कार्तिक महिमा

कार्तिक महिमा

प्राचीन ज्योतिषीहरूले चन्द्रमाको उदय (शुक्ल द्वितीया)देखि अन्तिम देखाइ (कृष्ण चतुर्दशी)सम्मका २८ दिन नियाले होलान्। जून पूरै नदेखिने दुई दिन जोड्दा र एक पूर्णिमादेखि अर्काे पूर्णिमासम्म ३० दिनको अवधि सधैं उस्तैरूपमा दोहोरिएकोे देखेपछि यसलाई एक जून (मुन–मुना–महिना) भने होलान्।

अनि एउटा शरददेखि अर्काे शरदसम्मका १२ वटा जूनको अवधिलाई एक शरद (साल) भने होलान्। पछि यो नै चन्द्रवत्सर हुन आयो।

कार्तिक शुक्ल प्रतिपदामा सुरु भएर लक्ष्मीपूजामा टुंगिने नेपाल वर्ष यसको उदाहरण हो। यस्तै, जनवरी १ बाट सुरु भई डिसेम्बर ३१ मा टुंगिने ईशवीय वर्षचाहिँ पूरै सौर्यवत्सरको उदाहरण हो। वैशाख १ गतेदेखि चैत मसान्तसम्मको विक्रम वर्ष भने दिनको हिसावले सौर्यमान र महिनाको नाम अनि तिथि पर्वका लेखाले चन्द्रमान दुवैको मिश्रित वर्ष हो। 

सूर्य तुला राशि मण्डलमा (चित्राताराको तेस्रो चौथाइदेखि विशाखाताराको तेस्रो चौथाईसम्म) रहने ३० दिनको अवधि विक्रम संवतको सातौं महिना हो। यस महिनाको पूर्णिमाको जून कृतिका तारासँगै उदाउने भएकाले यस महिनालाई कार्तिक भन्ने चलन चल्यो। 

शरदको कञ्चन आकाशमा चम्किलो जून टल्कने कार्तिकलाई सयपत्री, गोदावरी, मखमली लगायतका सुन्दर फूलहरूले लटरम्म पारेर पुष्पहार अर्पण गर्छन्। अम्बा, स्याउ, सुन्तला आदिका वृक्षहरू सरस–सुस्वदु फलको भारले लचक्क नुहेर अभिवादन गर्छन् । नदीका उर्वर उपत्यका धानका स्वर्णिम बाला झपक्क पारेर पहेँलपुर हुन्छन्। कोदोको बाला, मास–भटमास–बोडी–सिमी आदिका झुताझुतामा किसानका खुसी छचल्किन्छन्।

दसैं, तिहार जस्ता पर्वको बहानामा सबैका ज्यानले नयाँ लुगा र मिठामिठा परिकार भेट्छ। कार्यालयमा काम गर्नेहरू पनि लामो छुुिट्ट पाएर आफ्ना मान्यजन र प्रिय मनसँंग समय बिताउँछन्। पिङ, चंगामा लठ्ठिएका केटाकेटी, आफन्तलाई आशीर्वाद बाँडेर फुरुंग भएका बूढाबूढी सबै रमाउँछन्। बोटबिरुवा, पशुदेखि मान्छेसम्मलाई हर्ष र उमंगमा दंग पार्ने कार्तिक साक्षात लक्ष्मीले घरघरमा विचरण गर्ने महिना हो। 

कवि शिरोमणि लेखनाथ देख्छन्-

‘वर्षा जाँगरिली दासी धोई पोतीली पीचली।
शरद मालिकिनी जस्ती गर्न थाली ढलिमली...’

