उकेरा फिचर

यसरी पूजा गरे हुनेछिन् लक्ष्मी प्रशन्न

लक्ष्मीपूजाको शुभमुहुर्त साँझ ५ः१६–७ः१२

गायत्रीबल्लभ


आज हिन्दूहरूको महान चाड यमपञ्चकको दोस्रो दिन अर्थात दीपावली। भगवान श्रीरामको अयोध्या पुनःआगमनको उपलक्ष्यमा दीपावली मनाउन थालिएको पौराणिक मान्यता छ।

स्कन्द पुराणका अनुसार कार्तिक कृष्ण अमावस्या (औंसी) रातको समयमा दीपावली मनाउनु पर्छ। यस रात दीपावली गरेर माता लक्ष्मीको पूजा गरेमा लक्ष्मी प्रसन्न भइ भक्तलाई सालभर धनदौलत आर्जनका अनेक स्रोत जुराइदिने विश्वास गरिन्छ।

अन्धकार हटाएर उज्यालो देखाउँदा लक्ष्मी आकर्षित हुने भएकाले दीपावली अमावस्याको सन्ध्या वा रातको महानिशामा नै गरिन्छ। सूर्यास्तपछि पूजा हुने भएकाले जुन दिन सूर्यास्त हुँदा कार्तिक अमावस्या तिथि पर्छ, त्यही दिन नै लक्ष्मीपूजा गरिन्छ। यस वर्ष साँझ ५ः१६ देखि ७ः१२ सम्म वृष लग्न चल्ने भएकाले त्यस समयमा पूजा गर्नु नै श्रेष्ठ फलदायी हुने देखिन्छ। 

सामान्यतया तिथि सूर्योदय अनुसार हुने भएकाले दिनमा गरिने पूजाका लागि भने आज बिहान सूर्योदय हुँदाको चतुर्दशी तिथि अनुसार कुकुर पूजा पनि आजै गर्नुपर्छ। 

लक्ष्मीको पूजा यदि ध्यान दिएर विशेष अभिष्ठ सिद्धिका लागि गर्ने हो भने सरसफाइ सबैभन्दा पहिलो सर्त हो। पूजा गर्ने ठाउँ, त्यसको वरपर तथा पूरै घरमा फोहोर राख्नुहुँदैन। पूजा सामग्री पनि सफा र शुद्ध हुनु अत्यन्त जरुरी हुन्छ। पूजा गर्ने साधक नुहाएर शुद्ध हुनुपर्छ। अघिल्लो रातमा सुत्दा लगाएको कपडा फेरेर धोएर राखेको शुद्ध पहिरन पहिरिनु पर्छ। कालो, ध्वाँसे, खैरो कपडा लगाउनु हुँदैन। रातो, सेतो, पहेंलो, हरियो, वा चाँदी रंगको कपडा लगाउनु उपयुक्त हुन्छ। स्वास्थ्य कमजोर गराउने, वायु विकार उत्पन्न गर्ने, अपच हुने खानेकुरा खानु हुँदैन। मन स्थिर तथा शान्त हुनुपर्छ। कसैसँग दुवर्चन गर्नुहुँदैन, साथै दुवर्चन बोल्ने मानिसबाट टाढा रहनुपर्छ। अनावश्यक रिस उठिरहेमा पूजा निःष्फल हुनेछ। साथै कसैसँग झर्किनु उपयुक्त हुँदैन। वाणिमा मधुरता जुनसुकै पूजा गर्दाको आधारभूत सर्त हो। 
लक्ष्मीको पूजामा सकेसम्म थोत्रा सामग्री र कपडाको प्रयोग गर्नुहुँदैन। त्यस्तै, फलाम, सिसा (लिड) तथा शनि, राहु र केतुसँग सम्बन्धित कुराहरूको प्रयोग गर्नुहुँदैन। माटाको भाँडा पनि सकेसम्म प्रयोग नगर्नु नै वेश हुन्छ। शुक्रसँग सम्बन्धित धातुजस्तै चाँदी आदिको प्रयोग गर्नु उपयुक्त हुन्छ। 

मंगलसँग सम्बन्धित कुनै पनि हातहतियार लक्ष्मीको सामुन्ने राख्नु हुँदैन। तिलको प्रयोग नगर्नु नै उचित हुन्छ भने जौको पनि प्रयोग नगर्नु नै उपयुक्त हुन्छ। धन आकर्षण गर्नका लागि कुशको पनि प्रयोग नगर्नु नै उचित हुन्छ। लक्ष्मीको मन्त्र जप गर्न चाहने साधकले रुद्राक्ष मालाको सट्टा कमलगट्टाको मालामा जप गर्नु निकै राम्रो मानिन्छ। त्यस्तै, कुशासनको सट्टा रातो कम्बलको आसनका बस्नु अत्यावश्यक हुन्छ। भुइँ वा काठमाथि बसेर पूजा गर्दा रोग तथा दारिद्र्यमा वृद्धि हुन जाने कुरालाई विशेष मनन गर्नुहोला। 

