ओली 'ब्राण्डिङ रोड सो'

ओली 'ब्राण्डिङ रोड सो'
तस्बिर : कृष्पा श्रेष्ठ।

सानो समूहलाई पनि शङ्काको नजरले हेर्थ्यो कुनै समय यही दरबारमा बस्नेका आँखाले। जयजयकार मात्र स्वीकार थियो उसलाई।

मुख्यद्धार तिर फर्किएको महेन्द्रको सालिक छुनु कुनै समय अपराध बराबर थियो। २०४६ मा त्यही सालिक चढ्ने प्रयासमा केही युवाले ज्यान गुमाएका थिए।

शुक्रवार त्यही सालिक जिज्ञासुहरूले ढाकेको थियो। नारायणहिटी अगाडि हजारौँको मासले जयजयकार गरिरहेका थिए।

‘गोरु गाढा चढेर अमेरिका नपुगिने’ ओलीको वाणी सार्थक भएको भए सायद नारायणहिटीले आजको दृश्य हेर्ने धेरै वर्ष कुर्नुपर्थ्यो। जनमतको अगाडि कथनको जोड नचल्दा १५ वर्षमै उसले ठुलो मास देख्यो। 

तर जयजयकारको शैली भने उस्तै। तर नाम फरक।

हिजो ‘महाराजाधिराजको जय’, हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्ने सुनिन्थ्यो। आज ‘आइलभयू ओली’, आज हैन भोलिलाई, १० वर्ष ओलीलाई’ सुनियो।

मञ्चबाट घन्किएका गीतहरूसँग भने नारायणहिटीको कान अभ्यस्तै थियो। ‘गाउँछ गीत नेपाली’, ‘म भक्त हुँ यो देशको’,‘सय थरी बाजा, एउटै ताल’ त हिजो राजाको देशाटनमा पनि बज्थे नै।

नारायणहिटीका लागि अलि नौलो भनेको ‘ गाउँ–गाउँबाट उठ,बस्ती बस्तीबाट उठ’को भाका मात्र थियो।

सभा गर्नुको उद्देश्य नेकपाको पुष्पकमल दाहाल अनि माधव नेपाललाई शक्ति देखाइदिने नै थियो। सङ्ख्याको आधारलाई मानक मान्ने हो भने प्रर्दशनीमार्गमा भेला भएकाभन्दा डबल मास थियो दरबारमार्गमा।

भिन्न के भने प्रर्दशनीमार्गमा रातो झन्डा र सूर्यले छपक्क छोपेको थियो। शुक्रवारको सभाको जताततै ओली नै ओली थिए। बत्तीको पोलदेखि, सडकमा उभिएको कट–आउट, मञ्च, स्वयंसेवकको रातो ज्याकेट, झन्डा सबैतिर ओली नै ओली।

बेलुनलाई समेत छाडेनन् आयोजकले ब्राण्डिङमा। हावा भरिएको बेलुन ओलीको तस्बिर बोकेर झुलिरहेको थियो नारायणहिटी अगाडि।

कार्यक्रमको आयोजकको ठाउँमा ‘नेकपा बाग्मती प्रदेश’ लेखिएको थियो। तर कार्यक्रममा नेकपा गायब थियो। ओली हाबी भएका थिए। कार्यक्रमको प्रचार शैली बजारमा नयाँ आएको उत्पादनको ब्राण्डिङ भिजाउन भन्दा कम मिहेनत लगाइएको थिएन। कार्यक्रममा वक्तादेखि कार्यकर्तासम्म ज्यान फालेर लागेका थिए ओली ब्रान्ड भिजाउन।

फोटो-सुट माथि फोटो-सुट

केशरमहल देखी जयनेपाल हलसम्म, जामेमस्जिदको माथिल्लो भवनदेखि नारायणहिटी सङ्ग्रहालयको गेटसम्म छाएका थिए ओली।

मञ्चमा सजीव ओली थिए। दौरा सुरुवाल लगाएर हात हल्लाउँदै मुसुक्क हाँसेका निर्जीव ओली सडकमा जताततै। सजीव ओलीसँग भेटेर फोटो खिच्न नसकेकाहरूले त्यही निर्जीव कट–आउटलाई नै सजीव सम्झेर सँगै तस्बिर लिन हानथाप गरिरहेका थिए।

फोटो खिचाउनेको लर्कोमा गृहिणीदेखि राजनीति गर्ने ठुला–साना सबै कार्यकर्ता हौसिएका थिए। कट–आउटसँगको तस्बिर सामाजिक सञ्जालमा राख्नु सभामा उपस्थित भएको प्रमाण पो थियो कि ?

जनसभाको साक्षी : नारायणहिटी र महेन्द्रको सालिक 

महेन्द्रको सालिक नजिकै देखिए एक हुल फरक क्षमताकाहरु। सानो ठिमी क्याम्पसका दृष्टिहीन समूह आफैँबिच गफ गर्दै थिए ‘ओली बराबरको नेता को छ यो देशमा? भारतलाई कुनै नेपाली नेताले त्यसरी पेलेर बोल्न सक्थ्यो?’ 

