तरकारीमा आत्मनिर्भर अभियान  

तरकारीमा आत्मनिर्भर अभियान  
जीवन विकास समाजको कटहरीस्थित कार्यालयको माथिल्लो तलाको बरण्डामा लगाइएको तरकारी तथा रोप्नका लागि तयार भएका विभिन्न जातका तरकारीका बेर्नाहरू हेर्दै संस्थाका कर्मचारी।

संस्थाले कौसी र बगैंचामा फूलसँगै तरकारी लगाएर तरकारीमा आत्मनिर्भर बनाउने अभियान सञ्चालनमा ल्याउने तयारी गरेको हो।संस्थाले नमुनाका रूपमा मोरङ, कटहरीस्थित आफ्नै कार्यालय भवनको माथिल्लो तलामा समेत विभिन्न प्रकारका तरकारी लगाएको छ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत योगेन्द्र मण्डलले तरकारीमा प्रदेश र समग्र देशलाई नै आत्मनिर्भर बनाउने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिए। उनका अनुसार तरकारीमा आत्मनिर्भर अभियान सञ्चालनमा ल्याउन प्रदेश सरकार र अन्य साझेदार संस्थाहरूसँग पनि सहकार्यको पहल भइरहेको छ। विगतमा कौसी खेतीको अनुभव गरिसकेको भए पनि यो खेती छिटफुटरूपमा मात्रै गर्ने गरिएको उनले बताए।

केही व्यक्तिहरूले मात्रै कौशी खेति गरेर तरकारीमा आत्मनिर्भर हुन सकिने अवस्था नभएकाले सम्पूर्ण देशभर नै अभियानकै रूपमा तरकारी खेतीलाई अघि बढाउनु आवश्यक रहेको मण्डलको भनाइ छ। उनले भने, ‘भारतबाट वार्षिक अर्बौं रूपैयाँको तरकारी आयात गर्नुपर्ने अवस्थाबाट मुक्त हुन सबैले घर आँगनमा तरकारी खेती गर्नु आवश्यक छ।’ 

मण्डलले राष्ट्रिय अभियानकै रूपमा सरकारसँग साझेदारी गरेर अघि बढ्ने योजना सुनाए। तरकारी र खाद्यान्नमा आत्मनिर्भर बन्ने अभियानका लागि प्रदेश सरकारसँग  साझेदारीको प्रस्तावसमेत आफूले राखिसकेको मण्डलले बताए। उनले झोला लिएर तरकारी किन्न बजार चहार्नेभन्दा घर–आँगनमै टिपेर खाने बानीको विकास गर्न सबैलाई प्रेरित पार्ने गरी अभियान सञ्चालन गरिने जानकारी दिए।

आत्मनिर्भर अभियानलाई सफल बनाउन कौसी, बगैंचामा तरकारी लगाउने सन्देश मात्रै नदिइ तरकारी फल्दै गरेको बिरुवा नै घरमा पुर्याउने योजना कार्यान्वयन गर्न लागिएको मण्डलले बताए। उनका अनुसार समाजले तरकारीको नर्सरी बनाउने बेर्ना हुर्काउने र फल्न थालेपछि घरमै पुर्याउने तयारी गरिरहेको छ, जसका लागि तरकारी चाहिनेले फोन गरेपछि घरमै बिरुवा पुर्याउने आफूहरूको योजना रहेको उनको भनाइ छ। 

उनले भने, ‘अब, विदेशबाट आयात गरेको तरकारी किनेर हैन, फल्दै गरेको तरकारीको बोट किनेर घरमै टिपेर खाने व्यवस्था गर्दैछौं।’

तरकारी लगाउन पर्याप्त समय नहुने र थोरै जग्गा हुने परिवारका लागि फल्दै गरेको बोट नै लगेर घरमा राखिदिने व्यवस्था गर्न कर्मचारी र गाडीको समेत प्रबन्ध गर्ने समाजको तयारी छ। घरको आँगन र फूलबारीमा तरकारी लगाउन जाँगर हुने र समय दिन सक्नेलाई तरकारी खेतीको ज्ञान र बेर्ना उपलब्ध गराउन मोरङको कटहरीमा नर्सरीको समेत व्यवस्था गरिएको छ।

यस्तै, पुराना कपडाबाट तरकारी रोप्नका लागि  गमला बनाउने कामको पनि थालनी भइसकेको मण्डलले बताए। तरकारी खेतीमा प्रयोग गरिने गमला माटो, प्लास्टिक र सिमेन्टको नभइ पुराना कपडाबाट तयार पार्ने समाजको योजना छ।

अभियान सुरु भएपछि देशैभर धेरै रोजगारी सृजना हुने र तरकारी तथा मसलादार खाद्यवस्तुहरू लसुन, प्याज, अदुवा लगायतको उत्पादन पनि धेरै बढ्ने मण्डलको दाबी छ। 

१४ मंसिर, २०७७, १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।