काठमाडौँ : सरकारले निर्णय गर्नु अगाडि नै हतारमा निजी विद्यालयहरू खुले पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था नसुधारिएकाले विद्यार्थी विद्यालय आएका छैनन्।
शिक्षा
विद्यालय खुले, आएनन् विद्यार्थी

विद्यालय खोल्ने प्रस्ताव अझै मन्त्रीपरिषद्मै छ। तर स्थानीय निकायको अनुमतिका आधारमा अधिकांश निजी विद्यालय खुलिसकेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का महासचिव कुमार घिमिरेका अनुसार अहिले ६० प्रतिशत मात्र विद्यार्थीहरू विद्यालय आइरहेका छन्।
अधिकांश साना कक्षाका विद्यार्थी पढ्न आएका छैनन्। कक्षा ५ भन्दा माथिल्लो कक्षाका पनि ६० प्रतिशत मात्रै विद्यार्थी विद्यालय आइरहेको सूचना आएको उनले बताए।
कति विद्यालय बन्द ? छैन तथ्याङ्क
महासचिव घिमिरेले कोरोना कहरका कारण २ हजार बढी विद्यालय बन्दै भएको दाबी गरे।
केही समय अगाडि तराइका केही जिल्लामा अनुगमन गर्न जाँदा विद्यालयहरू भत्काइरहेको देखेको बताउँदै उनले बन्द हुने निजी विद्यालयको सङ्ख्या अझ बढ्ने दाबी गरे।
‘प्याप्सनलाई थाहै नदिई विद्यालय बन्द भइरहेका छन्। फागुन २० गतेबाट देशैभर बन्द भएका स्कुलको तथ्याङ्क सङ्कलन गर्ने तयारीमा छौ। कति स्कुल बन्द भए भन्ने चैत अन्तिममा मात्रै थाहा होला,’ प्याप्सनको महासचिव घिमिरेले भने।
काठमाडौँमा विद्यालय बन्द भएकोबारे भने जानकारी नआएको उनले बताए।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)का अध्यक्ष ऋतु सापकोटाले भने यति धेरै विद्यालय बन्द नभएको दाबी गरे।
‘केही छिट फुट विद्यालयहरू बन्द भए होलान् । तर ,हजार विद्यालय बन्द भएको छैन’ उनले भने।
नयाँ शैक्षिक सत्रदेखि मात्रै कति निजी विद्यालय बन्द भए र कति खुले भन्ने यकिन हुने उनले बताए। उनले अहिले बन्द भएका अधिकांश निजी विद्यालय मन्टेश्वरीतहका भएको जानकारी दिए।
‘अहिले देशभर कति विद्यालय बन्द भए डिटेल जानकारी आएको छैन,’ उनले उकेरासँग भने‘ अहिले हामी बन्द हुने अवस्थामा पुगेका विद्यालयलाई के कसरी हुन्छ सञ्चालन गर्ने भन्ने योजना बनाउने प्रयासमा छौँ।’
किन भए बन्द ?
दुवै सङ्गठनको दाबी अनुसार महेन्द्र राजमार्गको तराई भागका निजी विद्यालयहरू बढी बन्द भइरहेका छन्। तराईका विकट गाउँका र पहाडी इलाकामा विद्यार्थी विद्यालय आउन छाडेकाले ती विद्यालय सङ्कटमा परेको उनीहरूको बुझाइ छ। विद्यालय आएका विद्यार्थी पनि थोरै छन्।
प्याब्प्सनमा महासचिव घिमिरे भन्छन्,‘पहाड र तराईका विद्यालयमा त ७० प्रतिशत विद्यार्थी पढ्न आएका छैनन्। कोही कता गए, कोही कता। निजीमा पढ्नेहरु पनि सरकारी विद्यालय खुल्ने समय कुरेर बसेका छन्। केहीले विद्यालय बदलेको देखियो।’
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)का अध्यक्ष सापकोटाका अनुसार ५ कक्षासम्म सञ्चालनमा आएका केही निजी विद्यालय बन्द भएको खबर आएका छन्।
उनलेसानो कक्षा सञ्चालन गरेका विद्यालयहरूको अवस्था नाजुक रहेको बताए।
२०७७ माघ १५ गते ७:४७ मा प्रकाशित