रजश्वलामा व्यायाम : गर्न जाने लाभ नजाने पीडा

रजश्वलामा व्यायाम : गर्न जाने लाभ नजाने पीडा

काठमाडौं : महिला पुरुष सबैलाई सुन्दर रहन शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन आवश्यक हुन्छ। स्वस्थ तथा सुन्दरताका लागि खानपान मात्रै हैन, सन्तुलित व्यायामको पनि आवश्यकता पर्छ।

व्यायाम र खानपानको सन्तुलन मिल्यो भने शारीरिक तथा मानसिक रुपमा स्वस्थ बन्न सकिन्छ। स्वस्थ बन्ने अन्य उपाय पनि छन्।
तर, कुन समयमा व्यायाम गर्ने? कति समय व्यायाम गर्ने? रजश्वला भएको अवस्थामा व्यायाम गर्ने कि नगर्ने भन्ने कुरामा भने द्विविधा हुन सक्छ।

हो, महिलाले रजश्वलाको समयमा व्यायाम गर्ने केही नियम तथा टेक्निक छन्।
रजश्वलाको समयमा व्यायाम गर्न हुन्छ वा हुँदैन भन्ने सन्दर्भमा विभिन्न विश्लेषण नभएका हैनन्। तर, हामीले बिर्सनै नहुने कुरा के हो भने,‘रजश्वलाको समयमा रक्तश्राव हुन्छ।’

रजश्वला भनेको महिलामा हुने मासिक चक्र हो। यो चक्रका कारण नै महिलामा प्रजनन् क्षमता हुन्छ।
अब प्रश्न उब्जन्छ,‘यो समयमा व्यायाम गर्ने कि नगर्ने त?’

रजश्वलाको समयमा शरीर अवश्य पनि शिथिल भएको हुन्छ। रक्तश्राव हुने भएकाले शारीरिक मात्रै हैन मानसिक रुपमा पनि महिला शिथिल हुन्छन्। यस्तो समयमा शारीरिक तथा मानसिक रुपमा भने अवश्य सक्रिय रहनुपर्छ। कुनै पनि काम नगरी निष्क्रिय भएर बस्दा

शारीरिक तथा मानसिक रुपमा थप तनाव उत्पन्न हुन सक्छ।
त्यसैले भन्न सकिन्छ, ‘रजश्वलाको समयमा हल्का किसिमका व्यायाम गर्नुपर्छ।’ तर, कडा किसिमका व्यायाम भने गर्नु हुँदैन।
रजश्वला भएको अवस्थामा मर्निङवाक गर्न सकिन्छ।

घरका भान्सा लगायतमा हल्का किसिमका काम गर्न सकिन्छ। योगा, ध्यान, प्राणायाम, ताइचीजस्ता व्यायाम गर्न सकिन्छ। कम तौल भएका सामान उचाल्न सकिन्छ।

रजश्वलाको समयमा गरिने केही व्यायामका टेक्निकका बारेमा चर्चा गरौँ।
बाल आसन

यो आसनमा बच्चा सुतेजसरी कुनै पनि तनाव नलिई रिल्याक्स गरी सुतिन्छ। त्यसैगरी बच्चा जस्तैगरी ओछ्यानमा लुटुपुटु गर्दै पल्टिन सकिन्छ।

विशेषगरी घोप्टो पर्दै पल्टन सकिन्छ। शरीर भने हल्कागरी चलाउनुपर्छ।
सुखासन
सुखासनमा हल्का गर्दै उत्तानो परेर आनन्दले सुतिन्छ। सुतेपछि कोल्टेपर्दै एउटा खुट्टा खुम्च्याएर अर्को तन्काउँदै दायाँ बायाँ गरिन्छ। शारीरिक अंगलाई दबाब नपर्नेगरी हल्का किसिमले चलाउनुपर्छ। शरीर हल्का मर्काउन सकिन्छ

यो व्यायामको नामै शुखासन भएकाले यस किसिमको व्यायाम गर्दा शारीरिक तथा मानसिक रुपमा आनन्द मिल्छ। जसले रजश्वलाको समयमा हुने पीडा समेत कम हुन्छ।
शवासन

