रत्नपार्कमा शंखधर साख्वाः र पद्मरत्न तुलाधरको शालिक अनावरण

रत्नपार्कमा शंखधर साख्वाः र पद्मरत्न तुलाधरको शालिक अनावरण

काठमाडौं : शंखधर उद्यान (रत्नपार्क) मा राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियानका अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण गरिएको छ।

 शालिकको शनिबार सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आथित्यमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शालिक अनावरण गरेका हुन। शालिक करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गरेको महानगरपालिकाले जानकारी दिएको छ। 

शालिकको अनावरणपछि सम्वोधन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गरेका थिए। ‘साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन्। ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ। 

वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.स. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए। 

मन्त्री श्रेष्ठले रत्नपार्कलाई  ‘शंखधर उद्यान’ घोषणा गरी त्यसकै रुपमा  स्थापित गराउनु ठुलो कुरा भएको बताए। त्यसैगरी नेपाल सम्वतलाई राष्ट्रिय सम्मतका रुपमा स्थापित गराउने कुरा कसैको विमति नरहने पनि स्मरण गराए। 

उनले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेका विभुति घोषणा गरेको भन्दै उहाँको पनि स्मरण गरे। नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जस पनि जान्छ । 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिए। ‘उहाँहरुको योगदानलाई कतियय अवस्थामा हामीले विर्सन चाहेर पनि विर्सन सक्दैनौँ। अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न   मनमुटुमा छन्, उनले भने, ‘हामीले उहाँहरुको सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छौँ। हामीले पार्कभित्र शालिक राखेर सधैं सबैले चिन्न र देख्न सकुन भन्ने ठानेका छौँ। उहाँले काठमाडौंका नेवार मात्रै होइन सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ भन्ने नेता तुलाधारप्रति सम्मान गर्न पाएका छौँ ।’ 

कार्यक्रममा वागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाललले ,सहरी विकास राज्यमन्त्री रामविर मानन्धर,उपप्रमख हरि प्रभा खड्गी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

६ मंसिर, २०७७, १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।