उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने दुई संस्थालाई कारबाही

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने दुई संस्थालाई कारबाही

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार सूचना सार्वजनिक गर्दै २०७५ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेको प्रतिवेदन सरकारको स्वीकृतिबिना लोगो प्रयोग गरी सार्वजनिक गरेको जनाउँदै कारबाही गर्ने जनाएको छ। 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र एनसिई नेपालको सदस्य संस्था ग्लोबल एक्सन नेपाल नामक गैरसरकारी संस्थाद्वारा सरकारको निसान छाप प्रयोग गरी मन्त्रालयको नामबाट प्रकाशित गरिएको प्रतिवेदन र यसलाई सार्वजनिक गरेको भन्ने समाचारप्रति मन्त्रालयले आपत्ति जनाउँदै कारबाही प्रक्रिया अघि बढाएको हो।  

‘मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अनधिकृत रूपमा उल्लेखित गैरसरकारी संस्थाहरूले मन्त्रालयको नाम र नेपाल सरकारको निसान छाप प्रयोग गर्नुका साथै नेपाल सरकारमा रहेको प्रतिलिपि अधिकारको समेत उल्लंघन गरेको देखिएको हुँदा यस विषयमा प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको छ,’ सहसचिव दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्नमा संलग्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालसँग शिक्षाका क्षेत्रमा मन्त्रालय अन्र्तगतका निकायले गर्दै आएको सहकार्य मंसिर २१ गतेको निर्णय अनुसार विच्छेदन गरिएको समेत उल्लेख गरेको छ। 

मन्त्रालयले यस प्रकारका अनधिकृत कार्य गर्ने संस्था वा निकायसँग मन्त्रालय र अन्र्तगतका निकायबाट शैक्षिक कार्य गर्न/गराउन कुनै पनि सिफारिस नहुने व्यहोरा समेत शिक्षामा संलग्न विकासका साझेदार लगायत सबैलाई जानकारी समेत गराएको छ।   
 

२२ मंसिर, २०७७, १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।