एट्लेटिकोको अपराजित यात्रा टुंगियो   

एट्लेटिकोको अपराजित यात्रा टुंगियो   
तस्बिर : इनसाइडस्पोर्ट्स।

काठमाडौं : स्पानिस ला लिगाअन्तर्गत रियल मड्रिडले एट्लेटिको मड्रिडलाई २–० ले पराजित गरेको छ। हारपछि एट्लेटिकोको यस सिजनमा अपराजित यात्रासमेत टुंगिएको छ। 

आइतबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा रियलले खेलको १५ मिनेटमा कासेमिरोको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि पहिलो हापसम्म थप गोल हुन सकेन। पहिलो हापसम्म १–० को अग्रता लिएको रियलले दोस्रो हापमा भने १ गोल उपहार पायो। 

खेलको ६३ औं मिनेटमा रियलका डानी कर्भाजलले गरेको प्रहार पोस्टमा लाग्दै एट्लेटिकोका गोलकिपर जान अब्लाकको ढाडमा लागेर गोल भएको थियो। 

जितपछि रियलको १२ खेलबाट २३ अंक भएको छ। ऊ अंकतालिकाको तेस्रो स्थानमा कायम छ। 

जारी सिजनमा पहिलो हार व्यहोरेको एट्लेटिको भने हारपछि पनि अंकतालिकामा शीर्ष स्थानमा कायमै छ। उसले जारी सिजनका ११ खेलबाट २६ अंक जोडेको छ। उसले जारी सिजनमा ८ खेलमा जित, २ मा बराबरी र १ मा पराजय भोगेको छ। 

अंकतालिकामा दोस्रो स्थानमा रहेको सोसिडाडको एट्लेटिकोभन्दा १ अंक मात्रै कम छ। तर, सोसिडाडले एट्लेटिकोभन्दा १ खेल बढी खेलेको छ। 

२८ मंसिर, २०७७, ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।