स्त्रीको वास्तविक ठाउँ कहाँ ?

स्त्रीको वास्तविक ठाउँ कहाँ ?

केही वर्ष पहिले पेरूको एन्डिज पहाडमा करिब नौ हजार वर्ष पहिले गाडिएकी एक किशोरीको शरीरको अवशेष प्राप्त भएको थियो।

यस शवको अवशेष अध्येताहरूले महिला छेउमा राखिएका कयौँ किसिमका हतियार देखे। ती हतियार ठूला जनावरहरूको शिकारमा प्रयोग हुने आँकलन गरिएको छ। यस्तै यही ठाउँमा वैज्ञानिकहरूले सामूहिक चिहान पनि फेला पारेका थिए। 

त्यहाँ अन्य २७ जनाको अवशेष फेला परेको थियो। उनीहरूको त्यहाँ  सामूहिक चिहान थियो। तिनहरूसँगै त्यहाँ पनि विभिन्न औजार गाडिएको पाइयो। वैज्ञानिक क्यानडल हासको नेतृत्वमा क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरूको टोलीले यसलाई जाँचेका थिए। यतिबेला उनीहरू एउटा परिणाममा पुगेका छन् र त्यो के भने त्यस कालमा महिलाहरू ठूलो संख्यामा शिकारमा सहभागिता जनाउँथे। त्यो समुदायका करिब ३० देखि ५० प्रतिशतसम्म महिला शिकारी थिए।

'साइन्स एडभान्सेज' नामक जर्नलमा हालै यसबारे शोधपत्र प्रकाशित भएको छ। यो शोधपत्रले हल्लीखल्ली मच्चाउनुको कारण के हो भने पहिला-पहिलाको समाजमा अर्थात् हन्टर ग्यादरर सोसाइटीमा त्यसको मुखिया पुरूष नै हुन्थे। उनीहरू नै शिकार गर्न जान्थे।

घरधन्दा समाल्ने र बालबच्चाहरू हेर्ने मामिला महिलाहरूको थियो भन्ने सोच हावि थियो। तर यो प्रमाणपछि भने रिसर्चर हास भन्छन्,  'संसारका सबै ठाउँमा वैज्ञानिकहरूले भनेजस्तो पुरूषहरू मात्र शिकारी थिए र शिकार खेल्ने जिम्मेवारी उनीहरूको मात्र थियो भन्नेमा यस्ता प्रमाणले बाधा पुर्याउँछन्। 

खासमा केही समाजमा पुरूषहरू बढी सक्रिय हुन सक्छन् तर केही समाजमा भने महिलाहरू पनि कम सक्रिय भने थिएनन्। पाइएका अवशेषले पनि त्यही कुराको इंगित गरिरहेको छ।'

शोधकर्ता हासको भनाए छ, 'यो शोधको परिणामले आजको समाजमा प्रचलित महिला-पुरूषका बीच भइरहेको श्रम विभाजनका असमानताहरूलाई उजागर गरेको छ। महिलाले गर्ने काम र पुरूषले गर्ने काममा विभेदका कारण पछिल्लो समयमा समेत उही काममा पुरूषलाई बेग्लै रकम दिइन्छ भने स्त्रीलाई बेग्लै। जेन्ड पे ग्याप, ओहदाको बाँडफाँडजस्ता विभेदका पछाडि जुन ऐतिहासिक कारणहरू दिने गरिन्थ्यो, त्यसमा सत्यता नदेखिने हुनाले त्यसलाई सच्याइनुपर्ने केहीको धारणा छ। 

प्राकृतिक आधारमा कयौँ पटक महिलाहरूमाथि अन्याय भएको सन्दर्भमा अहिले फेला पारिएका यस्ता प्रमाणले बराबरको हैसियत र पैसा दिइनुपर्ने कुरा पनि उत्तिकै महत्त्व दिन थालिएको छ।

यी निकै पुराना मानव अवशेष सन् २०१८ मा फेला पारिएका थिए। पेरूको एउटा महत्त्वपूर्ण पुरातात्त्विक क्षेत्रको पठारी क्षेत्रमा पाइएका अवशेषहरूमा दुई शिकारीहरूको अस्थि संरचना र दाँतको इनामेल पत्रमा अवस्थित पेप्टाइड्सको जाँचबाट ती १७ देखि १९ वर्षकी की एक महिला भएको पत्ता लागेको छ। छेउमै रहेको अर्को कंकाल पुरूषको हुनसक्ने आँकलन गरिएको छ। पुरूषको उमेर भने २५ देखि ३० वर्ष आँकिएको छ। 

यी महिलाको अवशेषनजिकै खास किसिमका औजार फेला पारिएका थिए। यसबाट उनी निकै ठूला जनावरको शिकार गर्ने सिद्ध शिकारी भएको हुनसक्ने वैज्ञानिकहरूको राय छ। ती महिला नजिकै भएको एटलाटल नामक एउटा यस्तो भालाजस्तो हतियार थियो, त्यसलाई प्रहार गर्दा निकै टाढासम्म पुर्याउन सकिन्थ्यो।