ओली नेपाललाई नभई नहुने नेता मात्रै हैनन् राजनेता नै हुन् भन्दै थिए उनीहरू।

झुक्क्याएर तस्बिर लिन मनले मानेन। अनुमति मागे ‘तपाईँको तस्बिर लिउ है?’ उनीहरूले अस्वीकार गर्दै भने‘फोटो हाम्रो होइन, ओलीको  खिच्नुस्। जे गर्छ अब ओलीले गर्छ।’ 

हिजो दरबार रिझाउन कला साहित्यको भरपुर उपयोग हुन्थ्यो। राजा, रानीको रचनाको गीत सुनाउन तछाड मछाड हुन्थ्यो। शुक्रवार पनि ती दृश्य दोहोरिए। 

जन सांस्कृतिक मञ्चका कलाकारले ओलीकै शब्द रचनाको गीत गाए। आफ्नो रचनाको सुरिलो स्वर सुनेर प्रधानमन्त्री ओली भावविभोर हुँदै मुन्टो हल्लाइरहे।

वक्ताहरू पनि कम थिएनन् जय गानमा। कार्यक्रम सञ्चालकको भाषाको त के कुरा गर्नु र। उनको जोस हेर्दा त भगवान् मञ्चमा छन् झैँ भान दिएको थियो। 

गृहमन्त्री रामबहादुर थापा हुन् या उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतकाले पनि ओलीको प्रशंसामा चुकेनन्। सत्यनारायण मण्डल त मस्तैले हौसिए। उनले ओलीलाई गौतम बुद्धको असली उत्तराधिकारी नै घोषणा गरिदिए।

शङ्कालु नजर

करिब ८० हजार एकै ठाउँमा देखेर कार्यक्रम सञ्चालकले अबको निर्वाचनमा दुई तिहाइ ल्याउने घोषणा गरिदिए। तर कार्यक्रममा सहभागी भने बहुमतप्रति पनि त्यत्ति विश्वस्त नभएका पनि भेटिए।

पर्सा जिल्लाबाट सभामा सहभागी हुन आएका धिरज चौरासिया भन्छन्‘हामीले यतिको मास आउला सोचेकै थिए नै। ओलीले शक्तिको सदुपयोग गरे राम्रो हुन्थ्यो।’ 

चौरासिया नेपाली काग्रेशका केन्द्रीय सदस्य अजय चौरासियाका भाइ रहेछन्। ‘चुनावमा बहुमत त आउँदैन हाम्रो। अब हामीले काग्रेसलाइ  साथमा च्याप्नु पर्छ।’ 

उनको विश्लेषण अनुसार देशको पहिलो पार्टी ओली नेतृत्वको पार्टी नै हुन्छ। तर सरकार बनाउन बहुमत पुग्दैन। काँग्रेसलाई च्याप्यो भने सरकार ओलीकै नेतृत्वमा बन्छ।

बालबालिकाको बाक्लो उपस्थिति

राजनीतिक दलको सभामा प्राय स्कुले विद्यार्थी छुट्दैनन्। ओलीको सभामा पनि छुटेनन्। सभामा सहभागीमध्ये स्कुले उमेरकाहरु पनि थिए। 

धादिङ घर बताउने विकेश पराजुली  ९ कक्षमा पढ्छन्। युवाको भावना ओलीले बुझ्ने भएकाले आफू धादिङबाट सभामा सहभागी हुन आएको बताए उनले।

‘सभामा किन आएको’ भन्ने जिज्ञासामा उनले भने‘ आफ्नो पार्टीको कार्यक्रममा आउनु परेन त।’

रिक्साको चिन्ता

सभामा ठुलठुला आवाजमा नारा घन्काउन रिक्सा लिएर हिँडेका थिए काभ्रेका देव ढुगांना। उनको चिन्ता चैँ सभामा मार मुग्री नभए हुन्थ्यो भन्ने रहेछ।

‘हिजो ट्याक्सी जलाए रे।  रिक्सा तोडफोड भयो भने त गाह्रो छ नि’ उनले भने।  उनी नेकपा निकट रिक्सा चालकहरूको सङ्गठनको आदेशमा आएका रहेछन्।

‘५ वटा रिक्सा छ। स्पिकर बोकेर हिँडेको पैसा दिन्छु भन्या भएर आको’ उनले भने।

धन्य हो लोकतन्त्र

२०६२–०६३ अगाडि दरबारमार्गमा राजनीतिक सभाको कल्पना पनि सम्भव थिएन। राजनीतिक दलले आफ्नो कार्यक्रम गर्न कि रत्नपार्क रोज्थे कि खुलामञ्च।

अहिले प्रर्दशनीमार्गतिर सरेको छ प्रदर्शन। ओलीले भने दरबारमार्ग नै रोजे, नारायणहिटीलाई पृष्ठभूमिमा पार्न।

संसद् विघटन गर्ने उनको शैलीले निरंकुशताको झल्को दिएको बेलामा दरबार अगाडि कार्यक्रम गर्दा कतै २०६२–०६३ को उपलब्धिको समापनको घोषणा त हुने हैन भन्ने आशङ्का बढेको थियो।

दरबार अगाडि राजनीतिक कार्यक्रम आयोजना हुन सक्नु यही लोकतन्त्रको देन त थियो।

त्यसमा मन्त्रिपरिषद्का सदस्य कृष्णगोपाल श्रेष्ठले केही दिन अगाडि नारायणहिटी अगाडि महत्त्वपूर्ण घोषणा हुने दाबी गरिदिएका थिए।

के गणतन्त्रको समापनको घोषणा हुने हो त ?

ओलीले भने‘कसैले प्रतिगमनको परिकल्पना नगरे पनि हुन्छ। लोकतन्त्रको विकल्प छैन।’

धन्न !

२३ माघ, २०७७, २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।