एसएमजी बोकेका सुरक्षाकर्मीको घेरासहित आन्दोलनमा प्रचण्ड

एसएमजी बोकेका सुरक्षाकर्मीको घेरासहित आन्दोलनमा प्रचण्ड
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : माघ ४ गते काठमाडौँमा आयोजित नेकपाको आफ्नो समूहको उपत्यकास्तरिय भेलामा सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए‘ किन–किन मेरो टाउको चिलाएको छ। लाठी खान मन छ।’

यो बिचमा भएका आन्दोलनमा उनी सडकमा उत्रिए पनि तर उनको लाठी खाने रहर पुरा भएको छैन।

संसद् विघटनविरुद्ध आन्दोलनमा होमिएको नेकपामा दाहाल–नेपाल समूह बिहीबार संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा नेपाल बन्दमा उत्रिएको छ। चोक–चोकमा नेकपा कार्यकर्ता उभिएका छन्। 

बन्द सफल बनाउन प्रचण्ड आफैँ चोकहरूमा पुगेर सम्बोधन गरिरहेका छन्। कार्यकर्ताको हौसला बढाउन उनी कोटेश्वर, ग्वार्कोहुँदै अन्य चोकहरूमा समेत पुगे।

सडकमा प्रदर्शनकारीसँगै छपक्कै प्रहरी र सशस्त्र प्रहरी पनि छन्। तर बिहीबार पनि लाठी खाने उनको रहर भने पुरा हुने देखिएन।

प्रचण्ड आन्दोलनमा हिँडिरहेका त छन् तर सशस्त्र प्रहरीको बलियो घेरामा। उनी सशस्त्रको पछुवा गाडीसहित हिँडिरहेका छन् जहाँ एसएमजीसहितका सुरक्षाकर्मी छन्।

उनी जुन चोकमा पुग्छन् वरिपरि सशस्त्र प्रहरीले सुरक्षा घेरा बनाइहाल्छ। उनको व्यक्तिगत सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले साथ छाडेकै छैनन्। उनको छायाँ बनेर हिँडिरहेका छन् उनी।

पूर्व प्रधानमन्त्रीको हैसियतमा प्रचण्ड बाक्लो सुरक्षा घेरामा हिँड्ने गरेका छन्। उनको सुरक्षामा अगुवा र पछुवासहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको जनशक्ति खटिने गरेका छन्।

उनको सुरक्षामा नेपाल प्रहरीको डिएसपीको कमान्डमा २९ जना सुरक्षाकर्मी परिचालित छन् भने सशस्त्रबाट ३० जना खटिएका छन्।

उनी सार्वजनिक कार्यक्रममा जाँदा नेपाल प्रहरी र सशस्त्रबाट बडीगार्ड खटिन्छन्। सार्वजनिक कार्यक्रममा वरिपरि सुरक्षाकर्मीको घेरा हुन्छ। अब सुरक्षाकर्मीको घेरामा बसेर टाउको चिलायो भन्दैमा लाठी खाने रहर कहाँ पुरा हुन्छ र !

 

२२ माघ, २०७७, १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।