किन उकालो लाग्दैछ घरजग्गा कारोबार ?  

किन उकालो लाग्दैछ घरजग्गा कारोबार ?  

काठमाडौँ : यति बेला विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रायः व्यापार व्यवसाय लयमा फर्कन सकेको छैन। तर घरजग्गा कारोबारमा भने खासै असर परेको देखिँदैन।

यति बेला देशैभरका मालपोत कार्यालयमा मानिसको चहलपहल बाक्लो छ। लिखित पास, नामसारी, संशोधन, रोक्का, फुकुवा, जग्गा दर्ता, मोहियानी हक नामसारी, मोही लगत कट्टा, जग्गा बाँडफाँड, लगायत कामका लागि मालपोत कार्यालय धाइरहेका छन् मानिस। 

कोरोना महामारीको सुरुवाती चरणमा केही समय स्थिर रहेको घरजग्गा कारोबार पुन उकालो लाग्न थालेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको घरजग्गा कारोबार सम्बन्धी तथ्याङ्क हेर्दा पनि घरजग्गा कारोबार हरेक महिना बढ्दै गएको देखिन्छ। 

६ महिनामा ७ लाख ४२ हजार ७०९ घरजग्गा कारोबार 

चालु आर्थिक वर्षको ६ महिनामा गत साउनदेखि पुससम्म ७ लाख ४२ हजार ७०९ वटा घरजग्गाको कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ ।

देशैभरका १०८ वटा भूमिसुधार तथा मालपोत कार्यालयबाट लिखित पास, नामसारी, संशोधन, रोक्का, फुकुवा, जग्गा दर्ता, मोहियानी हक नामसारी, मोही लगत कट्टा, जग्गा बाँडफाँड लगायत कारोबार ७ लाख ४२ हजार ७०९ भएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क हेर्दा २०७७ साउन महिनामा देशैभरका मालपोत कार्यालयबाट ९६ हजार १६३ जग्गाको कारोबार भएको देखिन्छ। साउनसँग तुलना गरेर हेर्दा भदौ महिनामा जग्गा कारोबार घटेको देखिन्छ। भदौमा देशैभरका मालपोत कार्यालयहरूबाट ५५ हजार १५८ वटा घरजग्गा कारोबार भएको देखिन्छ। असोज महिनादेखि भने हालसम्म जग्गा कारोबार उकालो लागेको विभागले जनाएको छ। 

असोज महिनामा घरजग्गा कारोबार बढेर १ लाख नाघेको छ। विभागका अनुसार असोज महिनामा देशैभरका मालपोत कार्यालयबाट १ लाख ४ हजार ९ सय २८ घरजग्गा कारोबार भएको देखिन्छ। कात्तिक महिनामा पनि १ लाख ४ हजार घरजग्गाको कारोबार भएको विभागले जनाएको छ।

मङ्सिर महिनामा देशैभरका मालपोत कार्यालयबाट १ लाख ६८ हजार  घरजग्गा कारोबार भएको देखिन्छ। पुस महिनामा घरजग्गाको कारोबार अघिल्लो महिनाको तुलनामा झन्डै दोब्बरले बढेको छ। पुसमा २ लाख १४ हजार ४६० कारोबार भएको छ। 

सबैभन्दा बढी लिखित पास, रोक्का र फुकुवा 

घरजग्गा कारोबारमा पनि सबैभन्दा बढी लिखित पास, रोक्का र फुकुवा भएको देखिन्छ। साउन महिनामा देशैभरका मालपोत कार्यालयबाट ९६ हजार १६३ जग्गाको कारोबार भएकोमा ३७ हजार ९७० लिखित पास भएको देखिन्छ। त्यस्तै संशोधन तथा रोक्का फुकुवा लगायत काम भएको देखिन्छ।

साउन महिनामा २ हजार ६५८ घरजग्गाको संशोधन भएको देखिन्छ। त्यस्तै रोक्का २६ हजार २०९ र फुकुवा १९ हजार २०१ भएको देखिन्छ। बाँकी मोहियानी हक नामसारी, जग्गा बाँडफाँड, जग्गा दर्ता, दाखिल खारेज लगायत कारोबार भएको देखिन्छ।