पूजा सामग्रीको कुरा गर्नुपर्दा विशेषतः लक्ष्मीको फोटो वा श्रीयन्त्रको व्यवस्था गर्नुपर्छ। माता लक्ष्मीमाथि ध्यान एकाग्र गर्न सक्ने साधकले भने फोटो वा श्रीयन्त्रको खरिद गर्नैपर्छ भन्ने बाध्यता हुँदैन। पूmल वा अन्य जुनसुकै प्रतिमालाई लक्ष्मी मानेर पूजा गर्न सकिन्छ। लक्ष्मीलाई रातो आसनमा राख्नुपर्ने भएकाले रातो कपडाको व्यवस्था गर्नुपर्छ। स्वस्तिक आदि अन्य सजावटका चिह्न तथा मण्डप बनाउनका लागि रातो, पहेंलो आदि रंगको व्यवश्था गर्न सकिन्छ। रातो रंगमा सिन्दुर र पहेंलो रंगमा वृहस्पतिको प्रतीक तथा लक्ष्मीको अतिप्रिय बेसारको प्रयोग गर्नु सर्वाधिक श्रेष्ठ हुन्छ। सिन्के धुपको सट्टा भित्र काठको सिन्का नभएको धुप बाल्नु नै उत्तम हुन्छ।

वासनादार वस्तुमा अगरतगर, अष्ठगन्धा आदिको प्रयोग गर्न सकिन्छ। कलशको प्रयोग गर्दा तामा वा चाँदीको कलश प्रयोग गर्नुपर्छ। आफूले पकाएको चोखो नैवैद्य र ऋतु अनुसारको वनस्पति फलको व्यवस्था गर्न सकेमा राम्रो हुनेछ। धन आकर्षणको लागि बिजोर संख्यामा गोमति चक्र पनि लक्ष्मीलाई अर्पण गर्न सकिन्छ। शुद्ध जल, दुबो, चन्दन, खिर, पूmल, पञ्चामृत (दुध, दही, घिउ, मह, सख्खर वा चिनी), पञ्चमेवा (नरिवल, किसमिस, काजु, बदाम र छोकडा), ११ वटा साना दियो र एउटा ठूलो दियो तथा पूजामा सामान्यतया चाहिने सामग्रीहरूको व्यवस्था गर्नुपर्छ। 

सबै सामग्री ठिक गरेपछि पूजा गर्न बस्नुपर्छ। पूजा गर्ने ठाउँमा शुद्ध होस् भनेर गंगाजल वा आफूसँग भएको शुद्ध जलले छर्किनुपर्छ। पूजा गर्ने स्थानको सजावट पहिल्यै गरिसकेको हुनुपर्छ। त्यहाँ कुनै पनि फोहोर हुनुहुँदैन। अब पूजा गर्ने मुख्य स्थानमा रातो कपडा राख्नुपर्छ। त्यसमाथि स्वस्तिक चिह्न बनाउन सकिन्छ। त्यसमाथि कुनै भाँडोमा चामल राख्ने र चामलमाथि लक्ष्मीको फोटो वा श्रीयन्त्र राखेर लक्ष्मी स्थापना भएको मान्नुपर्छ। फोटो वा श्रीयन्त्र नहुनेले चामलमाथि स्वस्तिक चिह्न बनाएर वा श्री लेखेर वा कुनै पनि प्रतीकलाई लक्ष्मी मानेर पूजा गर्न सक्छन्। लक्ष्मीको दाहिनेपट्टि जलले भरेको तामाको कलश र मुख्य दियो हुनुपर्छ। लक्ष्मीलाई घेरेर बाँकी ११ वटा दियो राख्नुपर्छ। लक्ष्मीको देब्रेपट्टी गणेशलाई पनि कुनै भाँडोमा चामल राखेर त्यसमाथि सिंगो सुपारी वा अन्य कुनै प्रतीक वा गणेश मूर्ति राखेर गणेशको स्थापना गर्नुपर्छ। 

पूजा गर्नुपहिले आफू जुन मनोकामनाले पूजा गर्न लागेको हो सो कुरा मनमनै भन्नुपर्छ– हे लक्ष्मी माता, धन तथा सुख प्राप्तिको लागि म (आफ्नो नाम) आज हजुरको पूजा गर्दैछु... वा यस्तै केही मनमनै भनेर संकल्प गरि पूजा सुरु गर्नुपर्छ। 

पूजा गर्दा सबैभन्दा पहिले आफ्नो विशेष गुरुलाई संझिनुपर्छ। गुरु नहुनेले हात जोडेर श्री गुरुभ्यो नमः भन्दै पारलौकिक गुरुलाई पूजास्थानमा आएर पूजा गर्ने सही ज्ञान दिन अनुरोध गर्नुपर्छ। 

