ओप-एड

डिभोर्सी : कसैका लागि 'इन्टरटेनमेन्ट'

पुजा ढुँगाना 


काठमाडौं : ३० वर्षको जन्मोत्सव मनाएको दुई महिना भयो। यो वर्ष मैले भव्य तरिकाले आफ्नो जम्मोत्सव मनाए। म 'डिभोर्सी' जुन मैले एकल जीवन बिताउने अठोट लिए तबदेखि खुसी हुनु या भनौँ सामान्य जिन्दगी बिताउने अधिकार गुमाएछु। 

विवाहित महिला जस्तो रङ्गी चङ्गी पहिरन लगाउनु या त चाड पर्वहरू खुलेर मनाउनु मेरा आफ्ना आफन्तहरूलाई त पचाउन गाह्रो छ भने मेरो बारेमा केही थाहा नपाउने म सँगै अफिसमा काम गर्ने सहकर्मीहरूलाई कति गाह्रो भयो होला। 

पटक पटक मलाई विगत वर्षका घटनाले याद दिलाउँछ कि म एक 'महिला;  त्यो पनि एकल। न त म दुखिनै देखिन्छु।

न म कुनै मानसिक रोगीको सिकार छु र न त म घर भित्र आफूलाई थुनेर नै राख्छु । माइतीमा साधारण जीवन बिताइ रहेकी छु, बिहान अफिस जान्छु, बेलुकी योग क्लास जान्छु र बेला बखत साथीहरूसँग रमाइलो गर्छु। 

आज भोलि म आफन्तहरूसँग खासै घुलमिल हुन्न किनभने आफन्तहरूसँग मलाई चित्त बुझेको छैन। मेरा मनमा अनेक थरीका प्रश्नहरू छन् तर मैले ती प्रश्नहरू आफू भित्रै दबाएर राखेकी छु। 

यो समाजको दृष्टिकोण कति फरक हुन्छ जब तपाइको साइडमा उभिएको एउटा लोग्ने हुँदैन। लाग्छ महिलाको सारा अस्तित्व उसको श्रीमान् अथवा ऊ विवाहित भएको 'पद' मा हुन्छ। 

मेरा वैवाहिक दिनका व्यवहार र मसँग अहिले भइरहेको व्यवहारको तुलना गर्दा मलाई आफ्नै जिन्दगी देखेर अचम्म लाग्छ । हिजोका दिनमा म ज्वाँई लिएर हिँड्दा मलाई सबैतिर माया र स्वागत गरिन्थ्यो। आज सबैका हेराइहरू नै काफी बनेका छन् । झन्डै १ वर्ष त मेरो बारेमा बबाल 'खुसुर खुसर' भयो। 

कसैको लागि 'इन्टरटेनमेन्ट' भए । मलाई के भयो? कस्तो भयो? भन्ने बारे मेरो परिवार बाहेक सायदै कसैलाई मतलब थियो। 

डिभोर्स भएको एक वर्षमा अफिस बाहेक अरू कहीँ गइन। न त कुनै साथीहरूसँग भेटे न त कुनै फङसनमा गए । घुम्न, खान, साथीहरूसँग रमाइलो गर्न सकिन। मान्छे म घर भित्रै बसेको ६ महिना भएको थियो  

जब मेरा ममी बाबाले मलाई 'साइक्याट्रिस्ट' कहाँ लगे  मैले पनि आफूलाई याद गरेर हेर्दा धेरै परिवर्तन भई सकेको पाए। मेरो सिम्टम्सहरु हेर्दा मलाई माइन्ड डिप्रेसन भनेर भनियो। मलाई कुनै त्यस्ता कुरामा रुचि थिएनन् जुन पहिला हुन्थ्यो। 

मेक अप गर्ने, लुगा लगाउने, नयाँ नयाँ कुरा सिक्ने कुनै कुरामा जाँगर थिएन मलाई। जिन्दगीमा ठुलो परिवर्तन भएकोले होला म आफै धेरै परिवर्तन भई सकेको थिए। त्यो बेला मलाई कुनै समाज, आफन्त आएर सोधेन न त मेरो हाल खबर न त मेरो स्वास्थ्य। 

झन्डै एक वर्षको समय आफ्नो स्वास्थ्यलाई ध्यान दिएर औषधी लगायत विभिन्न थेरापी लिएर म फेरी जिन्दगीलाई उत्साह पूर्व स्वागत गर्न खोज्दा सबैका आँखाले प्रश्न गर्न थाले। मैले खुलेर दसैँ तिहार मनाउनु या त मेरो जन्मोत्सव मनाउनु धेरै मानिसलाई अचम्म लाग्यो। 

