कार्नेसन खेतीमा सोख

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’ 

परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल खेती थालेका हुन्। 

बासी जस्तै नेपालमा कार्नेसन फूल खेती गर्नेको संख्या बढिरहेको छ। कारण हो– फूलका सौखिन बढ्नु। 

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का महासचिव विश्वमणि पोख्रेल भन्छन्, ‘वर्षेनी कार्नेसन खेती गर्नेको संख्या बढिरहेको छ।’ 

त्यसो त काठमाडौंको मुस्कान नर्सरीका महेन्द्र सुवेदी पनि आफू कार्नेसनको पारखी भएको बताउँछन्। 

बिहेमा बढ्दो माग 

फुल्दा गुलाफ जस्तै आकारको देखिन्छ, कार्नेसन फूल। सुन्दर थुँगा। फुलेको बेला मन लोभ्याउँछ !

कार्नेसन फूल गार्डेन तथा गमलामा रोपेर त सजाउन सकिन्छ। बुकी बनाएर गिफ्टको लागि प्रयोग हुन्छ। घडामा राखेर सजाउन सकिन्छ। बिहेमा कार सजाउन कार्नेसन खुब प्रयोग हुन्छ। विशेष गरी सहरी क्षेत्रमा विभिन्न उत्सव तथा कार्यक्रममा यो फूल सजाइन्छ।

बिहेजस्ता उत्सवमा यसको माग बढेको महासचिव पोख्रेल बताउँछन्। 

पट, स्ट्याण्डर्ड र स्प्रे

हर्टिकल्चर विशेषज्ञका अनुुसार पट भेराइटी, स्ट्याण्डर्ड कार्नेसन र स्प्रे कार्नेसन गरी सामान्यतः तीन किसिमका कार्नेसन हुन्छन्। सामान्यतः स्ट्याण्डर्ड कार्नेसन सेट हाउसभित्र फुलाइन्छ। 

पट भेराइटीको कार्नेसन गमलामा फुलाउन सकिन्छ। सुवेदीले भने, ‘पट भेराइटीको कार्नेसन होचो हुने भएकाले गमलामा फुल्दा निकै सुन्दर देखिन्छ।’ 

पट भेराइटी कार्नेसन हाइब्रिड भएकाले होचोमा फुलाउन सकिने हर्टिकल्चर विशेषज्ञ बताउँछन्। पट भेराइटीको करिव २० बोट कार्नेसन गमलामा रोपेर घर तथा गार्डेनमा सजाउँदा मनमोहक देखिन्छ। एक बोटमा एकै पटकमा ३० भन्दा बढी थुँगा फुलाउन सकिन्छ।

पट भेराइटी (जात)को कार्नेसनको बोट करिव तीन वर्षसम्म बाँच्ने सुवेदी बताउँछन्। यसको अर्थ एउटै बोटमा तीन वर्षसम्म फुलाउन सकिन्छ। 

स्ट्याण्डर्ड भेराइटीको कार्नेसन भने प्रायः कट फ्लावरका लागि प्रयोग हुन्छ। बुकी बनाउन, विवाहजस्ता उत्सवका लागि स्ट्यान्डर्ड र स्प्रे जातका कार्नेसनको बढी प्रयोग हुन्छ।

यी दुई भेराइटीका कार्नेसनको बोट अग्लो हुने भएकाले गमलामा रोप्दा सम्हालिँदैन। 

नेपालमा करिव १२ वटा रंगको कार्नेसन पाइए पनि सबैभन्दा बढी मन पराइने रातो रंग हो। नेपालमा रातो, पिंक, पहेंलो, सेतो, छिरबिरे जस्ता रंग प्रचलनमा छन्।

नेपालमा औसत एक थुँगा कार्नेसनको होलसेल मूल्य २५ रूपैयाँ पर्ने फार्मका सञ्चालक बासी बताउँछन्। पट भेराइटीको फुलेको कार्नेसनको मूल्य भने ५० रूपैयाँभन्दा बढी पर्छ। पोलीको एक सय ५० रूपैयाँसम्म पर्छ। सुवेदी भन्छन्, ‘गमलामा फुलेको कार्नेसनको करिव तीन सय रूपैयाँ पर्छ।’

नेपालमा वार्षिक करिव ३० लाखभन्दा बढी कार्नेसनका थुँगा (स्टिक) खपत हुने गरेको पोख्रेल बताउँछन्। यसरी हेर्दा वार्षिक औसत १० करोड रूपैयाँ हाराहारीमा यो फूलको कारोबार हुन्छ। यसको मुख्य बजार काठमाडौं हो। 

