पाको रुखको बामपुड्के शोभा

पाको रुखको बामपुड्के शोभा

हेर्दा होचो देखिन्छ। पोथ्रा हुन्छन् । एउटा भनाई छ नी,‘दिन खाको जुँगा नआएको।’ त्यस्तै बामपुड्को रुखको नाम हो,‘बोनसाई’। ठूलो हुने प्रकृतिको बीरुवालाई प्लेटमा रोपेर बढ्न नदिई वर्षौ राखिएको बिरुवाको नाम हो,‘बोनसाई।  

साना प्लेटमा रोपिएका चिटिक्क परेका होचा तथा पोथ्रा रुख कम सुन्दर देखिँदैनन्। बोनसाईको प्रमुख विशेषता भनेकै ठूलो हुने प्रकृतिका बिरुवालाई प्लेटमा रोपेर बढ्न नदिई काँटछाँट गर्दै सानै बनाएर राखिनु हो। यस्ता बामपुड्के रुखको सुन्दरता हेर्दा मनै हुरुक्क हुन्छ।

आजकाल यस्तै बामफुड्के रुखका शौखिनहरुको संख्या बढिरहेको छ। वर्षैं लगाएर तयार गरिएका बुढा तर साना रुख। तर, यस्ता पुड्के रुख साना प्लेटमा रोपेर घर तथा कौशिमा सजाउन सकिन्छ। यस्ता बामपुड्के रुखका शौखिनहरु बढिरहेको नर्सरी व्यवसायिको अनुभव छ।

काठमाडौँको बानेश्वरस्थित रोजडेल नर्सरीका देव प्रकाश राई नर्सरीमा बोनसाई खरिद गर्न आउनेको संख्या बढिरहेको बताउँछन्। उनले भने,‘बिदेश घुमेर फर्कनेहरुले बढि बोनसाई किन्छन्।’
त्यसो त फ्लोरीकल्चर एशोसियशन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजु श्रेष्ठ पनि नेपालमा बोनसाईका शौखिनहरु बढिरहेको बताउँछन्। श्रेष्ठले भने,‘प्लेटमा रोपिएका होचा बिरुवा सजावटका लागि निक्कै मनमोहक हुन्छन्।’त्यसैले विशेषगरी सहरी क्षेत्रमा बोनसाईका शौखिनको संख्या बढिरहेको उनको अनुभव छ।

 
बनाउने टेक्निक

बोनसाई हेर्दा जति मनमोहक हुन्छ, एउटा सुन्दर बोनसाई बनाउन धेरै वर्ष मेहनत गर्नु पर्छ।
बोनसाई एक, दुई वर्षमा तयार हुँदैन। रोजडेलका राईले भने,‘एउटा बोनसाई तयार गर्न कम्तिमा दश वर्ष समय लाग्छ।’

बोनसाई बनाउनका लागि सवैभन्दा पहिला बीरुवाको छनोट गर्नुपर्छ । त्यसपछि आकर्षक डिजाइनको विशेषगरी माटो वा सरामिक्सको प्लेट तयार गरिन्छ । बोनसाइका लागि सेरामिक्सको प्लेट नै आकर्षक देखिने गार्डेनर दिपक खड्काको तर्क छ।

प्लेट तयार गरिसकेपछि माटो मिलाएर बीरुवा रोप्न सकिने खड्का बताउँछन्। बीरुवालाई रोपिसक्ने वित्तिकै पानी हाल्न हर्टिकल्छचर विशेषज्ञको सुझाव छ। राम्रोसँग पानी हालेको खण्डमा बीरुवा मर्ने डर हुँदैन । बीरुवा पनि धेरै ठूलो हाल्न हुँदैन।

बोनसाइका लागि बनाउने बीरुवा सानै रोप्नु उचित हुन्छ । ठूलो बीरुवा रोप्दा मर्ने डर हुने राई बताउँछन् । नफूल्ने बिरुवाको बोनसाईलाई सामान्यतः घाम नलाग्ने ठाउँमा नै राख्नु उचित हुन्छ । बीरुवालाई शुख्खा हुन भने दिनु हुँदैन।

बोनसाई बनाउनका लागि रोपिएका बीरुवालाई धेरै मल हाल्नु हुँदैन। फ्यानका अध्यक्ष श्रेष्ठले भने,‘बाँचनका लागि मात्रै मल पानी हाल्नुपर्छ।’ बीरवा बढ्न नदिनका लागि बेलाबेलामा बीरुवाको टुप्पा तथा हाँगा काट गर्नुपर्छ। जरा धेरे बढे काट्न सकिन्छ।

श्रेष्ठ भन्छन्,‘तामा वा आल्मुनियमको तारले हाँगा बाँध्दै बोनसाईको आकार मिलाउन सकिन्छ।’ त्यसपछि बीरुवाको उमेर बढ्दै जानेक्रममा बोनसाइको आकार बन्दै जान्छ।

बीरुवाको उमेर जति धेरै भयो बोनसाईको आकार पनि त्यतिनै राम्रो देखिन्छ । हर्टिकल्चर विशेषज्ञका अनुसार जापान, कोरिया जस्ता मुलुकमा दुईसय वर्ष भन्दा बढि उमेरका बोनसाई पाइन्छन्। होचो र मोटो हुने बोनसाई एकदेखि डेढ फिटको राम्रो देखिन्छ ।

