वीरेन्द्रनगरमा १५ शय्याको अस्पताल शिलान्यास

वीरेन्द्रनगरमा १५ शय्याको अस्पताल शिलान्यास

अस्पतालको शिलान्यास गर्दै राज्यमन्त्री रावतले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले जनतालाई देखाउनका निम्ति नभई जनतालाई सेवा दिन र जनताको स्वास्थ्य सुरक्षाको ध्यान दिन अस्पताल निर्माण प्रक्रिया सुरु गरेको बताए। जनताको स्वास्थ्य ठीक नभए देश नै ठीक हुन नसक्ने भएकोले यो अभियानमा सरकार जुटेको उनको भनाई छ।

संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माण गर्ने अभियानअन्तर्गत वीरेन्द्रनगरमा पनि १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको लाटीकोइली–९ का वडाअध्यक्ष सुरेश मानन्धरले जानकारी दिए। उनका अनुसार अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन पनि संघीय सरकारले गर्ने भएको छ। अस्पताल १८ करोड लागतमा निर्माण हुने उनको भनाई छ।  

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अस्पताल सञ्चालनमा आएपछि मेडिकल सुपरिडेन्डेन्ट, मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक सहित  १८ जनाको सरकारी दरबन्दी हुने वडाअध्यक्ष मानन्धरले जानकारी दिए।  

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले अस्पताल शिलान्यास भएसँगै यो क्षेत्रको स्वास्थ्य मात्र नभएर विकास र समृद्धि पनि अगाडि बढाउने बताइन्। बहुवर्षीय टेण्डरका आधारमा जतिसक्दो चाँडो अस्पताल निर्माण कार्य सम्पन्न हुने उनको भनाइ छ।

अस्पतालको शिलान्यास गरेर मात्र नभई निर्धारित समयमै काम सम्पन्न गर्नुपर्ने उनले बताइन्। बढ्दो बिरामीको चापलाई सजिलै व्यवस्थापन गर्न र विशेषज्ञ सेवा प्रवाह गर्न १५ शय्याको अस्पतालले थप सहयोग पुग्ने उनको भनाई छ। उनले नगरपालिकाको तर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। 

१२ मंसिर, २०७७, १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।