उकेरामा आज : नामकै कारण नागरिकता नपाएका पुरुषको व्यथादेखि बाकसमा ल्याइने शवको कथासम्म

उकेरामा आज : नामकै कारण नागरिकता नपाएका पुरुषको व्यथादेखि बाकसमा ल्याइने शवको कथासम्म

काठमाडौं : आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निर्वाचन आयोगमक्ष पार्टीमा आधिकारिकता दाबी गर्याे। 

पार्टीमा आफ्नो आधिकारिताको दाबी पेश गर्न दाहाल र नेपालसहितका नेताहरू १९ पृष्ठ लामो निवेदन बोकेर मंगलबार निर्वाचन आयोग पुगे। उनीहरूले ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ तथा ४४ अन्तर्गत विवादको निरुपण गरीपाउँ’ भन्दै निवेदनसमेत दिए। 

यस्तै, आजै प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक परिषद्को बैठक बोलाउने प्रयास असफल भयो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको असहमति जनाएपछि बैठक बोलाउन प्रयास सफल भएन। 

यसैगरी, आजै खानेपानी मन्त्री मणि थापाले विप्लव समूहका नेता हेमन्तप्रकाशसँग जेलमा पुगेर लामै कुराकानी गरे। 

उकेराका टप पाँच

आज उकेराले भिन्न पाँच विषय उठायो। बिहानै प्रमाण भएर पनि नागरिकता नपाएका ४४ वर्षीय वाङ साउइसुको कथा समेट्यौं।

५० वर्षअघि भारतको नागाल्यान्डबाट काठमाडौं आएका वाङ हाउ सेनका कान्छा छोरा उनी नेपालमै जन्मिए। यही हुर्किए, बढे। तर, चिनियाँको जस्तो नाम भएकै कारण नागरिकता पाउन सकेनन्। 

नागरिकताविहिन वाङको प्रश्न : चिनियाजस्तो नाम हुनु अपराध हो ?

त्यसपछिको अर्काे महत्त्वपूर्ण समाचार थियो– संसद् विघटन मुद्दामा सरकारी पक्षतर्फको बहसबारे।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारी पक्षतर्फको बहसका क्रममा रिट निवेदक तर्फका अधिवक्ता गोपाल घिमिरेको तर्क नमिलेको दाबी गरे। 

अधिवक्ता घिमिरेको बहसका क्रममा ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई...’ बोलको गीत गाएर संविधानमा भएको व्यवस्थालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्सेको बताएका थिए। 

उक्त गीतको प्रसंग नमिलेको दाबी गर्दै महान्यायाधिवक्ता खरेलले बरु ‘नाई मलाई त्यही केटी चाहिन्छ...’ बोलको गीतको प्रसंग मिल्ने जिकिर गरे। 

इजलासमा महान्यायाधिवक्ताले भने, ‘नाई मलाई त्यही केटी चाहिन्छ’

त्यसपछि हामीले विदेशबाट रेमिट्यान्ससँगै बाकसमा शव आउने गरेको दुःखद् कथा प्रस्तुत गर्याैं।

पछिल्लो पाँच वर्ष (आर्थिक वर्ष ०७२/७३ देखि ०७६/७७ सम्म)मा विदेशबाट ३८ खर्ब रेमिट्यान्स नेपाल भित्रिँदा  ३८ सय शव बाकसमा नेपाल ल्याइएका छन्। 

वैदेशिक रोजगारी : ३८ खर्ब रेमिटेन्सको बदलामा ३ हजार ८ सय शव

उकेरामा आज प्रकाशित चौथो महत्त्वपूर्ण सामग्री थियो– ‘चौथो अंग’ स्तम्भमा छापिएको पत्रकार राजेन्द्र दाहालसँगको कुराकानीमा आधारित आलेख। 

आलेखमा भनिएको छ– अहिलेको पत्रकारिता रिपोर्टरको कारणले कमजोर भएको होइन, उनीहरूलाई गाइड नभएर हो। यसका रिपोर्टरको दोष छैन, सम्पादकको हो। यस्तै, नेपालका म्यागजिन प्रविधिमैत्री नहुँदा विस्थापित हुने अवस्थामा पुगेको आलेखमा बताइएको छ। 

सेनापति त सम्पादक हो, रिपोर्टरलाई किन दोष ?

यसैगरी, उकेराले संसद् विघटन मुद्दामा सरकारी पक्षको प्रतिरक्षा बहस फितलो देखिएको समाचार पनि प्रस्तुत गर्याें। सरकारी पक्षबाट बहस गरेका महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले दमदार बहस गर्न सकेनन्। 

संसद् विघटन मुद्दामा प्रतिरक्षा बहस फितलो

२० माघ, २०७७, ००:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।