कराते राष्ट्रिय प्रशिक्षक तारा गुरुङको प्रसव पीडा र खुसी : स्वार्थी आमा पो भए कि !

कराते राष्ट्रिय प्रशिक्षक  तारा गुरुङको प्रसव पीडा र खुसी : स्वार्थी आमा  पो भए कि !

काठमाडौँ : कराते राष्ट्रिय टिम तथा राष्ट्रिय खेलकुद परिषद्की प्रशिक्षक र रेफ्री हुन्, तारा गुरुङ। उनी १३ औँ साग गेमको कोच पनि। पोखराकी उनी बिहे अघि पश्चिमाञ्चल क्षेत्रबाट करातेमा सक्रिय थिइन्। 

करातेकै खेलाडी कुशल श्रेष्ठसँग बिहे भएपछि उनीहरूको जोडी नै खेलमा लाग्यो। खेलमा त पुरुष सरह नै भए पनि मातृत्वमा महिला निकै इमोशनल हुने उनको अनुभव छ। गर्भवती भएको समय र आमा बनेपछि आफूमा आएको डर अनि खुसीलाई उकेरा मार्फत उनले यसरी पोखिन् :

ooo

खेलाडी भएपछि बलियो हुनु पर्छ भन्ने सोचे खेलमा लाग्नुभन्दा अगाडि देखिनै थियो। त्यसमा पनि अरू खेलमा भन्दा कराते खेले पछिको शरीर त ढुङ्गा जस्तै बनिसक्छ। मेरो शरीर पनि त्यस्तै बनिसकेको थियो।

खेल्नेक्रममै कुशल श्रेष्ठसँग भेट भयो। सँगसँगै खेल्दै गर्दा हामी बिच नजादिदो गरी प्रेम टुसाइसकेछ। सम्बन्ध नजादिदो पाराले प्रगाढ बन्दै गयो। 

म सोच्थेँ , खेल मेरो धैर्यता हो, खेलविना मेरो अस्तित्व नै हुन्न। तर बिस्तारै मनमा विवाह अनि आमा बन्ने चाहना झाँगिँदै गइरहेको थियो। अझै मेरो बच्चा हुन्छ कि हुन्न भन्नेमा मलाई साह्रै डर लागेको थियो।

ओहो केटी त फूल जस्तै हुनुपर्छ, कोमल। म त कडा पो भई सके की ? शरीर त मुलायम हुनुपर्छ, ढुङ्गा जस्तो हैन भन्ने लाग्न थाल्यो।

डरै डरमा २०५९ मा हामीले विवाह गर्यौ। विवाहपछिको जीवन रमाइलो लाग्दै गयो। घर परिवार, सम्बन्ध सबै राम्रो थियो। विवाहपछि मलाई मातृत्वको मोहले पछ्याइरह्यो। 

प्राय : मेरो समकालीन साथीहरूमध्ये कसैको बच्चा खेर जाने, कसैको बच्चै नबस्ने अनि बच्चा जन्मँदा पनि नर्मल डेलिभरी भएको कोही नभेट्ने। मनमा पिर लाग्थ्यो, कतै मेरो पनि त्यस्तै पो हुने हैन?

त्यो समय हामी दुवैको खेल जीवन पिकमा थियो। विवाहपछि नै हाम्रो खेल जीवनले उचाइ लिन थालेको थियो। खेल जीवन सफल हुँदै गइरहेको थियो।

तर ममा भने पारिवारिक जीवनको मोह बढ्दै थियो। बच्चा भइदिए हुने भन्ने लाग्न थाल्यो। खेल जीवन र मातृत्वसँगै जाला जस्तो लागेन। बरु खेल जीवनलाई केही समय विश्राम दिएर भए पनि आमा चैँ बनिहाल्नुपर्यो भन्ने लाग्यो। श्रीमान् पनि यसमा राजी भए।

म गर्भवती भए। अहो...गर्भमा सन्तान बसेको थाहा पाउँदाको अनुभव र त्यो खुसी के भन्ने र। बढो रोमाञ्चक हुने रहेछ, म आमा बन्दैछु भन्ने थाहा पाउँदा। गर्भ बसेको थाहा हुँदा हामी दुवै अति खुसी भयौ।

तर चिन्ता हटेको थिएन मनमा। डर चैँ कतै नर्मल डेलिभरी हुन्न कि भन्ने नै थियो। त्यही डरले सुरुको ४ महिना त पुरै आराम गरेरै बसे म। शरीरलाई गर्भ अनुकूल बनाउन गर्नुपर्ने व्यायामहरू गरे। खानादेखि सोचाइसम्ममा ध्यान दिए। 

तर मनमा सधैँ डर रहिरह्यो, बच्चा स्वस्थ त होला नि ? नर्मल डेलिभरी भएन र अप्रेसन गर्नुपर्यो भने त्यसले खेलमा त असर नपर्ला कि ? विपक्षीले किक हान्दा पेट चिरेकै ठाउँमा पर्यो भने?

