सेयर बजारले लय समातेको हो ?

सेयर बजारले लय समातेको हो ?

लामो इतिहास नबोकेको नेपालको सेयर बजार कुनै समय सामान्य घटनाक्रमले नै प्रभावित हुन्थ्यो। सामान्य राजनीतिक घटनामै ओरालो लाग्थ्यो कारोबार। नयाँ अर्थमन्त्रीको आगमन, मन्त्रीमण्डल फेरबदल, नयाँ मन्त्रिमण्डल, सरकार परिवर्तन जस्ता घटना हाम्रो मुलुकको सेयर बजार परिसूचकलाई पिङ खेलाउने मुख्य कारक देखिन्छन्।

यसो भन्दैमा विश्व बजार यस्ता घटनाहरूबाट अछुतो रहन्छन् भन्ने हैन। यस्ता घटनाहरूले कुन बजार कम या बढी हल्लियो भन्ने मात्र हो। विशेष गरी विश्वका ठुला तथा शक्तिशाली अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनकाे आर्थिक नीति, विदेश नीति तथा त्यहाँका राजनीतिक परिवर्तनले समग्र विश्व सेयर बजारलाई नै प्रभावित पार्न सक्छन् र पारेका थुप्रै उदाहरण पनि छन्। 

जस्तै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थनीति, चीनसँगको व्यापारिक युद्ध, नवनिर्वाचित राष्ट्रपति जो वाइडेको आगमनको प्रभाव सेयर बजारमा पर्यो नै। नेपालसँग बहुसङ्ख्यक विषयमा दोहोरो प्रभाव राख्ने छिमेकी मुलुक भारतमा हुने घटनाक्रमले नेपालको सेयर बजारमा प्रभाव पर्छ नै।

बजार माग र आपूर्तिको सङ्गम हो। सेयर बजारमा पनि यो लागु हुन्छ नै। सेयर बजारलाई निर्धारण गर्ने तत्त्व बजारमा सूचिकृत कम्पनीहरूको सेयरको माग र आपूर्ति  नै हो। 

कम्पनीहरूको सेयर मूल्य बढ्नु र घट्नुमा ती कम्पनीका वर्तमान अवस्था कस्तो छ र भविष्यमा ती कम्पनीको सम्भावना कतिको छ, कम्पनीमा लगानी गर्नु कतिको जोखिमपूर्ण छ ?, उक्त कम्पनीहरूले लगानीकर्ताहरूलाई कति मुनाफा दिन सक्ने सम्भावना राख्दछ भन्ने पाटोले सेयर बजारमा प्रभाव पार्ने गरेको देखिन्छ।

परिसूचकलाई प्रभाव पार्ने अन्य तत्त्वमा अर्थतन्त्रमा रहेको तरलता, ब्याजदर, अर्थतन्त्रमा मौजुद लगानीका अन्य अवसर तथा बजारलाई राज्यले कसरी हेर्छ भन्ने नीति समेत हुन्।

कोरोना भाइरस महामारीसँगै विश्वका हरेक क्षेत्रमा ठुला परिवर्तन आए। त्यसको असर विश्व सेयर बजारमा पर्यो नै। कोरोना विरुद्ध खोप बनेसँगै विश्वको सेयर बजारले गति लिन थालेको छ। परिसूचकहरू अलटाइम हाइको रेकर्ड बनाउँदै छ।

अहिलेको अवस्थामा विश्व सेयर बजारको लय हेर्ने हो भने अमेरिकी सेयर बजारको परिसूचकले ३११८८.३८ को अलटाइम हाइ रेकर्ड बनाएको छ। भारतका दुई ठुला बजार परिसूचक सेनसेक्स र निफ्टीफिप्टीले समेत ५०६१४.२९ र १४८९५.६५ अङ्कको रेकर्ड बनाइसकेका छन्।

हुन त ब्याजदरमा कडाइ गर्ने स्वरूपको चिनिया अर्थनीति आउने अपेक्षा स्वरूप भारतीय बजार बाहेक विश्वका प्रमुख बजार परिसूचकहरू केही ओरालो समेत लागेका छन्। 

यसरी हेर्दा सेयर बजारलाई घटाउन वा बढाउन विश्वभरि उस्तै–उस्तै कारक देखिन्छन्।

तर नेपालको सेयर बजारमा भने आधारभूत कारणहरूले भन्दा पनि अन्य कारणले बजारलाई बढी प्रभावित बनाएको इतिहास छ।  कोरोना महामारी पछि अहिले बजार उठिरहेको छ। यो बिचमा संसद् विघटन भयो। सडकमा विरोध प्रदर्शन भइरहेका छन्। तर यस्ता घटनाक्रमको प्रभाव सेयर बजारमा परेको देखिँदैन।

२०१९ को जनवरीमा करिब ११६६ बाट अगाडी बढेको नेप्से परिसूचक अहिले २५२४ अङ्क टेकिसकेको छ। कारोबार रकमले समेत १० अर्बको छेउछाउमा पुगेर मात्र भारी बिसाउन थालेको छ। 

मुलुकमा घटित घटनाक्रमले आम नागरिकका कस्तो असर पर्छ ? त्यसको सङ्केत शेयर बजारमा देखिन्छ नै। साना लगानीकर्ताको मनोबलमा परेको प्रभावलाई नेप्सेले देखाउँछ। जस्तो युवराज खतिवडा अर्थमन्त्री हुँदा शेयर बजार उठ्नै सकेन। अहिले र त्यो बेलाको अवस्थामा त्यति फरक छैन। बदलिएको अर्थमन्त्री मात्र हुन्। तर खतिवडाले कतिखेर के नीति ल्याउने हुन् भन्ने त्रासले साना लगानीकर्ता शेयर बजारमा गएनन्।

बजार परिपक्व बन्दै गएको सङ्केत पनि देखिन थालेको छ। हालै प्रतिनिधि सभाको विघटन र त्यसको विरुद्धमा भइरहेको आन्दोलनमा पनि नेप्सेमा उकालो लाग्नु यसैको सङ्केत हो।

 

२५ माघ, २०७७, १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।