कार्नेसनको माग वर्षेनी बढिरहेको नर्सरी व्यावसायी बताउँछन्। महासचिव पोख्रेलले भने, ‘वर्षेनी १५ प्रतिशतको दरले कार्नेसनको माग बढिरहेको छ।’

फूलको स्याहार र भण्डारण

त्यसो त यो फूलका लागि न्यानो वातावरण आवश्यक हुने नर्सरी व्यावसायी बताउँछन्। २५ डिग्री तापक्रममा राम्रो फुलाउन सकिन्छ। काठमाडौं उपत्यकामा राम्रो फुलाउन सकिने पोख्रेल बताउँछन्। चिसो मौसममा पनि प्लास्टिकको सेट हाउसमा यो फूल राम्रो फुलाउन सकिन्छ। 

त्यसो त हाँगा भाँचेरसमेत सर्ने भएकाले एउटा माउ (मदर) बोटबाट धेरै वटा बिरुवा उत्पादन गर्न सकिन्छ। यो फूलको बिरुवा भदौदेखि फागुनसम्ममा रोप्न सकिन्छ। कट फ्लावर भेराइटीको कार्नेसन बिरुवा रोपेको करिव तीन महिनामा फुलाउन सकिने फर्माका बासीको अनुभव छ। पानी जम्ने ठाउँमा यो बिरुवा रोप्नु हुँदैन। 

यो बिरुवा रोप्नका लागि हल्का किसिमका दोमट माटो उपयुक्त हुने महासचिव पोख्रेल बताउँछन्। पानी जम्ने ठाउँमा रोप्नु हुन्न। यसलाई गाईको मल, पिना, हड्डीको मल, कम्पोस्ट मल लगाउन सकिन्छ। तर, बिरुवा रोप्नुभन्दा एक हप्ताअघि नै मल मिसाएर माटो मिलाउन आवश्यक हुन्छ। बिरुवा रोपेपछि आवश्यकता अनुसार मल थप्न सकिन्छ। 

हर्टिकल्चर विशेषज्ञका अनुसार बिरुवा रोप्दा पनि निकै ध्यान दिनुपर्ने हुन्छ। करिव पाँच पात भएको यसको हाँगा चुटेर रोप्दा यसको जरा आउँछ। राम्रोसँग जरा आएपछि रोप्न सकिन्छ। रोपिसकेपछि जरा आइसकेपछि हल्का गरी पानी हाल्नुपर्ने हुन्छ। कट फ्लावर भेराइटीको कार्नेसनको बोट अग्लो हुने भएकाले बाँधजेल गरिरहनुपर्छ। पिन्चिङ (चुड्ने) गर्न आवश्यक हुन्छ। 

ढुसी, डढुवा, डाँठ कुहिने लगायतका रोग लाग्छन्। यस्तो अवस्थामा विषादीको प्रयोग गर्न सकिने सुवेदी बताउँछन्। वर्षात्को समयमा जरा कुहिने समस्या हुन सक्छ। त्यसैले पानी नजम्ने ठाउँमा रोप्न हर्टिकल्चर विशेषज्ञको सुझाव छ। 

त्यसो त कट फ्लावर भेराइटीको कार्नेसन फुलेर टिपेपछि भण्डारण गर्दा पनि बडो ख्याल गर्नुपर्छ। धारिलो चक्कुले करिव १२ इन्चको डाँठ राखेर यो फूलको हाँगो काट्न सकिन्छ। त्यसपछि कागजमा बेरेर ओसारपसार गर्दा फूल भाँचिने तथा बिग्रने समस्या नहुने नर्सरी व्यावसायी बताउँछन्। 

यो फूल टिपिसकेपछि पनि ओइलाउन नदिनका लागि डाँठ पानीमा डुबाउनुपर्ने हुन्छ। डाँठ पानीमा डुबाउँदा करिव २१ दिनसम्म फूल टिक्ने हर्टिकल्चर विशेषज्ञको मत छ। जाडोको तुलनामा गर्मीमा भने कम टिक्छ। 

यो फूललाई डेन्थसका नामले समेत परिचित छ। डेन्थस नामकरण ग्रिक बोटोनिस्टले गरेको पाइन्छ। तर, कार्नेसन नामले नै यो फूल बढी परिचित छ। झन्डै दुई हजार वर्ष अघिदेखि यो फूलको उत्पादन सुरु भएको पाइन्छ। 

२५ पुस, २०७७, १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।