भदौ महिनामा ५५ हजार १५८ वटा घरजग्गा कारोबार भएकोमा लिखित पास १४ हजार ९८५ भएको छ। रोक्का कारोबार १८ हजारभन्दा बढी छ। १७ हजार ५९९ फुकुवा भएको छ। असोज महिनामा देशभरका मालपोत कार्यालयबाट १ लाख ४ हजार ९ सय २८ घरजग्गा कारोबार भएकोमा ३६ हजार ६८९ लिखित पास भएको छ।

३६ हजार ४३६ रोक्का तथा १८ हजार ११८ फुकुवा भएको छ। कात्तिक महिनामा पनि १ लाख ४ हजार घरजग्गाको कारोबार भएकोमा ३५ हजार बढी लिखित पास भएको देखिन्छ। १७ हजार रोक्का तथा १८ हजार १०० फुकुवा भएको देखिन्छ। 

मङ्सिर महिनामा १ लाख ६८ हजार  घरजग्गा कारोबार भएकोमा ६१ हजार ४५१ लिखित पास भएको छ।  रोक्का ५३ हजार र ३२ हजार २६० फुकुवा भएको देखिन्छ। पुसमा २ लाख १४ हजार ४६० कारोबार भएकोमा ७६ हजार ५३२ लिखित पास, ६९ हजार १८२ रोक्का तथा ४० हजार बढी फुकुवाको काम भएको विभागको तथ्याङ्कले देखाउँछ। बाँकी संशोधन, नामसारी, अपार्टमेन्ट लिखित पास लगायत कारोबार भएको छ। 

२४ अर्ब २० करोड ८३ लाख राजश्व सङ्कलन

चालु आवको ६ महिनाको अवधिमा मालपोत कार्यालयहरूबाट  २४ अर्ब २० करोड ८३ लाख ४ हजार ९९८ रुपैयाँ राजश्व सङ्कलन भएको छ। सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, जग्गाधनी प्रमाण पुर्जा प्रिन्ट शुल्क, विलम्ब शुल्क लगायत शुल्क बापत सो राजश्व रकम सङ्कलन भएको विभागले जनाएको छ।

विभागको तथ्याङ्क हेर्दा प्रतिमहिना न्यूनतम २ अर्बदेखि ६ अर्बसम्म राजश्व सङ्कलन भएको देखिन्छ। साउन महिनामा २ अर्ब ७४ करोड ५५ लाख ४९ हजार १२८ रुपैयाँ राजश्व सङ्कलन भएको छ। भदौ महिनामा कारोबार घटेसँगै राजश्व सङ्कलन पनि घटेको छ। यो महिनामा १ अर्ब ३१ करोड ९५ लाख ११ हजार ८०१ रुपैयाँ राजश्व सङ्कलन भएको विभागले जनाएको छ। 

असोजमा ५ अर्ब २७ करोड २० लाख ५३ हजार ८०३ रुपैयाँ राजश्व सङ्कलन भएको छ। कात्तिकमा ३ अर्ब ६ करोड २५ लाख ६३ हजार ७२७ रुपैयाँ राजश्व सङ्कलन भएको छ। मङ्सिरमा ५ अर्ब १४ करोड ४८ लाख ८१० राजश्व सङ्कलन भएको छ। पुसमा ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार ७२९ रुपैयाँ राजश्व सङ्कलन भएको छ। 

किन उकालो लाग्दैछ घरजग्गा कारोबार ? 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक गुरुदत्त सुवेदी महामारीमा पनि घरजग्गा कारोबारको अवस्था सामान्य अवस्थामा जस्तै फर्किसकेको बताउँछन्। पछिल्लो समय बैङ्कहरूले लगानी बढाएको तथा ऋण लगानी समेत बढेकाले घरजग्गा कारोबार बढेको उनको भनाई छ। 

‘ऋण लगानी पनि बढेको देखिएको छ, ऋण लगानी गर्न त धितो चाहिन्छ, जसले गर्दा घरजग्गा कारोबार बढेको छ निर्देशक सुवेदीले उकेरासँग भने, कोभिड पछि अन्य व्यवसाय छाडेर साना व्यवसायीहरू घरजग्गा कारोबारमा फर्किएका छन्।’

कोभिडका कारण अन्य कामहरू ठप्प रहेको र फुर्सदको समयमा मानिसहरूले घरजग्गाको नामसारी लगायत काम गरेका कारण पनि घरजग्गा कारोबार बढेको उनको बुझाई छ। 

६ फागुन, २०७७, ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।