सायद म डिप्रेसन भएर जिन्दगीभर इलाज गरेको भए मलाई सहानुभूति र हौसला दिने सोच थियो होला। दुःखमा साथ नदिनेहरुलाई मेरो सुखको ईर्ष्या किन लागेको मैले बुझ्न सकिन। म लगायत मेरो परिवारले पनि अनेक आलोचना सहनु पर्‍यो। 

कस्ता आमा बुबा छोरीलाई घर खान नसिकाएका, छोरीलाई पुलपुलाएर राखेका, धेरै पढेका छोरीहरूको कर्तुत र आदि इत्यादि। मेरा आमा बुबाले हामीलाई सानै देखि सही र गलतको शिक्षा दिनु भएको थियो। हामीलाई शिक्षित, सक्षम र आत्मनिर्भर बनाउने क्रममा उहाँहरूलाई कहिल्यै याद भएन कि हामी छोरी हौ । 

सबै कुरामा बोल्ने अधिकार र वातावरण सानै देखि पाएर होला, गलत कुरा सहने बानी कहिल्यै भएन। घरमा काम गर्ने दिदी, छिमेकी बहिनी होस् वा मेरा साथीहरू कुनै पनि चिनेका महिलाको पीडाले मलाई पोल्थ्यो। समाजमा यति धेरै भेदभाव छ पुरुष र महिलाको बिच त्यो देखेर पटक-पटक मैले आवाज नउठाएकी होइन। 

जब पालो मेरो आयो, मैले कसैलाई बुझाउन सकिन। किनकि न त मेरो लोग्नेले मलाई जाँड रक्सी खाएर पिटेको थियो, न त उसमा कुनै कुलत नै थियो। म कुनै पर पुरुषसँग लागेको थिइन न त उनै। उसले मलाई कमाएर दिएको थियो र सबैको भनाई अनुसार मलाई विवाह पश्चात् काम गर्न पनि रोकेको थिएन। हाम्रा समाजमा लोग्नेले पिटेको काम र उसले केटी घुमाएको सबुत नभएसम्म अरू कुनै कारणहरू जायज हुँदैन। 

उसको मेरो मन नमिल्नु दिन दिनै झैँ-झगडा हुनु त एकदम साधारण मानिन्छ। कतिले यो पनि भने कि फेसबुकमा त सबै ठिक देखिन्छ। लाग्छ फेसबुकका फोटोले मेरो जीवनको सच्चाइ देखाउँछ। 

फोटो नियालेर हेर्दा म घुमिरहेकी गर गहना लगाएर विवाह पहिरनमा नाची रहेकी देखिएर होला मेरो मन भित्रको भारी कसैले बुझेन। पक्कै पनि म सधैँ निराश थिइन, सधैँ दुःखी थिइन तर पनि ४ वर्षको वैवाहिक जीवन अन्त्य गर्नेको निर्णय मजाक थिएन। 

तनमा लागेको चोट देखाउन सकिन्छ तर मनको चोट देखाउन धेरै गारो छ। पटक-पटक दुखेको मेरो मन, रातभरि रोएर सुनिएका मेरा आँखा कसैले नबुझेका मेरा भावना र सबैको यस्तै हो भनेर बन्द गरिएका मेरा जिन्दगीका यादहरू। कयौँ पटक मैले मेरो भारी मनलाई सम्झाए, बुझाए र फकाए।

वरिपरि धेरै मान्छे भएर पनि कसैले आफ्नो मनको हाल नबुझ्नुलाई सच्चैमा “एक्लो” भएको हुँदो रहेछ। पटक-पटक म एक्लो भएको थिए। लाग्थ्यो विवाहित भएर पनि एक्लो जीवन बिताइ रहेको थिए। 

एक्लो हुनु र महसुस गर्नु जस्तो पीडा सायदै अरू कुनै होला। हजारौँ पटक सोचेर विचार गरेर लिएको मेरो फैसलालाई कदर गर्न नसके कमसेकम बदनाम मात्र नगर्दिने भए मेरो खलबलिएको शान्त हुन्थ्यो होला। 

