‘आफ्नो व्यथा, पत्रकारलाई कथा’

‘आफ्नो व्यथा, पत्रकारलाई कथा’

भुईँ मान्छेका कथाको होडबाजी छ डिजिटल कन्टेन्टको व्यापारमा। तर भुईँ मान्छेको व्यथासँग के सरोकार!

उनीहरू ‘आदरणीय दर्शक महानुभावहरू, हेर्नुस् त.....’ भन्नमै व्यस्त छन्।  

०००

यस्तैले दिक्क भएकी एक पात्र भेटिइन् ललितपुरमा। उनी ललितपुर लेलेकी स्थानीयवासी। उमेर ५० वर्ष। 

१८ वर्षदेखि ह्विल चियरमा बसेर ठेला धकेल्दै जीवन चलाइरहेकी उनी मकै पोल्छिन्। तर मिडिया र पत्रकार भन्यो कि झोक चल्दो रैछ उनलाई।

भुईमान्छेको कथा खोज्नेक्रममा उनीमाथि नजर पर्यो। तर गाली मात्रै खाइयो।

‘क्यामरा तेर्साउँछन्। हामी पैसा दिन्छौँ भन्छन्। तर ती फर्कँदैनन्,’ उनले भनिन्‘घरमै आएर कतिले इन्टरभ्यु लिए। नाइँ भन्दा पनि सुख छैन। आफ्नो पौरख बिना चुलो बल्दैन क्यारे। तीनलाई ट्याम दिनु भन्दा मकै पोल्नु जाती।’

उनको भनाइबाट खुल्यो उनी यूट्युबरबाट दिक्क भएकी रहिछिन्। 

‘मेरो व्यथा उनीहरूलाई कथा हुने रहेछ,’ भन्दै उनले मकै कुरेर बसेका ग्राहकलाई गाडाको पछिल्लो भागमा भएको दाउरा दिन अनुरोध गरिन्।

‘ग्राहकसँग दाउरा माग्दा रिसाउँदैनन्?’

‘किन रिसाउनु? ओहो, यस्तो अवस्थामा पनि काम गरिरहनु भाछ  भनेर खुसी हुन्छन्। दुईचार रुपैंया बढी दिन्छन्। पत्रकार जस्तो हो र’ उनले भनिन्। 

‘पत्रकार हुँ । तपाईँको जीवन फेर्दिन्छु, अलिकति बोल्दिनुस्। हामी तपाईँको लागी पैसा उठाउछौैं, सहयोग गछौं’ भनेर ती महिलालाई दिनहुँ जस्तै आस देखाउनेहरू आउने रहेछन्। अनि गायब।

‘कि दिन्छु नभन्नु नि। दिन्छु भनेपछि आस लाग्छ नि’ उनको गुनासो थियो।

केही बेर कुराकानीपछि उनलाई शङ्का लागेछ। सोधिन् ‘तपाई पनि पत्रकार हो?’

झुट बोल्न मन लागेन। भने ‘सिक्न खोज्दै छु।’ 

‘सडकमा हिँड्ने मान्छेको भर लाग्छ तर, पत्रकारको लाग्दैन,’ उनले थपिन्‘आफ्नो व्यथा, पत्रकारलाई कथा।’

०००

सामान्य आर्थिक हैसियतको परिवारकी सदस्य उनले उमेर छँदा छाक टार्न डकर्मीको काम पनि गरिन्। सानैमा बिहे भयो। लेखपढ जुरेन। 

‘बुढासँगै हिँड्थेँ। घर बनाउने काम गर्थे,’ उनको ढाडमा अझै इट्टा, बालुवाको रङ्ग गएको छैन जस्तो लाग्छ रे उनलाई।

‘गरिब थियौँ। खान काम गर्नै पर्ने। इट्टा, बालुवा कति बोक्थे’ उनले भनिन्।

दुख जिलो गर्दै जीवन चलिरहेकै थियो। एकाएक उनको बाटै मोडियो। ह्विलचियरमा आइपुग्यो उनको ज्यान।

‘यो ठाउँ (जावलाखेल) मा भर्खर घर बन्न सुरु भएको थियो। चोक छेउमा घर बनाउने काम पाएका थियौं। त्यहाँ सिमेन्टको काम गर्दै थिए। के ताल पर्यो। म त भुईँमा बजारिए।’ 

उनले त्यो दिन सम्झिइन्‘ सधैँ गरिराको काम थियो। दुई तले घरबाट तल झरे। दशा लाग्या रैछ।’ 

