पहिले जंगल, अहिले पार्क 

पहिले जंगल, अहिले पार्क 

भैरहवा : करिब ५ वर्षअघि रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित कुञ्ज पार्क घना जंगलजस्तै थियो। 

पर्यटकीय सम्भावना बोकेको पार्क आर्थिक अभावका कारण पार्कका रूपमा विकास हुन सकेको थिएन। तर, त्यही घना जंगल अहिले कुञ्ज पार्कका रूपमा विकास भएको छ। 

दुर्गा मन्दिरको नाममा रहेको उक्त क्षेत्रलाई पार्कका रूपमा विकास गरेको हो झरना स्पोट्र्स क्लबले। यसमा तिलोत्तमा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको क्लबले जनाएको छ। 

यो क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न पार्क सञ्चालन गरिएको क्लबका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार छत्रबहादुर दर्लामीले बताए। ‘पार्क सञ्चालन गरेपछि नगरवासीलाई यहाँ आएर घुम्न तथा रमाउन सहज हुनेछ,’ उनले भने। 

​​​​​​​तीन बिगाहा क्षेत्रमा फैलिएको पार्कभित्र पोखरी पनि छ। यसले पार्कको आकर्षण बढाएको सञ्चालकको दाबी छ। 

यस्तै, पार्कमा विभिन्न जातका फूल छन्। स–साना बालबालिकालाई खेल्नका लागि पिङलगायत बनाइएको छ। 

आन्तरिक पर्यटकको घुइँचो 

पार्क सञ्चालन भएपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको क्लब अध्यक्ष लोक पुन बताउँछन्। 

‘दिनहुँजसो पर्यटकको घुइँचो लाग्ने गरेको छ,’ अध्यक्ष पुनले भने, ‘शुक्रबार र शनिबार पिकनिक तथा अन्य कार्यक्रमका लागि अघिल्लो दिन नै बुक हुने गरेको छ।’ 

पार्कमा घुम्नका लागि तिलोत्तमा नगरपालिकाबाट मात्र नभई बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिकाका, ओमसचिया गाउँपालिका लगायत क्षेत्रबाट पर्यटक आउने गरेको पुनले बताए। पार्कमा पर्यटक आउन थालेपछि त्यसलाई विस्तार गर्ने योजनामा रहेको क्लब अध्यक्ष पुनले सुनाए। 

यसका लागि पार्कसँग जोडिएको चार बिगाहा जमिन लिजमा लिने योजना रहेको उनको भनाइ छ। तर, त्यसका लागि आर्थिक अभाव रहेको उनले बताए। 

रूपन्देहीका विभिन्न संघसंस्थाले पनि पार्कमा वनभोज लगायतका कार्यक्रमहरू गर्दै आएका छन्। 

भैरहवामा केन्द्रीय कार्यालय रहेको उद्योग व्यापार संगठन, रूपन्देहीले शनिबार मैत्रिपूर्ण वनभोज कार्यक्रमको आयोजना गर्याे।  

संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले पार्कको प्रवद्र्धनका लागि वनभोजको आयोजना गरिएको बताए। 

पार्कमा डेढ करोड खर्च

क्लबका अध्यक्ष पुनले पार्कलाई व्यवस्थित गर्न हालसम्म झण्डै डेढ करोड रूपैयाँ खर्च गरिएको बताए। 

​​​​​​​उनले उक्त पार्कलाई नाइट पार्कको रूपमा समेत विकास गर्न लागिएको बताए। 

पार्कमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ग्रिनरी गार्डेन, म्युजियम, १५ सय अट्ने सभाहल, ब्याम्बो रिसोर्ट (पानी आएको बेला बस्ने), लाइभ म्युजिकसहितको व्यवस्था गर्ने योजना रहेको उनले बताए। 
 

२५ माघ, २०७७, १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।