अब कुरा आयो मेरो ३० औ जन्मोत्सवको

मलाई पुरा अधिकार छ आफ्नो आगामी जीवन आफ्नो अनुसार बाच्न। ३० औ जन्मोत्सव धूमधामले मनाउने मेरो इच्छा पुरा गर्दा कसैको स्वाभिमानलाई ठेस पुराउन मेरो नियत होइन। आउँदो दिनहरू र जीवनमा त्यही उत्साह र साहसको साथ जिउन चाहन्छु। 

सबैले भने झैँ जिन्दगी लामो पनि छ र गाह्रो पनि छ तै पनि म अब तयार छु। डिभोर्स हुन या त विवाह नचल्नु नराम्रो कुरा हो तर जीवन यसमा मात्र सीमित छैन। विवाहले मात्र खुसी दिन्छ र अविवाहित या त एकल महिला खुसी हुन्छिन् भन्ने वाहियात सोचाइहरूलाई म बदल्न चाहन्छु। 

अरू पनि धेरै कुराहरू छन् जीवनमा खुसी हुनुलाई महिलाको जीवनको लक्ष्य विवाह गर्नु, घर खानु, बच्चा पाउनु र विवाह टिकाउनु मात्र पनि होइन। कोही एक्लो जीवन बिताएर पनि खुसी छन् कोही आफ्नो काम करियरमा ध्यान दिएर पनि खुसी छन्। यो अधिकार पूर्ण रूपले एक महिलाको हो, कि उनी के गरेर खुसी छिन्। 

समाजको खुसी र सुखी जीवनको परिभाषाको आधारमा महिलालाई सीमित गराउनु राम्रो कुरा होइन। मैले डरले होइन हकले भन्न पाउनु पर्छ कि म आज खुसी छु, भोलिको दिनहरूको लागि उत्साहित छु। 

मैले एकल जीवन बिताउने क्रममा धेरै आफन्तहरू गुमाए, सायद उनीहरू मसँग सम्बन्ध आफ्नो सहजताको अनुसार अथवा सातको नाताको अनुसार मात्र राख्न चाहन्थे। त्यस्तो खोक्रो सम्बन्ध र आफन्तहरू अब मलाई पनि पुगी सकेका छन्। अब म खुसी हुन कसैको टाउको दुख्छ भने मैले आफूलाई वाचा गरिसकेकी छु अब म जीवन भर खुसी नै रहने छु। धन्यवाद। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अब काली–२ आउँछ, त्यसले काले–कालीको विगतको कथा भन्छ : पुष्पन प्रधान

प्रधानले आफ्नो ३७औँ जन्मदिन पारेर ‘काली’ बोलको म्युजिकल फिल्म बजारमा ल्याए। चर्चा पनि खुबै भयो। यिनै कालीका सर्जक प्रधानसँग उकेराकर्मी ईश्वरकुमार मैनालीले गरेको कुराकानी :....

बालाजु सडक अभियन्ताको चुनौती : मन्त्रीज्यू म प्रमाण दिन्छु, तपाईं घर दिने हो ?

पछिल्लो समय बृहत् नागरिक अभियानले समेत बालाजुको मुद्दामा साथ दिए पनि अहिले भने सो क्षेत्रमा पिच समेत भइसकेको छ। तर श्रेष्ठ आफ्नो अभियान जारी रहेको....

'बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदको गन्ध नफैलाउनुस्’

तीन वर्षपछि अहिले हामी नेकपा एमालेको रूपमा हामी भेला भएका छौँ। पहिलो टेस्ट, नयाँ स्वादको रूपमा तपाईँहरूले अनुभव गर्नुभएको छ। अहिले राजनीति निक्कै सङ्गिन मोडमा....

'धेरै लेखकले पाठकलाई अन्याय गरेका छन्'

‘रहर’ निकाल्ने रहर पुर गर्नु भयो, कस्तो प्रतिक्रिया पाइरहनु भएको छ? उत्साहित छु। किताब सानो भयो भन्ने धेरैको गुनासो आइरहेको छ। तर नयाँ लेखकलाई दुई....

राज्यमन्त्री मानन्धरको दाबी : बालाजु सडक विस्तार विरोधी अभियन्ता होइनन्, माफिया हुन्

संविधानको धारा २५ ले तोकेको जनताको संवैधानिक अधिकारभन्दा तपाईंलाई आफ्नो फिल्म हल जोगाउनु महत्त्वपूर्ण भयो है ? यो बहकिएको प्रश्न भयो। प्रमाण के छ....