त्यसपछि दियोलाई चोखो जलले अभिषेक गरि वासनादार चिजजस्तै अष्ठगन्धा वा कुमकुम, पूmल, धुप, नैवैद्य, ऋतुफल आदि समर्पण गरेर पूजा गर्नुपर्छ। अब पूजामा कुनै पनि गल्ती नहोस्, पूजाबिना बाधा सिद्ध होस् भन्नका लागि गणेशको पूजा गर्नुपर्छ। गणेशलाई पूजा गर्दा पनि त्यसैगरि जलले अभिषेक गरेर फूल, अक्षता, धुप, गन्ध, नैबेद्य आदि चढाइन्छ। यज्ञोपवित र दुबो गणेशका अतिप्रिय वस्तुहरू हुन्, जुन कुरा चढाउन छुटाउनु हुँदैन। 

गणेशको पूजा गरिसकेपछि आफूले दैनिक पूजा गरिरहेको कुनै भगवान छन् भने उनको पूजा गर्न सकिन्छ। त्यस्तै नवग्रह, षेडश मातृका, महासरस्वती, महाकाली, कुबेर र बिष्णुको पनि पूजा गर्नु उपयुक्त हुन्छ। यदि यो लामो प्रक्रिया सकिँदैन भने गणेशको पूजापछि सिधै विष्णुलाई पनि सम्झिएर लक्ष्मीको पूजामा केन्द्रित हुन पनि सकिन्छ। 

लक्ष्मीको पूजा सुरु गर्दा सबैभन्दा पहिले लक्ष्मीलाई सम्झिएर एकाग्र भइ ध्यान गर्ने। आउँछ भने विशेष मन्त्र वा ध्यान मन्त्र मनमनै वाचन गरेर ध्यान गर्ने। आउँदैन भने श्री महालक्ष्म्यै नमः मनमनै बोल्दै ध्यान गर्नुपर्छ। ध्यान सकिएपछि अब लक्ष्मीको आउन भनेर आह्वान गर्नुपर्छ। विशेष विधान थाहा नहुनेले श्री महालक्ष्मी देवीं आवाहयामि मात्रै बोलेर आह्वान गर्न सक्छन्। आह्वानपछि हातको अञ्जुलिमा पाँचवटा फूल लिएर लक्ष्मीलाई चढाई उनलाई बस्ने आसन दिएको सम्झनुपर्छ।

त्यसपछि लक्ष्मीको स्वागतार्थ श्रीलक्ष्मी देवी स्वागतम भन्नुपर्छ। अब थोरै जल छरेर लक्ष्मीको खुट्टा धोइदिने, त्यसपछि फेरि थोरै जल लक्ष्मीको शिरमा अघ्र्यको रूपमा छर्ने र अन्तमा गंगाजल छर्किएर लक्ष्मीको पूरै शरीरलाई स्नान गराउनुपर्छ। गंगाजलले स्नान गराइसकेपछि फेरि पञ्चामृत त्यसैगरी छर्किएर स्नान गराउनुपर्छ। 

त्यसपछि कुमकुम वा कुनै बासनादार चिज समर्पण गर्नुपर्छ। फेरि लक्ष्मीलाई शुद्ध जलले स्नान गराउनुपर्छ। अब वस्त्र, मधुपर्क (मह र दुध), गहना, रक्तचन्दन, सिन्दूर, अनेक सुगन्धित द्रव्यहरू, अबीर, अक्षता र पूmल एवं रितले चढाउँदै जानुपर्छ। अब लक्ष्मीका आठ अंगहरू क्रमशः खुट्टा, घुँडा, कम्मर, नाभि, पेट, छाती, हात र आँखाको पुजा गर्नुपर्छ। अब लक्ष्मीलाई धुप र दियो क्रमशः देखाउनुपर्छ। त्यसपछि आफूले पकाएको नैबेद्य चढाएर लक्ष्मीको हातमा आचमनको लागि थोरै पानी हालिदिनुपर्छ। 

तत्पश्चात सान सुपारी, र दक्षिणा चढाएर लक्ष्मीलाई घुमेर प्रदक्षिणा गर्नुपर्छ। अन्तिममा लक्ष्मीलाई कुनै मन्त्र जस्तैः श्री महालक्ष्म्यै नमः जप्दै फूल चढाउनुपर्छ। अब लक्ष्मीलाई ढोग्दै पूजाको क्रममा आफूबाट भएको गल्तीको लागि क्षमाप्रार्थना माग्नुपर्छ। 

पूजाको प्रसाद सबैलाई बाँड्नुहोस्। पूजा गर्दा बालेको ११ वटा स–साना दियो घरका विभिन्न स्थानमा राखेर उज्यालो बनाउनुहोस्। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

ड्रेस सेन्स फैलाउने धाख्वा

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने....

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....