उकेरा फिचर

गाईपालनमा रमाउँदै दिपेन्द्र

बिमला खड्का 


सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतको लाटिकोइलीका दिपेन्द्र कार्की विहान उठेदेखि बेलुकासम्म गाईको हेरविचारमा व्यस्त हुन्छन्। उनको दिनचर्या करिब १२ वर्षदेखि यसरी नै वित्दै आइरहेको छ।  
 

उनले २०६४ सालमा चितवनमा सिभिल इन्जिनियर पढ्न गएको बेला त्यहाँको कृषि क्रान्तिलाई राम्रोसँग नियाल्ने अवसर पाए। 

२०६५ सालबाट सुर्खेतमा आफुले पनि गाई पाल्ने योजना बनाए र सुरुमा तीन वटा गाई ल्याएर उनले गाईपालन व्यवसायको सुरुवात गरे।

उनी भन्छन् ‘२०६५ सालमा चितवनबाट ३ वटा माउ गाई ल्याए र भैरहवाबाट ४ वटा माउ गाई ल्याएर गोठ निर्माणदेखि गाईसम्म १० लाख लगानी गरेर गाईपालनको सुरुवात गरेँ।’अहिले उनको गाई फार्ममा साना, ठुला गरेर ३२ वटा लोकल गाई छन्। उनले भने ‘दुधको लागि बजारमा समस्या छैन दैनिक एक सय लिटर दुध बिक्री हुन्छ।’ उनले भने ‘दूध जति उत्पादन गरे पनि बजारको समस्या छैन सहजै स्थानीय बजारमा खपत हुन्छ।’ 

उनका अनुसार एक लिटरलाई ६० रूपैयाँले बिक्री हुन्छ। स्थानीय डेरीमै दुध दिन्छन्। ‘पहिले होटल–होटलमा दुध बिक्री गर्न जानुपथ्र्यो उनले भने, अहिले उत्पादन बढेपछि डेरीमा दिन्छौं। आम्दानी राम्रो भइरहेको छ।’ 

कृषिमा नै जम्नुपर्छ भन्ने उद्देश्यका साथ उनी गाईपालन व्यवसायतिर लागे। उनले भने ‘आमाबुवाले कृषि गरेको देखेर सानैदेखि मेरो रुचि यसैमा थियो, त्यही भएर पनि मैले व्यवसायिक रूपमा गाईपालन गर्न थाले।’

उनका अनुसार सुरुवाती चरणमा काम गर्न निकै गाह्रो भएपनि काम गर्दैजादाँ अहिले सहज भएको छ। ‘सुरुवाती चरणमा गाह्रो भयो गाईलाई फोहोरमा राख्दा रोग लाग्ने कारणदेखि लिएर गाई व्याउनेक्रममा प्रजननका कुराहरु सम्बन्धि खासै जानकारी नहुँदा धेरै समस्या पनि आए तर अहिले केही रोग लागेपनि आफैँले उपचार गर्ने गरेको छु। उनले भने,‘अहिले धेरै तालिम लिएर काम गरेको हुँदा पनि सहज भएको छ।’

यही अवधिमा दिपेन्द्रले सानाकिसान सहकारीमार्फत इजरायल जाने अवसर पाए। उनी २०१५ मा इजरायल गएर एक वर्ष बसे। कृषि क्रान्तिले फड्कोमारेको देशका बारेमा बुझ्ने अवसर पाए। त्यहाँ कृषि फर्म अवलोकन गरे। उनी भन्छन्, ‘हामीले गोठ राम्रोसँग व्यवस्थापन मात्र गर्न सक्यौं भने पनि धेरै राम्रो हुन्छ। मैले इजरायलबाट पनि धेरै नयाँ कुरा सिक्ने अवसर पाएँ।’ 

उनलाई गाइपालनका लागि खासै समस्या छैन। उनले आफैले घाँस खेती गर्छन्। गाईको लागि फार्म वरपर नेपिएर, मोलाटो, स्टाइलोलगायतका घाँस रोपिएका छन्। झण्डै एक विगाहा जग्गामा गाईका लागि घाँस खेती गरिएको छ। जसले खर्च व्यवस्थापनलाई कम गराइदिएको छ। 

तरकारी खेती

गाईपालन व्यवसायसंगसंगै दिपेन्द्रले २२ कठ्ठा जमिनमा तरकारी खेतीसमेत गर्दै आएका छन्। विगत ४ वर्षदेखि ९ लाख लगानीमा तरकारी खेती गर्र्दै आईरहेको कार्की बताउँछन्। 

घरपरिवारको पुरै सहयोग पाएका दिपेन्द्रले गाईपालनसंगै तरकारी खेती पनि गर्दै आईरहेका हुन्। सम्म परेको फाँटमा कांक्रा, बोडी, बन्दा लगायत तरकारी फलाएका छन्। टनेल (प्लास्टिकको घर) भित्र टमाटर लगाएका छन्।

उनले उत्पादन गरेको तरकारीमा गाईको मल हाल्ने गरेका छन्। उनले छोटो समयमै तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने भएकाले तरकारी खेतीलाई थप विस्तार गर्दैलैजाने योजनासमेत रहेको सुनाए। उनले मौसमी, बेमौसमी तरकारी लगाउँदै आएका छन्। 

गडेउली मल उत्पादन

गाईपालन, तरकारी खेतीसंगै कार्कीले गडेउली मलको उत्पादन गर्दै आएका छन्। सुरुमा चितवनबाट ८० किलो गडेउला ल्याएर कार्कीले अहिले गडेउली मलसमेत उत्पादन गर्ने गरेका छन्। अहिले उनले गडेउली मल उत्पादन गर्नकालागि गडेउला पाल्दै आएका छन्। 

जुन मल प्रतिकिलो २१ रूपैयाँका दरले बिक्री हुन्छ। उनले भने ‘मलको माग धेरै नै छ। मैले माग अनुसार पुगाउन सकेको छैन।’ गडेउली मल विशेषगरी कौशी खेती, करेसाबारी, टनेलभित्र गरिने खेतीको लागि राम्रो रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

हेमराज

धेरै राम्रो आफ्नो बुबा ले समाल्दै आएको पेसा लाई निरन्तर राखेको मा एक दम खुसी लाग्यो अझै प्रगति को कामना, दीपेन्द्र भाई लाई,


सम्बन्धित समाचार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

ड्रेस सेन्स फैलाउने धाख्वा

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने....

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....