राजनीति

संसद् विघटनप्रति काँग्रेस अझै ‘नरम’ 

माधव दुलाल


काठमाडौँ : प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध नरम नीति लिएको आरोप खेप्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मङ्गलवार जिल्ला तहसम्मको आन्दोलन घोषणा गरेको छ।

निर्वाचन क्षेत्र, प्रदेश र स्थानीय निकायमा आन्दोलनका कार्यक्रम चलाएको काँग्रेसले भातृ र शुभेच्छुक संस्थाको आयोजनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ।

मङ्गलवार बसेको केन्द्रीय समितिको बैठकले घोषित कार्यक्रम अनुसार माघ १९ गते भातृसंस्थाले विरोध प्रदर्शन गर्नेछन् भने २४ गते शुभेच्छुक संस्थाको आयोजनामा देशभर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।

आन्दोलन कार्यक्रम अनुसार माघ ३० मा ७७ जिल्लामै विरोध प्रदर्शन र विरोध सभा गर्ने निर्णय समेत गरेको छ। काँग्रेसले पुस १३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय, २५ गते प्रदेश स्तरीय, माघ ३ गते नगर स्तरीय र ८ गते देशभरका वडा तहमा विरोध प्रदर्शन गरिसकेको छ। 

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको बहस जारी छ। संवैधानिक इजलासमा भइरहेको सो बहस फागुन पहिलो हप्तामा किनारा लाग्ने काँग्रेसको आङ्कलन देखिन्छ। 

काँग्रेस बैठकले ‘संसद् विघटनविरुद्ध समाजमा विभिन्न क्षेत्रका नागरिकले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनाप्रति निन्दा र भर्त्सना गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय सार्वजनिक रूपमा व्यक्त गरेका तिक्त टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न असफल भएको निष्कर्ष निकालेको’ मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ।

काँग्रेस केन्द्रीय समिति बैठकमा काँग्रेस नेता नरहरि आचार्यले काँग्रेसको नेतृत्वमा बनाएको संविधानलाई भत्किन नदिने र संरक्षण गर्ने मूल दायित्व यतिखेर काँग्रेसको जिम्मामा आएको बताए। 

कोरोना भाइरस आक्रमणका कारण अनि आफ्नै अवस्थाले समेत कार्यसमितिका केही बैठकमा अनुपस्थित भएको र धेरै दिनपछि आज आएको भनेर लिखित भनाई राखेका नेता आचार्यले संविधान भत्केमा त्यसपछिको रिक्तता भयावह हुनेतर्फ पार्टी नेतृत्वलाई सचेत गराएका छन्।

‘लोकतन्त्रमा निर्वाचन महत्त्वपूर्ण कुरा हो, तर यतिखेर हाम्रो पहिलो प्राथमिकता संविधानलाई जोगाउनु नै हो,’ आचार्यले लिखित भनाई राख्दै बैठकमा भने‘संविधान जोगियो भने आवधिक निर्वाचन हुँदै गर्छन्। संविधानमै पनि आवश्यकताअनुसार परिमार्जनहरू गर्न सकिन्छ।तर  संविधान भत्केमा, त्यसपछिको रिक्तता भने भयावह हुनेछ।’

केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्न र विधि प्रक्रिया मिच्न नदिन काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। मङ्गलवारको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा अगाडी पौडेल र आचार्यले मात्रै बोलेका थिए। 

अझै खुलेन अजेण्डा

बैठकले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने या चुनावमा जानुपर्ने विषयमा अझै प्रस्ट धारणा भने सार्वजनिक गर्न सकेन। यसले सर्वोच्च अदालतमा जारी संवैधानिक इजलासको आदेशै कुर्ने मुड देखियो काँग्रेसको। 

पार्टीमा संविधान जोगाउन संसद् पुनर्स्थापना गर्नु पर्ने र लोकतान्त्रिक पार्टीले चुनावको विरोध गर्न नहुने दुई थरी धारणा आइरहेका छन्। एक पक्ष नेकपा विभाजनको फाइदा लिन निर्वाचनमा जानुपर्ने लाइनमा देखिएको छ भने अर्को पक्ष प्रधानमन्त्री ओलीको कदम संविधान विपरित भएकाले संसद् पूर्नस्थापनाको माग अगाडि सार्नुपर्नेमा जोड दिँदै आएको छ।

नेकपा व्यवहारिक रूपमा विभाजित भए पनि कानुनी रूपमा विभाजित भएको छैन। सोमबार निर्वाचन आयोगले गरेको निर्णयले समेत पार्टी एक देखाएको छ। संसद् पुनर्स्थापना भएको अवस्थामा काँग्रेस एक्लैले सरकार बनाउन नसक्ने भएकाले निर्वाचनमा जानुपर्ने एक पक्षको मत देखिन्छ।

काँग्रेस : कहिले गरम, कहिले नरम 

काँग्रेसले मङ्गलवार घोषणा गरेको कार्यक्रम हेर्दा उ सर्वोच्च अदालतबाट संसद् विघटनबारे ठोस आदेश नआएसम्म प्रधानमन्त्री ओलीको कदमविरुद्ध सशक्त आन्दोलनमा जाने मुडमा देखिएन। उ अझै आदेश कुर्ने मुडमै देखियो।

संसद् विघटनपछि काँग्रेसले छरिएको आन्दोलन गर्दै आएको छ। संसद् विघटनबारे अदालतबाट आदेश आएको आधारमा उसले केन्द्रीकृत आन्दोलन गर्ने नगर्ने निर्णय गर्ने तयारी गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एमालेमा ओली राज: निर्वाचित समिति मुखले भङ्ग 

चैत १ गते बैठक बस्ने भनिए पनि उनले शुक्रवार आफू निकटका केन्द्रीय सदस्यहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए। एमालेका ओली निकट नेताहरूले प्रारम्भमा बालुवाटारको बैठक....

प्रदेश १ : संसद् अवरुद्ध गर्ने तयारीमा सरकार पक्ष 

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना भएसँगै चलखेल बढ्न थालेको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने भएपछि....

पार्टी एकीकरण अभियानबाट ओली र दाहाल टाढिन सक्दैनन् : गौतम 

ललितपुरको धोविघाटमा आज (बुधबार) नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै उनले यस्तो बताएका हुन्। पार्टी एकीकरणबाट विमुख भए ओली र दाहाल सैनिकबिनाको सेनापतिजस्तो हुने....

नेकपा उपाध्यक्ष वामदेव गौतम आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

बिहान ११ बजे ललितपुरको धोवीघाटमा उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्ने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदी जानकारी दिए।  अभियान घोषणा कार्यक्रमका लागि गौतमले....

वामदेव नेकपाको ‘अवैध’ उपाध्यक्ष

नेकपामा विवाद चर्किएसँगै पार्टीका २ अध्यक्ष दुईतिर लागे। बामदेव अहिलेसम्म कुनै गुटमा छैनन्। उनी नेकपाको उपाध्यक्षको हैसियतमा पार्टी एकीकरणको अभियान अगाडि बढाउने तयारीमा छन्। तर....