एसिड प्रहार र बिक्री गर्नेविरुद्ध मुद्दा दार्ता

एसिड प्रहार र बिक्री गर्नेविरुद्ध मुद्दा दार्ता

बुधबार बेलुका सरकारी वकिल कार्यालय जनकपुरले जिल्ला अदालत धनुषामा एसिड प्रहार गर्ने जनकपुरधाम उप–महानगरपालिका–२० का सञ्जिव साह र एसिड विक्री गर्ने नागेन्द्र साहमाथि मुद्दा दार्ता गराएको हो । 

कार्तिक २९ गते जनकपुरधाम उपमहानगरपालिका–७ माइतमा बस्दै आएकी २१ वर्षीया आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गरेका थिए। 

सोही दिन साहलाई प्रहरीले पक्राउ गरेको थियो। साहमाथि अनुसन्धान गर्दा बयानमा निखिल स्टोरबाट ८० रुपैयाँमा एक बोतल एसिड खरिद गरेको बयान प्रहरी समक्ष दिएका थिए। 

लगत्तै प्रहरीले निखिल स्टोरमा छापा मारेर ५८ बोटल एसिड बराद गर्नुका साथै संचालक नागेन्द्र साहलाई समेत नियन्त्रणमा लिएको छ। अहिले दुवैजना प्रहरी हिरासतमा छन्।

एसिड प्रहार गर्ने सञ्जिव र एसिड उपलब्ध गराएर मतियारको काम गर्ने नागेन्द्रमाथि अंगभंग र कुरुप बनाएको शिर्षकमा अदालतमा अभियोगपत्र दायर गरिएको न्यायधिवक्ता सिताराम अर्यालले जानकारी दिए। 

उनले कानुन बमोजिम उपचार खर्च र क्षतिपूर्तीसमेत उपलब्ध गराउनुपर्ने माग दाबी गरेको बताए।

उनका अनुसार एसिड प्रहार गरी अंगभग गरेको अभियोगमा ५ वर्ष, कुरुप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी कुल १५ वर्ष ६ महिना कैद दुवै जनामाथि हुनुनपर्ने माग दाबीसहितको अभियोपत्र दायर भएको छ।

‘आवरण पृष्ठभूमी हेर्दा सञ्जिव र उनका श्रीमतीबीच एकवर्षदेखि विमेलको अवस्था देखिन्छ’, उनले भने, ‘श्रीमती र श्रीमान फरक फरक ठाउँमा बसेको देखिन्छ।

विवाद बढ्दै जाँदा सञ्जिवले पूर्वाग्रही अर्थात रिसिइबीले एसिड प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।’ 

एसिड प्रहारको घटना बढेपछि सरकारले ०७७ असोज १२ गते अध्यादेश जारी भएको अवस्था छ। अध्यादेश आइसकेपछि जनकपुरधाममा भएको एसिड घटना पहिलो हो। 

आरती अस्पतालमै

आरती घरको ढोकामा उभिरहेको बेलामा श्रीमान सञ्जिवले दाहिने अनुहारमा पर्नेगरी एसिड प्रहार गरेका थिए। एसिडले आरतीको स्तन, घाँटी, छातीलगायतका भाग जलेको छ। 

अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनको दाहिने आँखाको ज्योती नै गुमेको छ। उनको अनुहारको दाहिने भागको छाला प्रत्यारोपण गरिएको छ। 

छोरीको पनि जीवनभर नमिटिने गरी हातमा खत रहने जानकारी चिकित्सकबाट पाएको न्यायधिवक्ता अर्यालको भनाई छ।

२५ मंसिर, २०७७, १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।