सकेसम्म मनमा सकारात्मक सोच मात्र ल्याउने प्रयास गर्दागर्दै यस्ता सोचहरू हटाउनै सकिन। स्वास्थ्यकर्मीसँग परामर्श लिइरहे। प्रार्थना गरे ‘बच्चा प्राकृतिक रूपमा जसरी जन्मनुपर्ने हो त्यसरी नै जन्मियोस्।’

श्रीमान् साइन्सको विद्यार्थी भएकोले हामी दुवै जसरी पनि नर्मल तरिकाले बच्चा जन्माउनु पर्छ भन्नेमै थियौँ। प्राकृतिक रूपमा बच्चा जन्मँदा एन्टीबडी बन्ने र राम्रो पनि हुने रहेछ। 

बच्चा जन्मेपछि कपाल झर्छ, मुखमा पोतो आउँछ, जिउ बिग्रन्छ भन्ने पनि सुनेको थिए। त्यस्तै दागहरू बस्ला भन्ने डर पनि हुने रहेछ। २२ वर्षकी त थिएँ। अब त्यो उमेरमा पनि सुन्दरताप्रति चासो भएन भने त बरबाद भइहाल्यो नि।

४२ केजीको थिए म गर्भवती हुँदा मोटो शरीरको रहर कहिल्यै भएन। तर मेरो पेटमा नानी छ भन्ने कुराले म निकै उत्साहित थिएँ, मोटोपनाको वास्तै भएन। बच्चा पाउँदा म ६२ केजीको भएको थिए।

फोन गरेर भने छोरी भइन् 

विवाह गरेको एक वर्षमा छोरी जन्मिई। धन्न सोचे जस्तै भयो, नर्मल डेलिभरी। डाक्टरले छोरीलाई पहिलो पटक छातीमा राखिदिंदाको सुख कसरी भनौँ। कुनै आमाले पनि भन्न सक्दैनन् होला त्यो खुसी। त्यो क्षण केवल अनुभव गर्न मात्र सम्भव छ।

मैले पोखरामा डेलिभरी गरेँ। त्यति बेला काठमाडौँमा हामी दुवै सङ्घर्षमा थियौँ। यता मलाई स्याहार्ने कोही थिएनन्। त्यसमा पनि कुशलको खेल चलिरहेको थियो। उता पोखरामा छोरी जन्मँदा कुशल यता काठमाडौँमा खेल्दै थिए। 

मैले छोरी पाएको खबर फोनबाटै सुनाए। धेरैले यस्तो बेला श्रीमानको साथ चाहिन्छ भनेको सुनेको थिए। तर मलाई त्यस्तो अभाव महसुस भएन। ढाँटेको हैन।

त्यो समय कुशलको खेल जीवनका लागि महत्त्वपूर्ण थियो। त्यसले पनि त्यस्तो सोचाई आएन होला। अर्कोतिर परिवारका सबै सदस्य मैसँग थिए। त्यसले पनि एक्लो अनुभव गर्नै परेन।

...अनि खेलबाट बिदा लिने भए

कुशल समय मिलाएर पोखरा आउँथे। अनि हामीलाई भेटेर जान्थे। उसको खेल जीवन राम्रो भइरहेको थियो। आमा बन्ने रहरले मलाई खेलभन्दा टाढा लगेको थियो। आमा बने। अनि मनमा खेलमा फर्कन रहर लाग्न थाल्यो। 

पुरानै स्पिरिटसहित खेलमा फर्कन सक्छु कि सक्दिन होला भन्ने मनमा पिर लाग्न थाल्यो। किनकि सुत्केरी भएपछि महिलाको शारीरिक संरचना परिवर्तन हुन्छ। कमजोर हुन्छ भनिन्छ नि। त्यसको असर मनमा पर्ने नै भयो।

कुशल मलाई खेलमा फर्काउन चाहन्थ्यो। उसले खेलमा फर्कन मानसिक रूपमा तयार रहन भनिरह्यो। छोरी ६ महिनाको भए पछि स्विमिङ जाने, एक्सरसाइज गर्न थालेँ । ज्यान ६२ किलो भइसकेको थियो। घटाउनु त पर्यो।

छोरी एक वर्षको भएपछि म खेलमा फर्किए। छोरीलाई माइतीमै छोडेर प्रशिक्षणका लागि काठमाडौँ आएँ। खेलमा फर्कन पाउँदा अति खुसी लाग्यो। तर छोरी छाड्नुपर्दा भने मन अमिलो हुने रहेछ।

प्रशिक्षण छुटाउन नमिल्ने। छोरीको उत्तिकै याद आउने। त्यो समयमा छोरीलाई हेर्न म मिलेसम्म हप्तामा तीन पटक बेलुकाको फ्लाइटमा पोखरा जाने र बिहानको फ्लाइटमा फर्कने गर्थे।

