अपराधिक प्रवृत्तिविरुद्ध अभियान फैलाऔं

अपराधिक प्रवृत्तिविरुद्ध अभियान फैलाऔं

बलात्कारपछि बालिकाको हत्या, एउटा अर्को घटना थप भएको छ। महोत्तरी, बर्दिबासकी ६ वर्षीया गुलाब साह खातुन पछिल्लो पटक यस्तै घटनाको सिकार भएकी छन्। 

बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अरूणकुमार साहलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

आरोपितले अपराध गरेको घटना परिवारले नै प्रहरीलाई दिएको पृष्ठभूमिमा अपराधी नियन्त्रणमा छन्। हाललाई अपराधीमाथि कडाभन्दा कडा कानुनी कारवाही हुने विश्वास गरौं। 

घटनालाई लिएर बर्दिबास क्षेत्र मंगलबार दिनभर तनावग्रस्त रह्यो। स्थानीयले राजमार्ग अवरोध गर्नुका साथै अभियुक्त अरूणको घर पसलमा आगो लगाइदिएका छन्। 

राजमार्गको अवरोध खुलाउने क्रममा प्रहरीको गोली लागेर घाइते बनेको स्थानीय सञ्जय न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ। न्यौपानैको मृत्युपछि बर्दिबास क्षेत्रमा स्थानीय थप आक्रोशित हुने सम्भावना छ। 

हत्याराको पहिचान भइसकेको अवस्थामा ठूलो संख्यामा स्थानीय सडकमा किन आए ? आक्रोशित स्थानीयले आरोपितको घर तथा पसल किन जलाए ? कडाभन्दा कडा कारवाहीका लागि दबाब दिने नाराहरूबीच हत्याको बदला हत्या हुनुपर्ने मागहरू उठ्न थालेका छन् मुलुकभर। त्यस्तै देखियो बर्दिबासमा पनि। 

राज्यका संयन्त्रहरूप्रति भरपर्दो विश्वास नभएकाले हुन सक्छ नागरिकहरू सडकमा उत्रने र मत्स्य न्यायको माग गर्ने अवस्था आएको हुनसक्छ। 

आरोपित अरूण यसअघि आफ्नै साथीको हत्याको आरोप लागेका तर अदालतबाट जमानतमा छुटेका व्यक्ति हुन्। उनको पृष्ठभूमिका कारण पनि स्थानीय बढी आक्रोशित भएका हुनसक्छन्। 

असोज पहिलो साता बझाङमा सम्झना कामीको बलात्कारपछि हत्या भयो। किशोरी सम्झनालाई स्थानीय राजेन्द्र बोहराले बलात्कार गरेर हत्या गरेको खुलेको छ। राजेन्द्र यसअघि पनि बलात्कारको आरोप लागेका तर स्थानीय स्तरमै पैसा र जातीय प्रभावको बलमा घटनालाई मिलाएर उन्मुक्ति पाएका युवा हुन्। 

बर्दिया र बझाङ घटनाका आरोपीहरू अपराधिक प्रवृत्तिका रहेछन्। उनीहरूमाथि समयमै कानुनी कारबाही गरिएको थियो भने सम्झना र गुलाब जघन्य अपराधका सिकार बन्दैनथे।

समाजमा अपराधिक प्रवृत्तिका नागरिक पनि हुन्छन्। उनीहरूको पहिचान गर्ने, निगरानी राख्ने र अपराधिक प्रवृत्तिबाट उनीहरूलाई मुक्त गराउनु पर्ने हुन्छ। प्रहरीले त्यस्ता नागरिकको रिपोर्ट राखेको पाइन्छ। तर, उनीहरूको आचरण र मानसिकता परिवर्तन गर्ने काम कहीँ कतैबाट भएको देखिँदैन। 

अहिले ‘लैगिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ नारासहित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान २०७७ जारी छ। यस्ता अभियानहरू बेलाबेलामा चल्छन्, माइतीघर मण्डलमा ब्यानरहरू प्रदर्शित गरिन्छन्, औपचारिकता निर्वाह हुन्छ। कार्यक्रम सम्पन्न भएको रिपोर्टहरू तयार हुन्छन्, कागजी प्रतिवेदनहरू फाइल गरिन्छन्।

समस्याको जड कहाँ छ ? त्यहाँ पुगेर समाधान खोजिँदैन। गुलाब, सम्झना, निर्मलाको बलात्कार र हत्या घटनाका कानुनी कारवाहीको एउटा पाटो छ। प्रहरीको तथ्यांकमा बर्सेनि दुई हजारको हाराहारीमा बलात्कारका घटना भइरहेको देखिन्छ। मुख्य कुरा घटनाका दोषीहरूमाथी कारवाही होस् र फेरि अरु घटना नदोहोरियोस् भन्ने हो। 

यसका लागि कानुन बनाएर मात्र हुँदैन। आम नागरिकमा टोलटोलमा, समाजका हरेक कुनामा कानुनको जानकारी, पालना कसरी गर्ने÷गराउने र पालना नगर्दा कस्तो सजाय हुन्छ भन्ने कुराको चेतना आवश्यक हुन्छ। ‘कानुनको अनभिज्ञता कसैलाई क्षम्य हुँदैन। तर, हामीकहाँ कानुनी अधिकारबारे धेरै कानुन पालना र सजायबारे थोरै चेतना प्रभावित भएको त होइन ? कानुन पालनाबारे स्थानीय तहबाटै अभियान सञ्चालन हुन आवश्यक छ। समाजमा अपराधिक, हिंसा प्रवृत्तिबाट मुक्त गराउने खालका चेतनामूलक कार्यक्रमहरू प्रवचनहरूलाई अभियानको रूपमा व्यापकता साथ फैलाउन सकियो भने त्यो प्रभावकारी हुनसक्छ। 

त्यस्तै, माध्यमिक तहको शिक्षाको पाठ्यक्रममै आधारभूत कानुन समावेश गरियो भने त्यसले किशोरावस्थादेखि नै कानुन पालना र सामाजिक भूमिकाप्रति सचेत गराउँछ। 

प्रदेश २ सरकारले ‘बेटी (छोरी) बचाउ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। बेटी कोबाट कसरी खतरा छ, त्यस्ता प्रवृत्ति र पात्र पहिचान गरेर अभिमुखीकरण कार्यक्रम बढी प्रभावकारी हुनसक्छ। 

१० मंसिर, २०७७, १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।