो। त्यसको आधारमा उनको लोकेसन हेर्दा शव फेला परेको स्थान नै देखाएकाले हत्या लबलेकको बनमै भएको देखिन्छ। जङ्गल सर्च गर्दा घटनामा संलग्नबारे थप प्रमाण फेला पर्न सकेको छैन।

उनको पोस्टमार्टम भइसकेको छ। तर आफन्तले शव लिन मानेका छैनन्।

एसएसपीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले पटक पटक भट्टको शव फेला परेको स्थान र त्यसको वरपर तालिम प्राप्त कुकुरसहित सर्च गरिसकेको छ। तर नयाँ तथ्य भने फेला परेको देखिएन। प्रदेश प्रमुख उत्तम राज सुवेदीसमेत घटनास्थलको अवलोकनमा पुगेका थिए।

२६ माघ, २०७७, १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।