आँखा स्वस्थ राख्ने व्यायाम

आँखा स्वस्थ राख्ने व्यायाम
तस्बिर : फ्रेम्सवाइ डट कम।

आँखा स्वस्थ राख्न सरसफाइ, पोषण तथा व्यायामको अवश्य पनि आवश्यकता हुन्छ। आँखाको पनि व्यायाम हुन्छ र ? भन्ने प्रश्न उठ्न सक्छ। 

हो, आँखाको पनि व्यायाम हुन्छ, गर्न सकिन्छ। 

आँखाको व्यायाम गरी आँखाको ज्योति तथा दृष्टि स्वस्थ राख्न मद्दत मिल्छ। आँखा सफा गर्ने तथा व्यायामका केही प्राकृतिक विधि छन्, जुन विधि अपनाएर आँखा सफा गर्नु उचित हुन्छ। 

झिमझिम आँखा

आँखा सफा गर्ने प्राकृतिक विधिमध्ये एक हो, ‘पानीमा आँखा डुबाउने विधि।’ यो विधिमा सबैभन्दा पहिला एउटा निकै सानो कचौराजस्तै भाँडो तयार गरिन्छ, जुन ‘आइक्लिनिङ पट’ का नामले चिनिन्छ। भाँडो ठ्याक्क आँखामा मिल्ने किसिमको हुन्छ। 

भाँडोमा उम्लिएर सेलाएको पानी राखिन्छ। त्यसपछि पानी सहितको आइक्लिनिङ पट आँखामा राखिन्छ। हातले अड्याएर सो भाँडा आँखामा राखुञ्जेल आँखा झिम्क्याइन्छ। 

दुवैतर्फका आँखा करिव १/१ मिनेट यस्तो पट सहितको पानीमा झिम्क्याउनु उचित हुन्छ। तर, एउटा आँखा सफा गरिसकेपछि अर्को सफा गर्दा भने भाँडामा पानी फेर्नुपर्छ। यस्तो विधि अपनाइ पानीमा आँखा झिम्क्याउँदा आँखामा लागेका कचेरा तथा फोहोरहरू आँखाबाहिर निस्कन्छन्, जसले गर्दा आँखा सफा भइ स्वस्थ हुन्छ। आइक्लिनिङ पट छैन भने साना बाटा वा सफा भाँडामा आँखा डुबाएर पनि आँखा सफा गर्न सकिन्छ। 

आँखाको सरसफाइ तथा नियमित व्यायामले आँखा पोल्ने, दुख्ने, पाक्ने जस्ता समस्याबाट बच्न सकिन्छ।

पानीमा आँखा डुबाउने विधिपछि अब चर्चा गरौं आँखा सफा गर्ने स्टिम बाफबारे। 

आँसु झार्ने विद्युतीय बाफ

फेसियलस्टिम बाफ लिने विधि अपनाएर आँखा सफा गर्दा सबैभन्दा पहिले ‘फेसियल स्टिम पट’ तयार गर्नुपर्छ, जुन पट बजारमा पाउन सकिन्छ। यो पट विद्युतबाट चल्छ। त्यसैले यसलाई ‘फेसियल इलेक्ट्रिक पट’ का नामले समेत चिनिन्छ। 

पट तयार भइसकेपछि भाँडा (पट)मा पानी हालिन्छ। विद्युतमा जोडिन्छ। त्यसपछि आँखामा करिव एक मिनेट बाफ लिइन्छ। आँखामा बाफ लिँदा आँसु झर्छ। आँसुकै माध्यमबाट आँखामा भएका फोहोर तथा विकार तत्त्व बाहिर निस्कन्छ। आँखा सफा गर्ने यस्तो विधि अपनाउँदा आँखा सफा तथा स्वस्थ हुनुका साथै हेर्न सहज हुन्छ। त्यति मात्रै होइन, आँखामा आउने समस्याबाट बच्न सकिन्छ। तर, यस्तो बाफ सुरुमा लिँदा सम्बन्धित प्राकृतिक चिकित्सकको सुझाव लिन आवश्यक हुन्छ। 

चक्रीय व्यायाम

शारीरिक व्यायाम गर्दा स्वस्थ आँखाको पनि व्यायाम हुन्छ। व्यायामको लागि पूर्वतयारी गरेजस्तै करिव १५ मिनेट वामअप गर्नाले पनि आँखाको व्यायाम हुन्छ। वमअप गर्दा शरीर तात्छ। यसरी शरीर तातेपछि गोलोगरी चक्रिय आकारमा चारैतिर आँखा डुलाउँदै हेर्दा आँखाको व्यायाम हुन्छ। चक्रीय आकारमा दायाँदेखि बायाँतर्फ र बायाँदेखि दायाँतर्फ घुमाउनुपर्छ। १०/१० पटक घुमाउनु उचित हुन्छ।

यसरी चारैतिर आँखा डुलाउँदा शरीर तथा टाउको भने स्थिर राख्नुपर्छ। हल्लाउनु हुँदैन। दुवैतर्फ चक्रीय आकारमा आँखा घुमाएर गरिने यस्तो व्यायामले आँखाका नसा लचिलो तथा चलायमान हुन्छन्, जसले गर्दा आँखा सन्तुलित हुन पुग्छ। आँखा सन्तुलित भएपछि आँखाको फोकस आउट हुने लगायतका समस्याबाट छुटकारा पाउन सकिन्छ। त्यति मात्रै हैन, आँखा मात्रै घुमाएर गरिने यस्तो व्यायामले चारैतिर हेर्न पनि सहज हुन्छ। 