यो क्रम लामै समय चल्यो। 

छोरी हुर्कँदै गइन्। उनी उतै थिइन्। २ कक्षामा पढ्ने बेला भने काठमाडौँमा होस्टेलमा राख्ने सोच बनायौँ। कुशलले कराते सिकाउने स्कुलमै उनलाई राख्ने व्यवस्था गर्यौ।

होस्टलमा राख्न सबै सामान किनेर ल्यार्यौ। तर होस्टल राख्न मनै मानेन। यति सानो उमेरमा कसरी एक्लै छाड्नु? मैले निर्णय गरे बरु खेल जीवन छाड्छु तर होस्टलमा छोरीलाई राख्दिन।

कुशल राजी भयो। तर मेरो पाँच वर्षकी छोरीले मानिन।

सबै सामान किनिसक्नुभयो। म होस्टलमा बस्छु भनिन्। सायद छोरीले त्यसो नभनेको भए मैले खेल जीवनलाई बिदा गरिसकेको हुने थिए। सन्तानका लागि खेल महत्त्वपूर्ण थिएन मलाई। आमाको मन भनेको त्यस्तै हुने रहेछ। तर छोरीले नै रोकिन्। त्यति सानो उमेरमा कहाँबाट उनमा त्यो सोच आयो म अहिले सम्झँदा नि छक्क पर्छु।

स्वार्थी आमा पो भए की 

छोरीको राती  ओच्छ्यानमा पिसाब फेर्ने बानी थियो। त्यसको तनाव अर्को थियो। कतै त्यही चिसोमै सुती रहेकी पो छ कि भन्ने पिरले धेरै रात निदाउनै सकिन। छोरीलाई होस्टल छाड्दाको क्षण मेरो जीवनकै सबैभन्दा सकसपूर्ण क्षण हो। होस्टेलमा छोडेर फर्कँदा मैले पछाडि फर्केर हेर्न पनि सकिन। 

खै कसरी बानी लाग्यो। सानैदेखि मेरी छोरी अरूलाई दुख नदेखाउने बानी परेकी थिई। जे भने पनि भइहाल्छ नि भन्ने अगाडि। तर बच्चा त हो। पछाडि चैँ रोएर बस्ने।

भोलिपल्ट होस्टेलबाट छोरी त रातभरि रोइ भन्ने सुन्दा मन नै सम्हालिएन। मन भक्कानियो, मैले ठुलै पाप गरेछु भन्ने लाग्यो। तर विकल्प थिएन मसँग।

होस्टेल निकै कडा थियो। तर कुशल त्यहीको स्टाफ भएकाले समय मिलाएर भेट्न गइरहन्थे म। तर भित्रभित्रै कमजोर भइरहेको थिए म। मन सम्हालिँदै सम्हालिएन। सुत्नै सकिन।

स्कुलमा मुस्लिम समुदायका सन्तान बढी थिए। छात्राहरू टन्नै थिए। कुशलले उनीहरूलाई पनि कराते सिक्नुपर्छ भन्ने भावना बढाइदिए। यसको स्वार्थ थियो म नियमित त्यही स्कुल जाने। छोरीलाई दिनकै भेट्न त्यो बाहेक अर्को विकल्प थिएन।

प्रयास सफल भयो। छोरीलाई होस्टल हालेको एक महिनामा म स्कुलको कराते प्रशिक्षक बने। त्यसपछि त दिनकै छोरीसँग भेट हुन थाल्यो। केही न केही बहानाले छोरी भेटिहाल्थे। बेलुका खाना खुवाएर सुताएर मात्र फर्कन थाले। त्यहीको स्टाफ भएकाले यति छुट पाए। धन्न मेरो खेल पनि बिग्रिएन। छोरीसँग टाढा पनि हुनु परेन।

अहिले छोरी १२ कक्षा सकाएर हामीसँगै घरमा छिन्। साथी जस्तै भएका छौँ हामी। भन्नै पर्दा म भन्दा परिपक्व र व्यवहारिक छिन् । उनले भारतमा जुनियर इभेन्टमा कराते पनि खेली सकेकी छिन्। बास्केटबल पनि राम्रै खेल्छिन् ।

बुबा आमा खेलाडी भएकोमा उनी निक्कै गर्व महसुस गर्छिन्। आदर गर्छिन्। 

तर, आमा बनेसँगै हामी दुवैको जीवनमा खुसी नै खुसी आयो। हाम्रो खेल जीवन सफल भयो। छोरी हाम्रो लागी लक्ष्मी, सरस्वती, भगवती सबै भइन्।

तर अझै पनि मेरो मनमा एउटा प्रश्नले भने छाडेको छैन। त्यति सानो उमेरमा छोरीलाई होस्टल राख्नु ठिक थियो र? मनमा प्रश्न खेलिरहन्छ। कतै म आफ्नो खेल जीवनप्रति बढी नै स्वार्थी भएर आमाको दायित्व निभाउन सकिन कि भन्ने लागिरहन्छ अझै। कतै बढी नै स्वार्थी पो भए की ?

माघ १८, २०७७ आइतबार १०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।