काठमाडौं : नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक अनियमितताको अभियोगमा निलम्नबमा परेका छन्।
उकेरा न्युज
प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतले अनियमितता गरेको उजुरीका आधारमा उनीहरु निलम्बनमा परेका हुन्।
यस्तै प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसिया पनि निलम्नबनमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि निलम्बन गरेर छानबिन थालिएको बताए।
‘प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुग्ने किसिमको कार्य गरेको बुझिन आएको छ’ कुँवरले भने,‘प्रारम्भिक छानबीन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारीरदायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएकोले थप जाँचबुझ एवं छानबिन गर्न निलम्बन गरिएको हो।’
उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह सचिवस्तरको निर्णयले बढीमा ६ महिनाको लागि निलम्बन गरेको बुझिएको छ।
यादब महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत छन् भने बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।
यस्तै प्रहरी निरीक्षक चौरसिया ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत छन्।
यादव यसअघि सिन्धुलीमा कार्यरत रहँदा पनि सर्वेन्द्र खनाल नेतृत्वमा रहेका वेला प्रहरी मुख्यालयले छानविन गरेको थियो।
एसपी बस्नेत राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी प्रहरीमा प्रवेश गरेका अधिकृत हुन्।
ट्र्राफिकमा रहँदा उनीहरुले मातहतका इकाइबाट मासिकरुपमा असुली गरेको उजुरी परेको बुझिएको छ।
प्रहरी प्रधान कार्यालयले छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति गठन गरेको छ। रञ्जितकार प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा कार्यरत छन् ।
२०७७ मंसिर १७ गते १३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।