आँखाको चक्रीय व्यायामपछि अब चर्चा गरौं आँखा मजबुद बनाउने किसिमको टेढा पार्दै तलमाथि हेर्ने व्यायामबारे। 

आँखा टेढो

आँखा स्वस्थ तथा मजबुत राख्नका लागि टेढो गरी तलमाथि हेर्न सकिन्छ। क्रस किसिमले टेढो गर्दै दायाँबायाँ तथा तलमाथि हेरिन्छ। आकासतिर र भुइँमा पनि हेर्न सकिन्छ। तर, यस किसिमको व्यायाममा पनि टाउको तथा शरीर भने स्थिर राख्नुपर्छ, हेर्नु हुँदैन।

आँखाको यस किसिमको व्यायामले आँखाका नसा तथा मांशपेशी मजबुत हुन्छन्, जसले आँखाको तेजमा कमी हुन पाउँदैन। टाढाटाढासम्म पनि देख्न सकिन्छ।

आँखालाई आराम

आँखा सफा गर्ने विधि तथा आँखाको व्यायाम गरिसकेपछि आँखालाई आराम आनन्द  (रिल्याक्स) आवश्यकता हुन्छ। त्यसैले आँखा सफा गर्ने तथा व्यायाम गरिसकेपछि दुवै हात एक आपसमा रगर्न सकिन्छ। हात रगरिसकेपछि हातले आँखा सेक्नुपर्छ । व्यायामको क्रममा आँखा थकित तथा शिथिल हुन्छ। रगरिएको तातो हातले आँखा सेक्दा आँखामा आनन्द हुन्छ।

सफा गर्दा तथा व्यायामका क्रममा आँखामा तनाव भएको हुन्छ। यस्तो तनाव कम गर्न र नसा सन्तुलित गर्न पनि हात रगरेर सेक्नु उचित हुन्छ, जसले आँखालाई सहजता मिल्छ। आँखाको व्यायामले आँखा हेर्न सहज हुनुका साथै आँखामा हुने समस्या समेत कम गर्न सकिन्छ। त्यसैगरी टाउको दुख्ने तथा माइग्रेन जस्ता समस्याबाट पनि बच्न सकिन्छ।

कम्प्युटरमा बसेर काम गर्ने व्यक्तिका लागि पनि आँखाका यस्तो व्यायाम तथा आँखा सफा गर्ने विधि लाभदायक हुन्छन्। निरन्तर कम्युटरमा काम गर्ने, मोबाइल चलाउने तथा टिभी हेर्ने व्यक्तिमा भिजन सिन्ड्रोमको समस्या हुन सक्ने भएकाले आँसु कम भइ आँखा सुख्खा हुन सक्छ। त्यसैले करिव आधा घण्टाको फरकमा यस्ता प्रविधिबाट १० मिनेटका लागि भए पनि छुटकारा पाउनु आवश्यक हुन्छ। 
सामान्य तर आँखाका यी व्यायाम अत्यन्तै लाभदायक हुन्छन्। १४ वर्षभन्दा माथिका व्यक्तिले यस्ता व्यायाम गर्नु लाभदायक हुन्छ। 

आँखा सफा गर्ने तरिका तथा व्यायामको चर्चा गरिसकेपछि आँखा जोगाउने केही उपायबारे चर्चा गरौं। 

आँखाका विकार बाहिर

आँखा स्वस्थ राख्न साफसफाइमा त ध्यान दिनै पर्याे। धुलोधुवाँ तथा प्रदूषणका कारण आँखामा विशाक्त तत्व पस्छन्, जसले आँखालाई नकारात्मक असर गर्छ। त्यसो त आँखाको स्वस्थताका लागि न्यानो तथा चिसो दुवै प्रकारको हावापानी चाहिन्छ। दुवै प्रकारको हावापानीको असन्तुलनका कारण आँखामा समस्या उत्पन्न हुन्छ। मौसमी परिवर्तनमा हावापानी नमिल्दा आँखा पाक्ने, चिलाउने, चिप्रा बस्ने जस्ता एलर्जीका समस्या देखापर्छन्। आँखामा हुने यस्ता समस्याबाट बच्नका लागि प्रोटेक्टिभ चस्मा लगाउनुका साथै धुलोधुवाँबाट बच्नुपर्छ। 

वास्तवमा कलेजोमा रहेको विकार तत्त्व आँखाको माध्यमबाट शरीर बाहिर निस्कने भएकाले कलेजो स्वस्थ छ वा छैन भन्ने कुरा पनि आँखाले संकेत गर्छ। जन्डिस भएको अवस्थामा आँखा पहेंलो हुनेजस्ता लक्षण देखिन्छन्। त्यसैले आँखाले रोगका लक्षणको पनि संकेत गर्छ। आँखा सफा तथा स्वस्थ भए रोग छैन भन्ने संकेत पनि हो। 

पोषण

आँखा स्वस्थ तथा मजबुत राख्नका लागि पोषणको त आवश्यक हुन्छ नै। सागसब्जी, गेडागुडी, फलफूल, माछामासु सन्तुलितरूपमा खानुपर्छ। वयस्क व्यक्तिका लागि करिव पाँच लिटर पानी दैनिक आवश्यक हुन्छ। पानी छिनछिनमा पिउनु उचित हुन्छ।

(उकेराकर्मी उपेन्द्र खड्काले डा. सुनुवारसँग गरेको कुराकानीमा आधारित)

१३ मंसिर, २०७७, ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।