राजनीति

प्रदेश १ : संसद् अवरुद्ध गर्ने तयारीमा सरकार पक्ष 

विनय बाह्रकोटी


इटहरी : प्रदेश १ प्रदेश सभाको हिँउदे अधिवेशनको दोस्रो बैठकको मिति तय भएसँगै राजनीतिक चलखेल सुरु भएको छ। 

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना भएसँगै चलखेल बढ्न थालेको हो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने भएपछि सरकार पक्ष संसद् अवरुद्ध गर्ने तयारीमा लागेको छ। 

माघ २५ गतेको लागि तय भएको बैठकमा अन्य कुनै पनि विधेयक दर्ता नभएकाले अविश्वासको प्रस्तावमाथि नै छलफल हुने बुझिएको छ। 

गत पुस १२ गते नेकपाका ३७ सांसद्ले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। 

भीम आचार्यलाई मुख्यमन्त्री बनाउनुपर्ने प्रस्तावसहित परेको अविश्वासको प्रस्तावमाथिको छलफल हुन सकेको छैन।

माघ २५ गतेको बैठकका विषयमाथि कार्यव्यवस्था परामर्श समितिको बैठक बसिसकेको छैन। तथापि अविश्वासको प्रस्तावमाथि छलफल हुने सम्भावना बढ्दै गएको छ। 

मुख्यमन्त्री राईले यसअघि नै मुख्यमन्त्रीमा प्रस्ताव गरिएका भीम आचार्य र पूर्वमन्त्री इन्द्र आङ्बोसहित १६ सांसद्लाई निलम्बन गरेका छन्। 

सभामुख प्रदीपकुमार भण्डारीले तिनै सांसद्लाई पहिलो बैठकमा प्रवेश दिएपछि मुख्यमन्त्री राईले सहभागी भएनन्। 
मुख्यमन्त्रीले सभामुखलाई बारम्बार प्रवेश रोक्न भने पनि सभामुखले अस्वीकार गरे। 

आगामी बैठकमा पनि सहभागी गराइए बैठक अवरुद्ध गर्ने तयारीमा सरकार पक्ष देखिएको छ। मुख्यमन्त्री पक्षका नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार निलम्बित सांसद्लाई सहभागी गराइए बैठक अवरुद्ध गर्ने तयारी थालिएको छ। 

प्रमुख सचेतकसहित संसदीय दलको नेता हालका मुख्यमन्त्रीले निलम्बन गरेका सांसद्ले प्रवेश पाउन नहुने उनको तर्क छ।

अविश्वासको पक्षमा कांग्रेस 

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव र मुख्यमन्त्रीले निलम्बन गरेका सांसद्को चेपुवामा सभामुख भण्डारी परेका छन्।

दाहाल–नेपाल समूह जसरी पनि सरकार ढाल्ने रणनीतिमा लागेको छ भने ओली समूह कुनै हालतमा सरकार ढल्न नदिने अभियानमा छ। जसको निर्णायक अवस्थामा नेपाली कांग्रेस देखिएको छ। केही समयअघिसम्म दोधारमा रहेको कांग्रेस अहिले अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने पक्षमा देखिएको छ। 

कांग्रेस प्रमुख सचेतक केदार कार्की आफूहरूले दर्ता गर्नुपर्ने अविश्वासको प्रस्ताव नेकपा आफैले दर्ता गराएर राम्रो गरेको बताउँछन्। यो असफल सरकारको विरुद्धमा कांग्रेस लागिरहेकाले अब उनीहरू आफैले अविश्वासको प्रस्ताव ल्याएको उनको भनाइ छ। 

माघको पहिलो साता प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेरै ओलीको पक्षमा रहेका प्रदेश सरकारलाई समर्थन नगर्न सुझाएका थिए। 

त्यसपछि कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलन गरिरहेको छ। केन्द्रीय सदस्य शेखर कोइरालाले केही दिनअगाडि मात्र अविश्वासको प्रस्तावको पक्षमा कांग्रेस रहेको प्रष्ट पारेका थिए। 

सोहीबमोजिम प्रमुख सचेतक कार्कीले पनि अविश्वासको प्रस्तावको समर्थन गर्ने अभिव्यक्ति दिएका छन्। यस विषयमा औपचारिकरूपमा संसदीय दलको बैठकले निर्णय गर्ने बताउँदै उनले संविधानको रक्षाको लागि आफूहरू अडिग रहेको बताए।

अविश्वासको प्रस्ताव पारित गर्न अथवा विफल गराउन कांग्रेसको मत निर्णायक देखिएको छ। सरकार बनाउन ४७ सांसद् चाहिन्छ।

प्रदेश १ मा ९३ सांसद् छन्। तत्कालीन एमालेका ५१, माओवादी केन्द्रका १६ समेत नेकपामा ६७, कांग्रेसका २१, जनता समाजवादीका तीन, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक/एक सांसद् छन्।

दुईमध्ये एकलाई कांग्रेसको समर्थन भए अविश्वासको प्रस्ताव पारित हुने वा नहुने टुंगो लाग्ने देखिन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एमालेमा ओली राज: निर्वाचित समिति मुखले भङ्ग 

चैत १ गते बैठक बस्ने भनिए पनि उनले शुक्रवार आफू निकटका केन्द्रीय सदस्यहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए। एमालेका ओली निकट नेताहरूले प्रारम्भमा बालुवाटारको बैठक....

पार्टी एकीकरण अभियानबाट ओली र दाहाल टाढिन सक्दैनन् : गौतम 

ललितपुरको धोविघाटमा आज (बुधबार) नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै उनले यस्तो बताएका हुन्। पार्टी एकीकरणबाट विमुख भए ओली र दाहाल सैनिकबिनाको सेनापतिजस्तो हुने....

नेकपा उपाध्यक्ष वामदेव गौतम आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

बिहान ११ बजे ललितपुरको धोवीघाटमा उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्ने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदी जानकारी दिए।  अभियान घोषणा कार्यक्रमका लागि गौतमले....

संसद् विघटनप्रति काँग्रेस अझै ‘नरम’ 

निर्वाचन क्षेत्र, प्रदेश र स्थानीय निकायमा आन्दोलनका कार्यक्रम चलाएको काँग्रेसले भातृ र शुभेच्छुक संस्थाको आयोजनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। मङ्गलवार बसेको केन्द्रीय समितिको बैठकले....

वामदेव नेकपाको ‘अवैध’ उपाध्यक्ष

नेकपामा विवाद चर्किएसँगै पार्टीका २ अध्यक्ष दुईतिर लागे। बामदेव अहिलेसम्म कुनै गुटमा छैनन्। उनी नेकपाको उपाध्यक्षको हैसियतमा पार्टी एकीकरणको अभियान अगाडि बढाउने तयारीमा छन्। तर....