यस कुरालाई पुष्टि गर्न र कतै यो स्त्री उसको समयको अपवाद थिई कि भन्ने शंका निवारण गर्नका लागि शोधकर्ताहरूले अमेरिकाका १०७ ठाउँमा पुरिएका शव र त्यसमा फेला परेका ४२९ मानिसहरूको अवशेष जाँच गरिएको थियो। यी सारा मानव अवेशष ४ हजारदेखि १७ हजार वर्ष पुरानो रहेको प्रमाणित भएको थियो। ती शवहरूमध्ये २७ मानवहरूको लिंग पुष्टि गर्न सकिन्थ्यो। जसको शव नजिकै उनीहरूसँग केही औजार फेला पारिएको थियो। तीमध्ये १६ पुरूष र ११ जना महिला थिए। यिनै नमूना जाँचका आधारमा त्यस समयमा ठूला शिकार अभियानमा महिला सहभागिता निकै सशक्त र ठूलो थियो भन्ने प्रमाणित गर्ने आधारहरू फेला पर्छन्। यस हिसाबले त्यो समाजका कुल शिकारीहरूमध्ये ३० देखि ५० प्रतिशतका शिकारीहरू महिला नै रहेका हुनुपर्छ।

यो अध्ययनले आजका कयौँ प्रचलित मान्यताहरू सधैँ यस्तै थिएनन् भन्ने कुरालाई पुनः स्मरण गराएका छन्। २०१७ मा पनि महिला भाइकिङ योद्धाहरूको एउटा ठूलो जेनेटिक अध्ययन गर्दा उस्तैखाले परिणाम आएको थियो। खासमा भाइकिङ महिलाहरू घरैमा बस्ने किसिमका थिए भनी मानिन्थ्यो तर सो जेनेटिक अध्ययनपछि केही प्रतिशत महिला भाइकिङहरू योद्धा थिए, लड्न भिड्न उनीहरूलाई रूचिकर लाग्थ्यो। 

पुरूष योद्धाहरूसँग मिलेर उनीहरू लडाइँमा निस्कन्थे। रोचक त के छ भने र सोही रोचक कुरा अहिले एउटा ठूलो प्रश्नचिह्न बनेर उभिएको छ कि आधुनिक युगमा जसरी महिलाको काम भनेको भातभान्सा नै हो भन्ने सोचको जन्म कसरी भयो होला ? जबकि शुरूवाती हन्टर ग्यादरर समूहमा त लगभग आधा प्रतिशत महिलाहरू त शिकार नै खेल्न इच्छुक रहेछन् र तिनलाई त्यसका लागि प्रोत्साहित पनि गरिएको रहेछ!

केही सिद्धान्तअनुसार, बालापन र किशोरावस्थामा महिलाहरू शिकारमा उच्चस्तरीय निपूणता हासिल गर्थे। तर समयक्रममा यौनका मामिलामा उनीहरू परिपक्व हुनथालेपछि सन्तान जन्माउन र पुर्खाको निरन्तरता दिलाउनका लागि उनीहरू बढी व्यस्त रहँदै जानथाले।

सन्तान जन्माउने र तिनलाई लालनपालनको जिम्मेवारीका कारणा उनीहरूको अधिकांश समय सोही कार्यमा लाग्न थाल्यो। 

यो नयाँ शोधका मुख्य लेखक हास भन्छन्, 'खासमा कुन बिन्दुबाट महिलाहरू घरैमा अडिन पुगे भन्ने पत्ता लगाउने जिम्मा भने नयाँ पुस्ताका अध्येताहरूको पनि हो। जसरी दक्षिणी अमेरिका र उत्तरी अमेरिकाका केही ठाउँमा महिला शिकारीहरूको सहभागिता देखिएजस्तै अन्य महादेशमा पनि उसैगरी महिलाहरू शिकारी थिए कि थिएनन् ? थिए भने कस्तो अवस्था थियो होला ? यस्ता कुराको अध्ययन गर्न भने बाँकी नै छ।

के महिलाहरू अप्ठेरो काम गर्न सक्दैनन् ?

संसारभरि नै काम गर्ने मामिलामा महिला सहभागिता बढाउनुपर्ने आवाज उठिरहेका कारण अप्ठेरा वा डर्टी काममा समेत उनीहरूको सहभागिता बढ्न थालेको छ।

पछिल्लो समयमा अप्ठेरो काम मानिएको फायर फाइटर (अग्निशमन)का काममा पनि महिला सहभागिता बढिरहेको छ।

जोर्डनजस्तो देशमा महिलाले बाहिर गएर प्लम्बिङको काम गरेका थिएनन्। पछिल्लो समय प्लम्बिङमा महिला सहभागिता बढेको मात्र छैन, उनीहरूले आफूजस्तै महिला कर्मीहरूलाई तालिमसमेत दिन थालेका छन्।

फिलिपिन्सकी तीन सन्तानकी आमा ओकाल डोजर चालक हुन्। उनी ट्रकसमेत चलाउँछिन्। टर्कीको इस्तान्बुलकी सेर्पिल सिग्डेम रेल चलाउँछिन्। उनी त्यहाँ रेल चलाउने प्रथम चालक हुन्। २३ वर्षअघि रेल चलाउँदा उनलाई हेर्ने मानिसको लर्को लाग्थ्यो।

यसैगरी जर्जियामा सेनाकी क्याप्टेन एकाटेरीने क्विलिभिडे हेलिकप्टर चालक हुन्। उनी शुरूवाती समयमा सेनामा प्रवेश लिने व्यक्तिमध्येकी हुन्।

माथिका यी सबै उदाहरण हेर्दा देश फरक भए पनि उनीहरूले गर्ने कार्य पुरूषहरूभन्दा भिन्न नदेखिए पनि यहाँसम्म आइपुग्न निकै समय लागेको छ। प्राचीन समयदेखि नै महिलाहरू लड्ने भिड्ने कुरामा कुनै कमी नरहेको तर समयक्रममा उनीहरू पछि पारिएको देखिन्छ।

तर कुन बिन्दुबाट त्यो समय शुरू भयो, यसमाथि अध्ययन गर्न भने बाँकी नै रहेको देखिन्छ।

४ मंसिर, २०७७, १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।