विवेकशीलको असन्तुष्ट पक्ष आन्दोलनमा, साझामा गएको समूहको असन्तुष्टि

विवेकशीलको असन्तुष्ट पक्ष आन्दोलनमा, साझामा गएको समूहको असन्तुष्टि

काठमाडौँ : विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले सोमबार माइतीघरमा जुत्ता बोकेर प्रदर्शन गरेको छ। सोमबार बिहान १०ः३० देखि ११ः३० सम्म उनीहरुले जुत्ता झुन्ड्याएर प्रदर्शन गरे। 

उनीहरुले ‘असंवैधानिक संसद् विघटन खारेज गर’,‘विधि विधान नकुल्च’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। तर प्रदर्शन एकीकृत विवेकशील साझाको थिएन। साझासँग एकीकरणमा असहमत पक्षले प्रदर्शन गरेको हा।

विवेकशील साझाका केन्द्रीय सदस्य तथा अभियान विभाग प्रमुख प्रमेश श्रेष्ठले माइतीघरमा सोमबार भएको प्रदर्शन विवेकशील साझाको नभएको बताए। 

श्रेष्ठले भने,‘उहाँहरूले विवेकशील पार्टी भनेर च्याम्पियन गर्नु हुन्छ। कन्फ्युजन छ।’ पार्टीका संयोजक मिलन पाण्डेले पनि माइतीघरमा भएको प्रदर्शनबारे आफूलाई थाहा नभएको बताए। उनले भने,‘माइतीघरमा हाम्रो के थियो र मलाइ त थाहा छैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसको विरोधमा माघ पाँच गतेसम्म दैनिक विरोध प्रदर्शन गरेको विवेकशीलका असन्तुष्ट पक्षका नेता छिरिङ तामाङले जानकारी दिए। माघ ५ गतेदेखि भने सोमबार र बिहीबार प्रदर्शन गर्दै आएको तामाङले बताए। उनले भने,‘प्रत्येक सोमबार र बिहीबार कार्यक्रम गरेका छौँ।’

उनी विवेकशीलमा रहँदा केन्द्रीय समिति सदस्य थिए। विवेकशील साझा एकीकरण हुने समयमा करिब ३३ प्रतिशतले एकीकरण प्रक्रियामा सहभागी नहुने निर्णय गरेको उनले सुनाए। 

उनले भने,‘३३ प्रतिशत भन्दा बढी साथीहरू नजानेमा परेका छौँ। दुई तिहाइले अनुमोदन गरेकाले वैधानिक रूपमा विवेकशील दल लेख्न मिलेन।’ तर,एकीकरणका लागि दुई तिहाइको मतलाई पनि अस्वीकार गरेको श्रेष्ठ बताउँछन्। 

विवेकशील लेखेर विवेकशील पार्टीसँग सम्बन्धित नभएको श्रेष्ठले बताए। अराजनैतिक किसिमले दर्ता नै नभएको पार्टीको नाम लेखेर अराजनैतिक किसिमले प्रदर्शन गरेको श्रेष्ठको तर्क छ। 

विवेकशील नाम राखे पनि नयाँ पार्टी दर्ता गर्दा यो नाम नै रहन्छ भन्ने एकिन नभएको असन्तुष्ट पक्षका तामाङले बताए। एकीकरणमा समाहित नभएका पक्षको फागुनको पहिलो हप्ता हुने पहिलो विस्तारित बैठकले, नाम, विधान र राजनीतिक एजेन्डा तय गर्ने तामाङ बताउँछन्। 

उनले भने,‘हामी एकीकरणमा गएनौँ छुट्टै दल बनाउँछौँ।’ 

करिब २ सय ५० सदस्य एकीकरणमा समावेश नभएको विवेकशीलको असन्तुष्ट पक्षले जानकारी दिएको छ। नयाँ सदस्य पनि थपिँदै गएको तामाङ बताउँछन्। उनले भने,‘अहिले साढे ४ सय जति पुगेका छौँ।’ तर, विवेकशील साझाका श्रेष्ठले करिब १० जना असन्तुष्ट पक्ष रहेको दाबी गरे।

 

२६ माघ, २०७७, १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।