फोकर उडाउने अधुरो धोको

फोकर उडाउने अधुरो धोको

शाही नेपाल वायुसेवा निगमसँग त्यतिबेला डकोटा र फोकर फ्रेन्डसिप एफ २७ जहाज थिए। हामीलाई त रावलपिण्डी (हाल पाकिस्तानको राजधानी इस्लामावाद)मा फोकर फ्रेन्डसिप एफ २७ जहाज उडानको अभ्यास गराइएको थियो। पाकिस्तानको हवाई विभागले हामीलाई उक्त जहाज उडाउन पाउने लाइसेन्स पनि दिएको थियो।

हामीले के पायौं भने नेपालमा डकोटा जहाजमा क्याप्टेन भइसकेका हामीभन्दा वरिष्ठ पाइलटहरूले फोकर फ्रेन्डसिप एफ २७ जहाजमा भने को–पाइलट भएर उडाइरहेका रहेछन्। हामीले उक्त जहाज उडाउन पाऊभन्दा एकाध वरिष्ठ पाइलटहरूले आपत्ति जनाउँदै भने छन्, ‘हामी डकोटा उडाउने वरिष्ठ पाइलटहरू पनि त्यही सिटमा बस्ने, भर्खर पढेर आएका पाइलटहरू पनि त्यही सिटमा बस्ने। यस्तो कदापि हुन सक्दैन।’ 

वरिष्ठ भनाउँदाहरूले हामीलाई दायाँ सिटमा बसेर उड्नै दिएनन्। केही उपाय नलागेपछि हामी पछाडिको जम्प सिटमा बसेर उनीहरूले जहाज उडाएको अवलोकन मात्र गर्न थाल्यौं। जहाज उडाउन नपाउने, खाली उनीहरूले उडाएको हेरिरहने। केही महिना हामीले पालैपालो जम्प सिटमै बसेर बितायौं। कहिले पटना जान्थ्यौं, कहिले दिल्ली। एफ २७ जहाज उडाउने हाम्रो कत्रो धोको थियो। हामीसँग त्यसको लाइसेन्स पनि थियो। तर, एक दिन एउटा यस्तो अकल्पनीय घटना भयो एफ २७ जहाज उडाउने हाम्रो सपना अधुरै रह्यो। नेपालको एफ २७ जहाज दिल्लीमा अवतरण गर्दै गर्दा क्र्यास भयो। 

सो जहाज दुर्घटनामा क्याप्टेन बालसाराको देहान्त भयो। चालक दलका अन्य सदस्य र यात्रु बाँचे पनि जहाज पूरै ध्वस्त भयो। भारतीय नागरिक वरिष्ठ क्याप्टेन बोलसारा बडा असल मान्छे, आफूभन्दा जुनियर पाइलटलाई असाध्यै माया गर्नुहुन्थ्यो। नियुक्ति नपाएको बेलामा जब हामी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यालयमा जान्थ्यौं, बुलसारा हामीप्रति सहानुभूति दर्साउनुहुन्थ्यो। कहाँसम्म भने अन्य पाइलटहरूको तलबबाट काटेर भए पनि केही रकम हामीलाई दिनेसम्मको सदाशयता राख्नुहुन्थ्यो। उहाँ सबैलाई ‘राजा’ भनेर बोलाउनुहुन्थ्यो। यसरी राजा भन्नुको पनि विशेष कारण थियो । त्योबेला मुलुकको शासनसत्ताको केन्द्रमा राजा महेन्द्र थिए। शाह र राणा खलकका उच्च ओहोदाका मानिसहरूलाई पनि राजा साहब भन्ने गरिन्थ्यो। क्याप्टेन बुलसाराले सम्भवतः यस खालको परिपाटीप्रति घुमाउरो व्यंग्य गर्न र निम्न तहका मानिसको आत्मसम्मान बढाउनकै लागि सबैलाई ‘राजा’ भनिदिनुहुन्थ्यो। एयरपोर्टका लोडरदेखि कुचो बढार्नेसम्मलाई ‘के छ राजा’ भन्नुहुन्थ्यो। 