त्यसपछि इट्टा र बालुवासँगको उनको सम्बन्ध तोडियो। ह्विलचियरसँग सम्बन्ध जोडियो।

‘काम गरी खाने मान्छे। खसेपछि कम्मर तल चल्न छाड्यो। बुढा बुढीले काम गर्दा दुई छाक खान गाह्रो थियो’ उनले पोलेको मकैको ३० रुपैँयालिँदै भनिन् ‘धन्न गाडीले घरैमा मकै ल्याई दिन्छ। छोरोले दाउरा जुटाइदिन्छ र काम गर्न सकेको छु।’ 

छोरा,बुहारी नाति नातिना र ती महिलाको दम्पती। बसाई दुई कोठाको। दुई कोठे बसाई सुरु भएको निक्कै लामो भयो रे।

छोरा,बुहारी मजदुर, श्रीमान् चाहिँ उनी जस्तै मकै पोल्ने काम गर्ने रहेछन्। 

०००

बोल्दिन भन्दाभन्दै धुलो लागेको जीवनका पाना पल्टाइरहेकी थिइन् उनी मेरो सामु बिचबिचमा।

मकै पोल्ने दाउराबाट एक मुट्ठी धुवाँ उडेर उनको अनुहार ढाक्यो। धुवाँले रिस उठाएछ क्यार। भनिन्‘मेरो कथा किन सुन्नु पर्यो?’

भने,‘मान्छेले त हो मान्छेको कथा सुन्ने, बुझ्ने होइन र?’

मास्कले छोपिएका उनका ओठ कति हासे, त्यो थाहा पाइन। ‘अर्काको कथामा के छ र?, कथा नभाको यहाँ को छ र?’

कुराकानी बढ्दै जाँदा उनले भरिलो घोगा मतिर तेर्साइन्।

मकै हातमा लिँदै फोटो खिच्न अनुमति मागे। 

‘नखिच्नुस्। कतैबाट दुई पैसो आउने होइन। बेकारमा बेइज्जत मात्र!’ उनले भनिन्।

‘एउटा मात्र खिच्छु नि।’मैले मोबाइल तेर्साए।

‘मकै पोल्ने कति छन्। अरूको नि खिच्नु। आफ्नो पौरख गर्नेको किन खिच्नु?’ उनको प्रश्न थियो।

‘आफ्नै पौरखमा रमाउनेको त हो खिच्ने’ मेरो उत्तर।

‘म मकै झिक्दा खिची सक्नु भयो होइन फोटो।’

‘हो खिचे।  तर अनुहार देखिएन।’

‘त्यै अनुहार त देखाउन मन छैन। तपाइहरू खिचेर लानु हुन्छ। हाम्रो फोटो देखाएर कति कमाउनु हुन्छ। हामीलाई हातमुख जोड्न आफैले दुख नगरी सुख छैन।’  

धुवाको पिरो रागले पोलेको आँखा पछ्यौरीले पुच्छ्दै भनिन् ‘यसरी धुवामा, सकिनसकि मकै पोल्न कसलाई रहर हुन्छ र?’ 

उनी भन्छिन्‘ अपांग भए पछि। कति दुख पाइयो। परिवारले हेला गरे। आफ्नाले हेला गरे,’ भन्दिन भन्दै आफ्नो कथा भन्दै गइन्‘हिँड्न पो सक्दिन त। हात चलुन्जेल आफ्नै पौरखले बाच्ने हो।’

‘मकै पोल्न थालेको १८ वर्ष भयो। भगवानले बाटो देखाए बुढाले आँट दिए।’ उनले भनिन्।

सुरुसुरुमा मकै पोल्दै हिँड्दा मान्छेहरू अचम्म मान्थे रे।‘यस्तो ह्विलचियरमा बसेर गाडा धकेल्दै हिँडेको छ। कसरी आँट गरेको होला भन्थे रे।

परि आएपछि मान्छेले जे पनि गर्न सक्छ भन्ने उनको अनुभव रहेछ। 

मेरो हातको मकैको घोगो खोयामा रूपान्तरण भयो। हिँड्नै लाग्दा उनले भनिन्‘अरू जस्तो पत्रकार त हुनु हुन्न रहेछ तपाई।’

‘किन’ 

‘मिठा बात मार्नु भयो। आस देखाउनु भएन नि त!’

मैले फेरी फोटोको प्रस्ताव राखे।

‘फोटो अघिकै छ त, त्यही देखाउनु’ उनले थप खिच्न मानिनन्।

नाम सोधेँ। ‘नाम नभाको बेनाम मान्छे लेखिदिनुस्। अनि, गरिबलाई पैसाको आस देखाएर पैसा कमाउने पत्रकार नबन्नुस्।’

उनले मास्क खोलिन् र हाँसिन्। 

अनुहार देखिने तस्बिरको लोभ जागेन। ‘हस् त्यही अनुहार नदेखिएको फोटो राख्छु है’ भनेर हिँडे म।

२६ माघ, २०७७, ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।