केयूको अनसनलाई घरबाटै विद्यार्थीको साथ

केयूको अनसनलाई घरबाटै विद्यार्थीको साथ

काठमाडौं : काठमाडौं विश्वविद्यालयमा विद्यार्थीले सुरु गरेको रिले अनसनलाई विद्यार्थीले घरबाटै साथ दिएका छन्। 

अनलाइन कक्षावाहेकको अतिरिक्त शुल्क असुल गर्न खोजको भन्दै सुरु भएको अनसनलाई उनीहरुले घरबाटै ‘नो एक्स्ट्रा फि’ लेखिएको प्ला कार्डसहितका तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै दवाव दिएका हुन्। 

अनसनरत ‘स्कूल अफ इन्जिनियरिङ’ का प्रतिनिधी शैलेश मिश्रले भिडभाड गरेर अनसन बस्न सकिने अवस्था नरहेकाले घरघरबाटै समर्थन गरिरहेको जानकारी दिए। 

‘हामीले अनसन अघि अनलाइनमार्फत पनि राय लिएका थियांै। २ हजार विद्यार्थीले समर्थन जनाएका थिए’ उनले भने,‘अनसन तेस्रो दिनसम्म आईपुग्दा अभिभावक संघ, प्राध्यापक संघ लगायतले समर्थन जनाएका छन्। विश्वविद्यालयले वार्ताबारे कुनै प्रस्ताव राखेको छैन।’

स्कुल अफ साइन्स, स्कूल अफ इन्जिनियरिङ, स्कुल अफ ल र स्कूल अफ म्यानेजमेन्ट संकायका विद्यार्थीले विभिन्न ४ वुँदे माग राख्दै विश्वविद्यालयको प्रशासनिक भवन अगाडि रिले अनसन सुरु गरेका हुन्। 

विद्यार्थीले विश्वविद्यालयसँग समस्याबारे छलफल गर्दा चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको उनीहरुले बताएका छन्। 

अनसनरत ‘स्कुल अफ ल’ का प्रतिनिधी सादाव खानले रजिष्ट्रारसँग छलफल भएको जानकारी दिँदै ४८ घण्टे अल्टिमेटम दिइएको र व्यवस्थापनले वेवास्था गरेपछि अनसनमा जान बाध्य भएको बताए।

‘विश्वविद्यालयले अनलाइन कक्षावाहेक लाईब्रेरी, ईन्टरनेट, पाठ्यक्रमवाहेकका अतिरिक्त क्रियाकलापको शुल्कसमेत तिर्न सूचना निकालेको छ’ खानले उकेरासँग भने,‘हामीले उपयोग नै नगरेको सुविधाको कसरी शुल्क तिर्न सकिन्छ? ‘नो एक्स्ट्रा फि’ को माग सहित अनसनमा होमिएका हौं।’      

उनीहरुले विश्वविद्यालयको सूचना खारेज गर्न मागगर्दै शिक्षण शुल्क मात्र लिनुपर्ने, समस्यामा परेका विद्यार्थीका लागि कोभिड वित्तीय सहायता योजना लागु गर्न तथा महामारीको अवधिभर ढिलो शुल्क बुझाउदा लाग्ने शुल्क नलिन माग गरेका छन्।  

अनसनको नेतृत्व सृजना श्रेष्ठ, शैलेश मिश्र, सदाब खान,आयशा शाक्यलगायतले गरिरहेका छन्। 
 

२५ कात्तिक, २०७७, १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।