टिकटकमा रमाउँदै चल्तीका कलाकार 

टिकटकमा रमाउँदै चल्तीका कलाकार 
तस्बिर : गेट्टी इमेज।

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को कहरबीच नेपालका चल्तीका कलाकारहरू टिकटकमा रमाउन थालेका छन्। उनीहरू घरमा होस् वा साथीभाइ भेट्दा, टिकटक भिडियो बनाइरहेको देख्न सकिन्छ। कतिले त छायांकनका क्रममा समय निकालेर टिकटक भिडियो बनाउने गरेका छन्। 
 

चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला टिकटकमा सक्रिय छिन्। उनको टिकटक अकाउन्टमा दुई सय हाराहारी भिडियोहरू अपलोड गरिएका छन्। उनले गीत तथा चर्चित संवादमा अभिनय गरेको भिडियो टिकटक अकाउन्टमा पोस्ट गर्छिन्।

त्यसो त उनको टिकटक अकाउन्टमा अभिनेता दीपकराज गिरीसँग अभिनय गरेको भिडियो पनि देख्न सकिन्छ। दीपाश्रीलाई टिकटकमा २ लाख १३ हजारले फलो गरेका छन्। उनले अपलोड गरेका भिडियोहरूमा २.६ मिलियन भ्युअर्स पुगेको छ। 

दीपाश्रीकै सहकर्मी तथा कलाकार दीपकराज गिरी पनि टिकटकमा एकदमै रमाउने गरेका छन्। उनी कहिले भजनका गीतमा अभिनय गरेका भिडियो पोस्ट गर्छन् भने कहिले बलिउडका संवादमा। उनको टिकटक अकाउन्टमा २ लाख ३१ हजारभन्दा बढी फलोअर्स छन्। त्यो अकाउन्टमा सयभन्दा बढि भिडियो क्लिप्स अपलोड गरिएको छ। 

चलचित्र तथा म्युजिक भिडियोबाट विस्तारै हराउँदै गएकी प्रियंका कार्की टिकटकमा निकै जमेकी छन्। उनको एउटै भिडियोमा लाखभन्दा बढी भ्युज छ। उनको टिकटक अकाउन्टमा ५ लाख ६१ हजारभन्दा बढी फलोअर्स छन्। उनले अपलोड गरेका भिडियोमा अहिलेसम्म ७.९ मिलियन लाइक छ। 

उनी पनि टिकटकमा चलेका गीतका र चर्चामा आएका संवादमा अभिनय गर्छिन्। त्यति मात्र होइन, उनले अपलोड गरेका भिडियोमा कहिले पतिसँग त कहिले आमासँग अभिनय गरेको देख्न सकिन्छ। पाँच दिनअघि उनले टिकटकमा एउटा बच्चाको अभिनय गरेको भिडियो अपलोड गरेकी थिइन्। उक्त भिडियोमा दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।    

टिकटकमा रमाउने अर्का कलाकार हुन्, केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’। कोरोना कहरबीच उनले दैनिकजसो टिकटक भिडियो बनाएका थिए। उनको टिकटक अकाउन्टमा २ लाख ३ हजारभन्दा बढीले फलो गरेका छन्। उनको टिकटकमा अपलोड भएका भिडियोहरूलाई अहिलेसम्म १.२ मिलियन लाइक पुगेको छ। 

अभिनेत्री वर्षा राउतले पनि टिकटकमा दर्शकको माया पाएकी छन्। उनको टिकटकमा ८ लाख ४३ हजार ६ सय फलोअर्स छन्। दुई वर्षअघि टिकटक अकाउन्ट खोलेकी वर्षाले चार सयको हाराहारीमा भिडियो पोस्ट गरेकी छन्। ती भिडियोमा १ करोडभन्दा बढी लाइक छ। 

अभिनेत्री आँचल शर्मा पनि टिकटकमा फलोअर्स बढाइरहेकी छन्। कहिले हिन्दी गीत त कहिले नेपालका मान्छेको नक्कल गर्दै अभिनय गरेको भिडियो टिकटकमा पोस्ट गर्छिन्। दुई वर्षअघि टिकटकमा जोडिएकी उनको फलोअर्स संख्या ६ लाख ८९ हजारभन्दा बढी छ। 

अभिनेता आकाश श्रेष्ठ पनि टिकटकमा जोडिएका छन्। टिकटकमा चार वटा मात्र भिडियो अपलोड गरेका आकाशका २६ हजार ८ सय फलोअर्स छन्। उनको भिडियोमा १ लाख ७७ हजार ८ सयको लाइक छ। 

टिकटकमा रमाउने अर्की अभिनेत्री हुन्, पूजा शर्मा। उनको टिकटकमा ४ लाख १४ हजारभन्दा बढी फलोअर्स छन्। उनको भिडियोमा ६.७ मिलियन लाइक पुगेको छ। उनले आफ्नो टिकटक अकाउन्टमा सयभन्दा बढी भिडियो पोस्ट गरिएका छन्। 

चलचित्रबाट ओझेल पर्दै गएकी अभिनेत्री स्वेता खड्काले पनि टिकटक अकाउन्ट खोलेकी छन्। टिकटकमा हालै प्रवेश गरेकी स्वेताले दसैंयता टिकटकमा भिडियो अपलोड गरेकी छैनन्।

युट्युबर उत्सव रसाइलीसँग ‘रातो टीका निधारमा...’ बोलको गीतको भिडियो पोस्ट गरेयता उनको टिकटक अकाउन्टमा भिडियो अपलोड भएको छैन। उनको टिकटकमा २ लाख ५५ हजार फलोअर्स छन् भने ४.६ मिलियन लाइक छ। 

टिकटकमा रमाउनेमध्येमा पर्छिन्, मोडल करिश्मा ढकाल। उनी हरेक दिन टिकटकका भिडियो अपलोड गर्छिन्। उनले टिकटक अकाउन्टमा चार सयभन्दा बढी भिडियो अपलोड गरेकी छन्। उक्त भिडियोमा ७.३ मिलियन लाइक पुगेको छ। उनलाई ४ लाख १४ हजारभन्दा बढी टिकटकमा फलो गरेका छन्। 

अभिनेत्री नीता ढुंगाना टिकटकमा अभिनय र डान्स गरेको भिडियो पोस्ट गर्छिन्। उनले अहिलेसम्म ५ सयभन्दा बढी भिडियो पोस्ट गरेकी छन्। टिकटकमा उनलाई २ लाख ६९ हजार ९ सयले फलो गरिरहेका छन्। यस्तै, उनको भिडियोमा ४ मिलियन लाइक पुगेको छ। 

कुनै समय ‘चलेका कलाकारले टिकटकमा अभिनय गर्नुहुन्न’ भन्दै आएकी  अभिनेत्री वर्षा शिवाकोटी अहिले टिकटकमा रमाइरहेकी छन्। लकडाउनको समयमा टिकटक अकाउन्ट बनाएकी उनको ८१ हजारभन्दा बढी फलोअर्स छन्। उनले अपलोड गरेका भिडियोमा १ मिलियन लाइक पुगेको छ। उनले ७० भन्दाबढी भिडियो अपलोड गरेकी छन्। 

टिकटकमा पल शाह, केकी अधिकारी, श्वेता खड्का, शिल्पा पोखरेल, सुष्मा कार्की, अनु श्रेष्ठ, दीपिका प्रसाई, बेनिशा हमाल, झरना थापा, लक्ष्मी बर्देवा, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’, सागर लम्साल ‘बले’लगायत छन्। उनीहरूको फलोअर्स लाखभन्दा बढी छ। 

२६ कात्तिक, २०७७, १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।