विद्युतीय सवारी सञ्‍चालनका लागि रुट तय

विद्युतीय सवारी सञ्‍चालनका लागि रुट तय

मकवानपुर  : प्रदेशका मुख्य सहरहरुमा विद्युतीय सवारी साधान सञ्चालनका लागि वाग्मती प्रदेश सरकारले रुट तय गरेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षभित्रमा निजी क्षेत्रसँगको सहकार्यमा मुख्य सहरहरुमा विद्युतीय सवारी सञ्चालनका लागि रुट तय गरेको हो।

मन्त्रालयका अनुसार प्रदेशको मुख्य सहरहरु काठमाडौं उपत्यका, हेटौंडा, भरतपुर, सिन्धुलीमाडी, विदुर, धुलिखेल र धादिङबेंसीमा पहिलो चरणमा विद्युतीय सवारी सञ्चालनका लागि रुट तयार भइसकेको छ।

‘हामीले तय गरेको रुटमा निजी क्षेत्रले पनि विद्युतीय सवारी साधान सञ्चालन गर्न सक्छन्। त्यसको लागि हामीले निजी क्षेत्रलाई आव्हानसमेत गरिसकेका छौं’, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले भने। उनका अनुसार प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा विद्युतीय सवारी सञ्चालन गरिने भएको हो।

प्रदेश सरकारको मात्र लगानीमा भने पहिलो चरणमा धुलिखेलबाट बनेपा, काठमाडौं, धादिङ, चितवन, हेटौंडा, सिन्धुली हुँदै धुलिखेलका रुटमा विद्युतीय बस सञ्चालन गरिने उनले बताए।

प्रदेश सरकारले स्वायत्त निकाय स्थापना गरेर प्रदेश राजधानी हेटौंडाबाट धुलिखेलसम्म विद्युतीय बस सञ्चालन गर्ने तयारी अगाडि बढाएको थियो।

२०७७ भित्र प्रदेशमा पहिलो चरणमा विद्युतीय बस सञ्चालन गर्न प्रदेश सरकारले प्रदेश सांसद दीपक निरौलाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विद्युतीय सवारीसाधन सरसफाई सामग्री खरिद सहजीकरण समिति बनाएर काम अगाडि बढाएको थियो।

मन्त्री फुयाँलका अनुसार चार्जिङ स्टेसन निर्माणका लागि १ सय १९ स्थानीय तहलाई सूचना आह्वान गरिसकिएको छ ।
भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, कागेश्वरी मनोहरा र शंकरापुर नगरपालिका, गल्छी गाउँपालिकालगायत आठ स्थानीय तहले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने आशय पत्र मन्त्रालयमा पठाइसकेका छन्।

चार्जिङ स्टेसनको निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले संयुक्त रुपमा गृहकार्य गरिरहेका छन्।

मन्त्री फुयाँलले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशक पदपूर्तिका लागि सूचना प्रकाशन भइसकेको जानकारी दिए।

२३ मंसिर, २०७७, १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।