सानो कोठा। कोठाभित्र चारैतिर चिल्ला काठले बारिएको हुन्छ। काठले गारो (भित्ता) छेकिएको हुन्छ। कोठाभित्र ठाउँ–ठाउँमा सुत्ने बेञ्च राखिएको हुन्छ। जुन कोठामा एउटा इलेक्ट्रिक हिटर मेसिन राखिएको हुन्छ। हिटरले कोठा तताउँछ। कोठामा ढुंगाको बाफको तापले नुहाइन्छ। यसरी कोठामा बाफ लिएर नुहाउने विधिको नाम हो– सौना बाथ। यस्तो कोठालाई भने ‘सौना रुम’ भनिन्छ।
उकेरा फिचर
जाडोमा तन–मन फिट राख्ने सौना बाथ

नुहाउने टेक्निक
कोठामा राखिएको विशेष प्रकारको इलेक्ट्रिक हिटरमाथि साना–साना ढुंगा राखिएको हुन्छ। तिनै ढुंगा तातेपछि बाफ निस्कन्छ। र, त्यही बाफमा नांगै बसेर ताप लिइन्छ।
सौना कोठामा छिर्नुअघि केही विधि भने अपनाउनु पर्छ। सौना कोठामा छिर्नुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे थाहा पाउनु पर्छ। कुनै दीर्घ रोगको समस्या तथा अस्वस्थ व्यक्तिले सम्बिन्धित चिकित्सकको सल्लाह लिएर मात्रै सौना गर्नु उचित हुन्छ।
पाको उमेरका व्यक्तिले पनि चिकित्सकको सल्लाहमा मात्रै सौना लिनु पर्छ। गर्भवती तथा बालबालिकाले सौना नलिएकै राम्रो।
शारीरिकरूपमा सौना लिन योग्य व्यक्तिले सौना लिनुपूर्व मानसिकरूपमा पनि तयारी हुनु पर्छ। त्यसपछि नुहाउनु पर्छ। जाडो मौसममा मनतातो पानीले नै नुहाउनु उचित हुन्छ।
नुहाइसकेपछि ड्रेस खोलेर निर्वस्त्र हुनु पर्छ। तौलिया लगाउन सकिन्छ। टाउकोमा पनि सानो तौलिया पानीमा भिजाएर लगाउनु पर्छ। पानीमा भिजाएर टाउकोमा तौलिया लगाउनाले सौना लिने क्रममा रिंगटा लाग्ने, चक्कर लाग्नेजस्ता समस्याबाट बच्न सकिन्छ।
यी तयारी गरिसकेपछि सौना कोठाभित्र छिर्न सकिन्छ। सौना कोठा करिव ७० डिग्री सेल्सियसको तापमा तातिएको हुन्छ।
पसिना आउने गरि शरीरले ताप खप्न सकेसम्म सौना कोठामा बस्न सकिन्छ। सौना कोठामा धेरै बेर बसिरहनु भने हुँदैन। करिव १५ मिनेट बस्नु उचित हुन्छ।
फुक्ने र खुम्चने
बाहिर निस्कँदा भने चिसो पानीले नुहाइन्छ। र, आराम गरिन्छ। सौना कोठाभित्र तातो हुन्छ। चिसो पानीले नुहाउँदा छालाका मांसपेशी खुम्चन्छन्। सौना कोठामा बस्दा भने छालाका मांसपेशी फुक्छन्। छालाका मांसपेशी खुम्चने र फुक्ने प्रक्रियाका कारण छालामा भएका विकार तत्त्व बाहिर जान्छ, जसले गर्दा छालासम्बन्धी रोग लाग्न पाउँदैन। छालामा आवश्यक पोषण तत्त्व पुग्छ, जसले गर्दा छाला स्वस्थ हुन्छ। छाला स्वस्थ भएपछि छालामा चमकता आउने नै भयो। छालामा चमकता आउँदा छाला सुन्दर देखिने भएकाले व्यक्तिको सुन्दरतामा सौना लाभदायक हुन्छ।
रोग भगाउने सौना
त्यति मात्रै हैन, नियमित सौना गर्नाले हाडजोर्नी लचिलो तथा मजबुत हुन्छन्। सौना गर्नाले हाडजोर्नी दुख्ने, पीडा हुने, ढाड दुख्ने, टाउको दुख्ने, माइग्रेन जस्ता समस्या कम गर्न मद्दत मिल्छ। त्यसैगरी रुघा–खोकी लाग्ने, एलर्जी हुने जस्ता समस्याबाट बच्न सकिन्छ। चिसोबाट निम्तने समस्याबाट बच्न सकिन्छ।
सौना गर्नाले पसिना आउने भएकाले मोटापना भएका व्यक्तिलाई ज्यान फिट राख्न मद्दत मिल्छ। मोटोपना त कम हुन्छ नै। स्लिम व्यक्तिले पनि सौना गर्दा पसिनाका माध्यमबाट विकार तत्त्व बाहिर जाने भएकाले विभिन्न रोगको संक्रमणको जोखिम कम हुन्छ, जसले व्यक्ति हष्टपुष्ट रहन मद्दत मिल्छ।
नियमित सन्तुलितरूपमा सौना गर्नाले खुसीका मस्तिस्क रसायन सक्रिय हुन्छन्, जसले तनाव त कम हुन्छ नै। व्यक्ति मानसिकरूपमा पनि खुसी र सक्रिय रहन मद्दत मिल्छ।
त्यसैले विशेषगरी जाडो मौसममा वयस्क व्यक्तिले महिनामा तीन पटकसम्म सौना गर्नु उचित हुन्छ।
एक पटक सौना लिँदा करिव एक घण्टाको समय लाग्छ। सौना गरिसकेर सौना कोठाबाट बाहिरिएपछि मनतातो पानीले नुहाएर लुगा लगाउनुपर्छ। त्यसपछि घर फर्किन सकिन्छ।
सौना गरिसकेपछि भने अनुहार लगायतका देखिने छाला सुख्खा हुन सक्छ। यसरी सुख्खा हुन नदिनका लागि प्राकृतिक वनस्पति तथा जडीबुटीको तेल लगाउनु उचित हुन्छ। ओलिभ ओयल, आल्मण्ड ओयल जस्ता तेल लगाउन सकिन्छ।
सन्तुलित खानपान
सौना गर्नुभन्दा करिव दुई घण्टाअघि र दुई घण्टा पछिसम्म खानपान नगरेकै राम्रो। सौना गर्ने क्रममा भने पानीमा कागती र नुन घोलेर पिउनु उचित हुन्छ। सौना गर्दा शरीरमा पसिनाको माध्यमबाट पानीबाहिर जाने भएकाले शरीर सुख्खा हुन नदिनका लागि यसरी पानीमा कागती र नुन घोलेर पिउनु उचित हुन्छ।
त्यसैगरी ज्यान फिट राख्नका लागि हरियो सागपात, फलफूल र सन्तुलित खानपानमा ध्यान दिन आवश्यक हुन्छ।
(उकेराकर्मी उपेन्द्र खड्काले डा. सुनुवारसँग गरेको कुराकानीमा आधारित)
२०७७ पुष ०४ गते ७:३० मा प्रकाशित