मालिक ऋतुको पूर्ण यौवन महिना, ठूला चाडबाडको महिना, गर्मी र जाडोको समयोग परेको सुन्दर महिना साच्चै महत्त्वपूर्ण मानिन्छ कार्तिक महिना।

वेदमा ‘नमो वस्पितरो रसाय...’ भन्ने मन्त्रमा वर्षभरिको समयलाई रस, ताप, जीवन, भोजन, त्रास र क्रोधको रूपमा ६ ऋतुमा बाँडेको पाइन्छ। यहाँ शरद स्वधाको रूपमा लिइएको छ। मान्छेलाई यज्ञ (कर्म) गर्ने आधार अर्थात् वर्षभरिको समय बदलिएको बुझ्ने आधारमा वसन्त, ग्रिष्म र शरद ऋतुहरूले ठूलो मद्दत पुर्याएको कुरा ऋग्वेदको पुरुषसूक्तमा यसरी व्यक्त भएको छ : 

‘यत्पुरुषेण हविषा देवायज्ञमतन्वत। वसन्तोस्यासीदाज्यड्गृष्मईध्म शरद्हवि।।’

(यस यज्ञमा वसन्त ध्यू, गृष्म समिधा र शरद हवि (चरु) बने अर्थात् वसन्त, गृष्म र शरदको पे्ररणा र सहयोगमा मानिसका जीविका तथा आविष्कार सरल बने।)

वेदले शरदलाई महत्त्वपूर्ण ऋतुको रूपमा, अझ भनौं वर्षको सारको रूपमा लिएको कुरा पश्येमस् शरदस् सतजीवेमस् शरदस् सतं...’ आदि मन्त्रहरूले पनि पुष्टि गर्छन्।

पुराणहरू त कार्तिक महिनाको प्रशंसा गरेर थाक्दैनन्। पद्म पुराण, स्कन्द पुराणमा पाइने कार्तिक महात्म्य अनुसार स्नान दान व्रतादिका लागि वैशाख उत्तम, माघ झनै उत्तम र कार्तिकचाहिँ माघभन्दा पनि कयौं गुणा उत्तम मानिन्छ। यस महिनामा गरेको प्रात स्नान, विष्णु पूजन, तुलसी सेवा, शिवोपासना, लक्ष्मीपुजा आदिको अक्षयफल हुन्छ भन्ने मान्यता छ। व्रत तथा उपवासका लागि पनि यो महिना अत्यन्त पावन मानिन्छ। यो महिनामा गरिएको अन्नादि द्रव्यदानको फल अक्षय मानिन्छ। 

पुराणका अनुसार यस महिनाका कृत्यहरूलाई यसरी बुझ्न सकिन्छ :

स्नान : दैनिक गरिने प्रात स्नानबाट सम्पूर्ण पाप नष्ट हुन्छन्। नदी स्नान धेरै पुण्यदायक मानिन्छ। 

व्रत उपवास : कार्तिकमा गरिने व्रतोपवासहरू अत्यन्त फलदायी मानिन्छन्। व्रतमा १२ दिने कृच्छ्व्रत (तीन दिन दिउँसो खाने, तीन दिन राति खाने, तीन दिन दिनमा कसैले आफूखुसी दिएको शुद्ध खानेकुरा खाने र तीन दिन निराहार बस्ने व्रत), १६ दिने प्राजाप्रत्यव्रत (चार दिन दिउँसो खाने, चार दिन राति खाने, चार दिन कसैले आफूखुसी दिएको शुद्ध खानेकुरा खाने र चार दिन निराहार बस्ने व्रत) आदि मुख्य छन्। यी कुनै व्रतोपवास गरेमा सम्पूर्ण पाप नाश भई नरक जानै पर्दैन भन्ने मान्यता छ। 

पूजा : यो महिना गरिने गणेश, सूर्य, देवी, शिवर विष्णुको पूजाले अत्यन्त पुण्य मिल्ने तथा आयु, आरोग्य र ऐश्वर्य वृद्घि हुने मान्यता छ। विष्णुको पूजा विशेष मानिन्छ। कार्तिकमा विष्णुलाई अगस्ती, मालती, केतकी तथा कमलका फूल माला चढाउनाले निस्पाप हुने तथा ऐश्वर्यवान हुने कुरा पुराणहरूमा उल्लेख छ। 

दीपदान : यो महिनाको मुख्य विशेषता दीपदान हो। कोजाग्रतका दिनदेखि १ महिना आकाशबत्ती बाल्नाले भगवान विष्णु प्रशन्न हुने र निस्पाप हुने बताइन्छ। 

