कल्पनाशिलतालाई प्रोत्साहित गर्दै उकेराले ल्याएको छ चित्रकथा प्रतियोगिता । जस अन्तर्गत यहाँ प्रस्तुत गरिएको चित्रलाई आधार मानेर कथा रचना गरेर पठाउनुभई प्रतियोगितामा सहभागी हुन सकिने छ । प्रस्तुत कथा चित्रकथा प्रतियोगिता- ३ को विजयी कथा हो।
उकेरा जुनियर
योगदान
चित्रकथा प्रतियोगिता- ३, विजयी कथा

अरुण आज आफ्नो कक्षाको त्रैमासिक परिक्षामा प्रथम भएछ भन्नेकुरो उनीहरुले पनि थाहा पाएछन् । को उनीहरु भनेर सोंच्नुहोला तपाईंहरुले फेरी, उनीहरु भनेका किताब, घडी, कलम, चश्मा इत्यादी । हो अरुणको पढ्नेकोठाका सामानहरु । अरुण भने अझै स्कूलबाट फर्केको थिएन । हुन त्यहाँ भएका सामानहरु सबै खुशी नै थिए तर कहिलेकाँही खुशी हुँदाहुँदै खुशीसँग घमण्ड पनि आउँदोरहेछ क्यारे, त्यसैले किताब अघि सरेर भनिहाल्यो ।
-जे होस् मलाई पढ्नाले नै अरुण प्रथम भयो ।
यो कुरा घडीलाई कसरी पच्थ्यो र ? उस्ले बेला न कुबेला अलार्म बजाउँदै उफ्रिँदै किताबको अगाडी आउँदै कुर्लियो ,
-मैले समयमा बिहानै नउठाईदिएको भए अरुणले कसरी तिमीलाई पढ्न पाउँथ्यो किताब दाई ? भन्न थाल्यो ।
पेन्सिललाई खासमा दुबैको कुरा मन परेन । उ दुबैलाई झपार्न खोज्दै अघिसर्यो अनि
-तिमीहरुले जति आफुलाई ठूलो ठानेपनि मेरो सहयोगमा उत्तरपुस्तिकामा उत्तर लेख्नाले नै अरुण प्रथम भएको हो ।
अब पेन्सिलको कुरा पनि गलत त थिएन , त्यसैले किताब र घडीलाई पनि धेरै प्रतिबाद गर्न मन लागेन अनि चुप्प लागे ।
यत्तिकैमा अलिक परबाट मैनबत्ति पनि सकि नसकी बलेर त्यहाँ आईपुगिन् । यस्तो उज्यालोमा पनि मैनबत्ति बलेको देखेर त्यहाँ सबैले अचम्म माने ।
-के हो मैनबत्ती आमै बेला न कुबेला बलेर किन सकिन थाल्नुभो मैनबत्ति आमै । मैले साँझपरेको समय देखाएपछि बल्नु नि बरु ।
घडीले सकिनसकि दिउसोको बेलामा पनि बलिरहेकी मैनबत्तीलाई अलिकति व्यंग्य हान्दै उडाउँन खोज्यो ।
-उडाउ उडाउ । तिमीहरु एक आपसमा आफुले गर्दा मात्र अरुण प्रथम भएको भनेर झगडा गरेको देखेर मेरो निद्रा खुल्यो अनि सम्झाउँन आएकी नि ।
मैनबत्तीले फेरि थपिन् ,
-तिमीहरुलाई सम्झाउन मात्र हैन मेरो पनि भूमिका छ भन्न पनि आएकी हुँ । अरुणको परिक्षा ताका कम्ती लोडशेडिंग हुन्थ्यो ? त्यो बेलामा पढ्नको लागि को चाहिन्थ्यो ? म हैन ?
यत्तिकैमा कोठामा कोही आएकोजस्तो आवाज आयो । सबैजना चुप लागे । वास्तवमा त्यहाँ अरुण आएको थियो । उसको हातमा दुध राखेको मग थियो । उसले त्यहाँ आएर कप र आफुले लगाएको चश्मा टेबलमा राख्यो र के सम्झेर हो कुन्नि फेरी बाहिरतिर लाग्यो ।
उनीहरुको गफमा अचानक मग र चश्माको आगमन भएको त्यहाँ कसैलाई मन परेन । तर मगले यो कुराको महशुस गरिहाल्यो । उसले त्यहाँको बातावरणलाई अलिक रमाईलो पार्न अघिसर्दै भन्न थाल्यो ,
-हेर न हाम्रो अरुण कक्षामा प्रथम आएछ । तिमीहरु खुशी छैनौं ?
-खुशी छौं किन नहुने ?
किताबले उत्तर त दियो तर बोलीमा खुशी भने थिएन ।
-मलाई थाहा त तिमीहरुलाई खुशी लागे पनि तिमीहरु कस्को योगदान भन्दै एक आपसमा झगडा गरिरहेका थियौ ?
-तिमीले कसरी थाहा पायौ ? , पेन्सिलले आश्चर्य मान्दै सोध्यो ।
-म पनि त तिमीहरुको छिमेकमै बस्छु नि भान्साकोठामा । अनि अघिदेखि तिमीहरुको झगडा सुनिरकेको थिएँ । अरुण आएपछि मभित्र दुध राख्यो र खाँदै यहाँ ल्याएर राख्यो । के अरुणको सफलतामा मेरो योगदान छैन भनेर भन्न सक्छौ त तिमीहरु ?
मगले आफभित्र भएको दुधजस्तो गरि मिठोसँग सम्झाईरहेको थियो उनीहरुलाई ।
-हेर न अरुणको सफलतामा हामी सबैको योगदान छ । हेर त यो चश्मालाई , ...हो, उसको पनि योगदान छ । तर आफ्नो योगदान छ भन्दैमा हामीले अर्काको योगदान छैन भन्न मिल्दैन । अरुण प्रथम हुनको लागि हामीहरु त सहयोगी मात्र हौं । सबैभन्दा ठूलो भूमिका त उसको कडा मेहनतको छ ।
मगका कुरा साँच्चै मिठो थियो । त्यसैले सबैले आफ्नो घमण्डलाई बिर्सेर फेरी खुशि हुँदै एक आपसमा मिलेर बस्ने अठोट गरे ।
२०७७ मंसिर १३ गते १८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।