मलाई सम्झना छ, त्यो दिन पहिलो पटक त्रिभुवन विमानस्थलमा एभ्रो विमान हकर सिडली एचएस ७४८ अवतरण गरेको थियो। त्यसै दिन क्याप्टेन बुलसाराको नेतृत्वमा एफ २७ जहाज काठमाडौंबाट दिल्लीको लागि उड्यो। सो जहाजमा क्याप्टेन बुलसारा बायाँ सिटमा, अर्का क्याप्टेन अनन्तशम्शेर जबरा को–पाइलट बस्ने दायाँ सिटमा र पाकिस्तानमा हामीसँगै पढेको साथी मानबहादुर गुरुङ जम्प सिटमा बस्नुभएको थियो।

केही बेर उडेपछि क्याप्टेन बोलसाराले अनन्तशम्शेर जबरालाई आफू बसिरहेको बायाँ सिटमा राख्नुभएछ। बायाँ सिट भनेको मुख्य पाइलट बस्ने ठाउँ, जहाँबाट जहाज उडाउने मुख्य काम हुन्छ। यसैगरी अब्जर्भर (जम्प सिट)मा बसिरहेका मानबहादुर गुरुङलाई को–पाइलटको सिटमा राख्नुभएछ। क्याप्टेन बोलसारा आफूचाहिँ ककपिटबाट बाहिरको सिटमा बस्नुभएछ।

नयाँ पाइलटहरूलाई जहाज उडाउन दिने उहाँको त्यो सदाशयता र स्नेह अन्ततः दुःखद बन्न पुग्यो। त्यो दिन दिल्लीको मौसम एकदम खराब रहेछ। जहाज आकाशबाट निकै तल आइसकेको थियो। तर, अवतरण हुने छाँटकाँट नदेखेपछि बोलसाराको मनमा चिसो पस्यो। अनि उहाँ दौडदै ककपिटभित्र छिर्नुभयो। अवस्था हेरेपछि उहाँ आत्तिनुभयो। ‘इट्स् टु लेट,’ बालसारा चिच्याउनुभयो। हेर्दाहेर्दै जहाज जमिनमा जोतियो र दुर्घटना भयो। क्याप्टेन बोलसारा सिटबाट उठेको अवस्थामा हुनुहुन्थ्यो, जसले गर्दा जहाज बेस्सरी बजारिँदा टाउकोमा ठोक्किएर उहाँको तत्काल निधन भयो। चालक दलका अन्य सदस्य र यात्रु जिवित रहे। बायाँ सिटमा बसेका क्याप्टेन अनन्तशम्शेर राणालाई पनि खासै चोट लागेन। हो, दायाँ सिटमा बस्नुभएका मानबहादुर गुरुङका भने हात र गोडा भाँचिए। उहाँको शरीरका अन्य धेरै ठाउँमा फ्याक्चर भएको थियो।

मानबहादुरजीले दिल्लीमा ६ महिना बसेर उपचार गराउनुभयो र मेडिकल्ली फिट भएर पुनः जहाज उडाउने काममा फर्कनुभयो। उहाँ हाल सेवा निवृत्त भइसक्नुभएको छ। संयोग पनि कस्तो, एकै दिन नेपालको फोकर फ्रेन्डसिप एफ २७ जहाज दिल्लीमा ध्वस्त भयो, काठमाडौंमा एभ्रो विमान हकर सिडली एचएस ७४८ प्रवेश भयो। एफ २७ जहाज उडाउने मेरो धोको अधूरै रह्यो। मैले लिएको लाइसेन्स काम लागेन।

(सेवा निवृत्त क्याप्टेन दघिराम निरौलाको हालै प्रकाशित ‘आकाश यात्रा’ पुस्तकबाट साभार।)

२० मंसिर, २०७७, १८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।