शवासन व्यायामको विधिमा सहज रुपले उत्तानो सुतेर हातखुट्टा लमतन्न पारिन्छ। शरीर स्थिर राखिन्छ। त्यसपछि बिस्तारै लामो श्वास लिँदै बिस्तारै छोडिन्छ। यस्तो व्यायाम गर्दा ध्यान श्वासप्रश्वासमा केन्द्रित गरिन्छ।

यस्तो व्यायाम गर्नाले नकारात्मक किसमका हार्मोनको सक्रियता नभई सकारात्मक किसिमका हार्मोनको सक्रिय हुन्छ। जसले गर्दा आनन्द मिल्छ। दुखाई तथा पीडा कम हुन्छ।
कछुवा आसन
यस आसनअनुसार कछुवाको जसरी बिस्तारै हल्का चालमा दायाँबायाँ हल्लिँदै हिँड्न तथा व्यायाम गर्न सकिन्छ। नामै कछुवा आसन भएकाले कछुवा जस्तै हात र खुट्टा भुईँमा टेकेर बिस्तारै अगाडि सर्दै पछाडि सर्दै हिँड्न सकिन्छ। यस किसिमको व्यायाम गर्दा शारीरिक तथा मानसिक रुपमा तनाव भने लिनु हुँदैन


संगीत थेरापी

रजश्वलाको समयमा तनाव उत्पन्न भएको हुन्छ। तनाव कम गर्नका लागि आफूलाई मनपर्ने गीत–संगीत सुन्न सकिन्छ। यस्तो अवस्थामा मेलोडी किसिमका गीत–संगीत सुन्नाले तनाव कम गर्न सकिन्छ। मन आनन्द हुँदा खुसी दिने हार्मोन सक्रिय हुन्छन्।

जसले गर्दा सकारात्मक सोचको विकास हुनुका साथै तनाव कम गर्न सकिन्छ। संगीत चिकित्साको नामले चिनिने संगीत थेरापी पनि व्यायामको एक विधि हो।  


रजश्वलाको समयमा यस्ता किसिमका व्यायाम दैनिक करिब २० मिनेट गर्नाले शरीर हल्का भएको महसुस हुन्छ। तनाव कम हुन्छ। पीडा कम हुन्छ।
नगरौँ कडा व्यायाम
कडा कसिमको व्यायाम गर्दा तथा धेरै तौल उठाउँदा भने रक्तश्राव नै बढी हुन सक्छ। त्यसैले रजश्वलाको समयमा कडा किसिमको व्यायाम तथा जिम गर्नु हुँदैन।


यस्तो अवस्थामा महिलाका शरीरका मांशपेशी कमजोर भएका हुन्छन्। कतिपय महिलामा त कडा किसिमको व्यायाम गर्दा बेहोस हुनेसमेत जोखिम हुन्छ। रजश्वलाको समयमा सन्तुलित व्यायाम गर्न नजान्दा प्रत्युत्पादकको जोखिम समेत हुन्छ।
यसमा सचेत हुनुपर्छ।

शारीरिक तथा मानसिक रुपमा धेरै भार पर्ने किसिमका काम गर्नु हुँदैन। यसको अर्थ दैनिक गरिने कामै गर्न हुँदैन भन्ने हैन। हल्का किसिमका काम गरी शारीरिक तथा मानसिक रुपमा सक्रिय रहनुपर्छ।
झोलिलो खानपान
रजश्वला भएको अवस्थामा सन्तुलित खानपान तथा सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ। यस्तो अवस्थामा शरीर कमजोर हुने भएकाले हरियो सागपात, गेडागुडी, माछामासु, फलफूल खान आवश्यक हुन्छ।
झोलिलोमोलिलो तथा प्रशस्त मात्रामा पानी पिउनाले शरीर सुख्खा तथा कमजोर हुन पाउँदैन। जसले गर्दा पीडा कम गर्न सकिन्छ। ज्यान स्वस्थ राख्न सकिन्छ।
(डा. सुनुवारसँग उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित)

 

 

६ मंसिर, २०७७, ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।