आहार विहार : व्रतीलाई आमिष सेवन वर्जित छ। यसका साथै द्वीदलीय खाद्य (दुईफक्लेटा हुने फल तथा अन्न), तेल, भाण्टा, अमिलो पनि निषेधित मानिन्छ। भूमिशयन तथा ब्रम्मचर्य धारणको ठूलो महत्त्व छ। 

कार्तिक महिनाका विशेष दिन र कृत्यहरू : 

कृष्ण चौथी : करक चौथ– पूजाविशेष।

कृष्ण द्वादशी : गोवत्स द्वादशी बाच्छीसहित गााई पूजा र बेलुका आरती।

कृष्ण त्रयोदशी : काग तिहार बिहान काग पूजा, बेलुका यमराजको नाममा चारसूते बत्ती बालीदिनाले अपमृत्यु नहुने।

कृष्ण चतुर्दशी : नरके चतुर्दशी, कुकुर तिहार बिहान तिलको तेल लगाएर स्नान गर्ने र शिरमा अपामार्ग घुमाउनाले यमराज खुशी हुने र नरक जानुनपर्ने मान्यता छ। यो दिन कुकुर पूजा गरिन्छ। बेलुका दीप माला तथा दीपावली।

कृष्ण औशी : गाई तिहारे औंशी, बिहान अभ्यङ्ग स्नान, अलक्ष्मी नाशको लागि देवीपूजा, गाईपूजा र बेलुका दीपावली तथा लक्ष्मीपूजा। साँझमा हातमा राँको लिएर पितृलाई बाटो देखाउने र मध्य रातमा अलक्ष्मीलाई नाङ्गलो ठटाउँदै घरबाट बाहिर पठाउने विधि पाइन्छ।

शुक्ल प्रतिपदा : नेपाल सम्बत प्रारम्भ, गाईपूजा, गोवर्धनपूजा, बेलुका बलिराजाको पूजा, द्युतक्रीडा र आमोदप्रमोद।

शुक्ल द्वितीया : भाइटीका, यमपूजा, भाइपूजा, भगिनीपूजा। दिदीबहिनीबाट मात्र खाना खाने दिन।

शुक्ल अष्टमी : गोपाष्टमी गाईपूजा।

शुक्ल नवमी : कुष्माण्ड नवमी कुभिण्डोमा सुन राखेर दान गर्ने। यस दिनदेखि विष्णु त्रिरात्र व्रत सुरु हुन्छ। यस व्रतमा तुलसीसहित विष्णुको तीन दिन पुूजा गरेर विष्णुसँग तुलसीको विवाह गरिदिइन्छ। 

शुक्ल एकादशी : हरि बोधिनी एकादशी व्रत। फूल तार्ने तथा देवोत्थान (भगवान विष्णुलाई जागा गराउने) यही एकादशीदेखि पाँच दिनसम्म भीष्मपञ्चक भन्ने कठोर व्र्रत गरिन्छ। 

शुक्ल चतुर्दशी : वैकुण्ठ चतुर्दशी व्रत।

शुक्ल पूर्णिमा : कार्तिक स्नानव्रतोपवासको उद्यापन।

यसरी कार्तिक महिना प्राकृतिक सौन्दर्यमा अब्बल, जाडो अनि गर्मी नहुनाले स्वास्थ्यको लागि उत्तम, किसानका फसल लटरम्म पाकेका हुनाले लक्ष्मीमय, विभिन्न चाडपर्व पर्ने हुँदा हर्ष र उल्लासमय महिना हो। धार्मिक दृष्टिकोणले त झन् यसलाई सर्वाेत्तम महिना मानिएको हुँदा आ–आफ्नो आस्था र सम्भाव्यतामा आधारित भई यस महिनाको भरपूर उपयोग गरौं, आउँदै गरेको तिहार सबैको लागि सुखद रहोस् हार्दिक मंगलमय शुभकामना।

(धिताल अध्यात्म, धर्म र सस्कृतिबारे लेख्छन्।) 

२५ कात्तिक, २०७७, ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।