घरभित्र हरियो, बाहिर फूल

पाइन भेराइटिका बोनसाई निक्कै मन पराइने बोनसाइनमा पर्छन्। सल्ला तथा धुपीका विभिन्न जातलाई पाइन भेराइटिका नामले पनि चिनिन्छ।

फ्यानका अध्यक्ष श्रेष्ठ गोब्रे सल्ला, रानी सल्ला, जुनिपर धूपी जस्ता सल्ला तथा धुपीका जातका बोनसाई बढि मन पराइने बोनसाईमा पर्ने बताउँछन्। पाइन भेराइटिका बोनसाई घर बाहिर कौशी तथा गार्डेनमा राखेर सजाउन सकिन्छ।

त्यसैगरी प्लान्ट भेराएटिमा बर, पीपल, समी, काभ्रो, रबर प्लान्ट, मेप्पल जस्ता बीरुवाका बोनसाई बढि मनपराइने जातमा पर्छन्।यस्ता बीरुवाका बोनसाई छिट्टै आफूले चाहेको आकारमा ल्याउन सकिन्छ।

सुन्दर देखिन्छन् ।बोनसाइ पारखिका नजरमा यस्ता बीरुवाका बोनसाई नै बढि छनोटमा पर्ने गरेको रोजडेलका राईको अनुभव छ । यि बीरुवाका बोनसाई घर भित्र, कोठा तथा बैठक रुममा राखेर पनि सजाउन सकिने खड्का बताउँछन्। तर, राम्रोसँग हावा खेल्ने ठाउँमा राख्नुपर्छ।

नफुल्ने मात्रै हैन। फुल्ने फूलको पनि बोनसाई बनाउन सकिन्छ।

बगनबेली, लालिगुराँस, इन्द्र कमल, निल जाई, सिरिस, असारेजस्ता फूलको आकर्षक बोनसाई बनाउन सकिने हर्टिकल्चर विशेषगरीको अनुभव छ । राईले भने,‘पुड्को रुखमा ढकमक्क फूल फुल्दा त कम सुन्दर देखिन्छ र ?

घर बाहिर तथा घाममा फूल फुल्ने जातका बीरुवाका बोनसाई रोप्न सकिने हटिकल्चर विशेषज्ञ बताउँछन् । फूल फुल्ने बीरुवालाई घाम आवश्यक हुन्छ।

सुन्तोला, मुन्तोला, जुनार, ओखर, लप्सी, निमारो, काफल जस्ता फलफूल पनि बोनसाई गरेर फलाउन सकिने फ्यानका अध्यक्ष श्रेष्ठ बताउँछन् । ग्राफटिङ तथा बडिङ् जस्ता विधि अपनाई बोनसाई आकारमा फलफूल फलाउन सकिन्छ। खड्काका अनुसार फलफूलका बोनसाई भने घाम लाग्ने ठाउँमा राख्न आवश्यक हुन्छ ।

करोड पर्ने ‘बामपुड्के’

त्यसो त नेपालमा बोनसाईका शौखिन बढेसँगै बिक्रि पनि बढिरहेको राई बताउँछन् ।नेपालमा यसको व्यवसायिक उत्पादन तथा विक्रिवितरण विस्तारै बढ्नेक्रममा छ। विदेश घुमेर फर्कनेहरु नै बढि बोनसाइका पारखि हुने गरेको राईको अनुभव छ।

बोनसाईको मूल्य भने बीरुवाको जात, यसको उमेर तथा आयु, आकार, गुणस्तरियता जस्ता आधारमा हुन्छ। ‘नेपालमा एउटा बोनसाईको मूल्य कम्तिमा दश हजार पर्छ’, राईले भने,‘एक बोट बोनसाई डेढ लाखमा पनि बेचेको छु।’ राईको नर्सरीमा ३० वर्षभन्दा बढि उमेरका बोनसाई छन्।

फ्यानका अध्यक्ष श्रेष्ठ पनि कोरिया जाँदा एक बोट बोनसाई तीन लाखमा बिक्रि भएको देखेको बताउँछन्। जापान लगायतका मुलुकमा एक बोट बोनसाइको मुल्य एक करोड भन्दा राखिएको पाइन्छ।  

नेपालमा विदेशबाट समेत बोनसाई आयत हुने गरेका छन्। तर, विदेशबाट आयात हुने बोनसाई नेपालको हावापानीमा अनुकुल नहुँदा मर्ने गरेको नर्सरी व्यवसायिको अनुभव छ।

त्यसो त विदेशबाट ग्राफ्टिङ गरेका प्लान्टका बीरुवाको बोनसाइको आयु लामो नहुने राईको तर्क छ। नेपालमा चीन, थाइल्याण्ड जस्ता मुलुकबाट फाईकसलगायतका जातका बोनसाई आयात हुने श्रेष्ठले जानकारी दिए।

त्यसो त नेपालमा पनि साना गमलामा बोनसाई जस्तै बनाएर बर–पिपल रोप्ने चलन छ। बोनसाईको उद्गम थलो भने चीन, जापानजस्ता मुलुकलाई लिइन्छ। चीनमा करिव दुई हजार वर्ष अघिनै ल्याण्डस्केप गार्डेन तथा घरमा साना बीरुवा रोपेर सजाउने चलन थियो।

त्यँही सानो ठाउँमा पुड्का रुख बनाउने चलनबाटै नै बोनसाईको अवधारणाको सुरुवात भएको देखिन्छ। आधुनिक रुपमा बोनसाई बनाउने सुरुवात भने जापानबाट भएको पाइन्छ।

५ मंसिर, २०७७, १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।