प्रदेश १ मा सत्तापक्षबाटै संसद् बैठक अवरोध, फागुन ९ गतेसम्म स्थगित

प्रदेश १ मा सत्तापक्षबाटै संसद् बैठक अवरोध, फागुन ९ गतेसम्म स्थगित

इटहरी : प्रदेश १ को प्रदेशसभा बैठक सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले अवरुद्ध गरेको छ। 
 

ओली समूहका सांसद्ले मुख्यमन्त्री शेरधन राईले कारबाही गरेका १६ सांसद्लाई प्रदेशसभा बैठकमा प्रवेश दिएको भन्दै विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो। 

ओली समूहका सांसद्हरूले मुख्यमन्त्री राईले कारबाही गरेका १६ सांसद्लाई बाहिर निकालेर बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए। त्यसको नेकपाकै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका सांसद्हरूले प्रतिरोध गरेका थिए।

सांसद्को विरोधपछि सभामुख प्रदीप भण्डारीले बैठक फागुन ९ गतेसम्मका लागि स्थगित गरेका छन्। 

आइतबार दिउँसो २ बजेका लागि बोलाइएको संसद् बैठक झण्डै दुई घण्टापछि दिउँसो ३ः५८ मा सुरु भएको थियो। 
प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश हुने भएपछि सत्तारूढ समूहले बैठक अवरुद्ध गरेको अर्काे पक्षको आरोप छ। 

यसअघि आजै बसेको कार्यव्यवस्था समितिको बैठकमा सत्तारूढ नेकपा ओली समूहका सांसद्हरूले सूचना टाँसेर संसद् बैठक रोक्न माग गरेका थिए। तर, नेकपा दाहाल–नेपाल समूहको जोडबल गरेपछि बैठक बसेको थियो। 
 

२५ माघ, २०७७, १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।