पाँचथर अस्पताल तोडफोड: आकस्मिक बाहेकका सेवा बन्द

पाँचथर अस्पताल तोडफोड: आकस्मिक बाहेकका सेवा बन्द

पाँचथरः उपचाररत बालिकाको मृत्यु भएपछि गए राति पाँचथर जिल्ला अस्पतालमा तोडफोड भएकाे छ। ताेडफाेड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ।

स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको हाे। अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयूसहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन्।

जिल्लाको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा निधन भएको थियो। यसपछि आफन्त र अन्य स्थानीयबासीले स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको जनाउँदै यसको विरोधमा उत्रेका थिए।

अस्पताल ताेडफाेड गर्ने भीडलाई प्रहरीले तितरबितर पार्न पटक–पटक अश्रुग्यास प्रहार गरे पनि भीड प्रहरीसँगै जाइलागेको थियो।

अस्पताल प्रशासनले ताेडफाेडपछि आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ। आज बिहान समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा संवाद भएकाे छ भने बालिकाको शव बुझ्ने तथा घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ।

यस्तै अस्पताल प्रशासनले बालिकाको काजकीरिया खर्चका लागि ४० हजार रकम उपलब्ध गराउने भएको जनाइएको छ।

२१ असोज, २०७८, १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।