गाडेको सुन

गाडेको सुन

अफ्रिकाको एउटा गाउँमा एकजना अधबैंसे युवक बस्ने गर्थ्यो। उसको घरमा उ एक्लै बस्थ्यो। उसले निकै मिठो स्वरमा गीत गाउँथ्यो।  उसको यो क्षमता देखेर मान्छेहरुले विवाह, उत्सवहरुमा पनि उसलाई बोलाएर गीत गाउन लगाउँथे।

त्यसबापत कहिलेकाँही उसले राम्रै पैसा पनि कमाउने गर्थ्यो। यसैक्रममा एकदिन एउटा धनाढ्य मान्छेको घरमा उसलाई गीत गाउन बोलाईयो। त्यहाँ गीत गाएर उसले पारिश्रमीकवापत केही सुनका सिक्काहरु पायो।

सामान्य आर्थिक अवस्था भएको मान्छेले यति धेरै पारिश्रमिक पाउँदा उसलाई भित्रभित्रै डर पनि लाग्यो। घर आएपछि उ यो सुन कसरी बचाउने भन्ने ध्याउन्नमा लाग्न थाल्यो।

साथमै लिएर हिँड्दा लुट्छन् कि भन्ने डर, अनि घरमै राख्दा चोर्छन् कि भन्ने डर। यस्तै सोंच्दासोंच्दै राति भयो। राति उसले त्यो सुनलाई एउटा थैलोमा राखेर आफ्नै घर पछाडिको करेसाबारीमा गाड्ने बिचार गर्यो।

रातको १२ बजे उ करेसाबारीमा गएर त्यो सुनको पोकोलाई एउटा खाल्डो खनेर गाड्यो। उसले करेसाबारीमा खाल्डो खनेको पल्लोघरको उसको छिमेकीले देख्यो।

छिमेकीलाई निकै अचम्म लाग्यो अनि नजिकै आएर लुक्दै गायकले के गर्दैछ भनेर छिमेकीले चियो गर्न थाल्यो।

गायकले सुनको थैलो गाडेको उसले चाल पाईहाल्यो। अब छिमेकीको मनमा पाप पलायो। उसले भोलिनै त्यो गाडिएको सुन झिक्ने बिचार गर्दै त्यहाँबाट गयो।

नभन्दै भोलिपल्ट गायक कतै गएको मौका पारेर छिमेकीले खाल्डोबाट त्यो सुनको पोको झिकेर सुन झिक्यो अनि खाल्डो जस्ताको त्यस्तै  गरी पुरिदियो।

केही दिनपछि गायकलाई आफ्नो सुन हेर्न मन लाग्यो। उसले खाल्डो खनेर हेर्दा त त्यहा पोकोमात्र थियो तर सुन गायब थियो। उ निकै दुःखी भयो।

उसले जिन्दगीमा आफ्नो कलाबाट कमाएको त्यो सबैभन्दा ठूलो कमाई थियो। उसले त्यो सुन चोर्ने चोरलाई पत्ता लगाउने बिचार गर्यो।

उसको करेसाबारी देखिने ठाउँ भनेको उसकै छिमेकीको घरमात्र थियो। त्यसैले उसले छिमेकीले नै त्यो सुन चोरेको अनुमान गर्यो ।

त्यसपछि उसले जुक्ती लगाउँदै छिमेकीलाई भेट्यो। उसले छिमेकीलाई आफुले सुनका सिक्का उपहार पाएकोदेखि करेसाबारी पछाडि लुकाएकोसम्म सबै कुरा भन्यो तर, चोरी भएको कुरा भनेन।

छिमेकी चाही कतै पोल खुल्ने हो कि भनेर डरायो तर उत्तिखेरै आफुलाई सम्हाल्यो। त्यसपछि गायकले फेरी पनि आफुले पहिलाभन्दा अझ बढी सुनका सिक्काहरु जम्मा गरेको छु भन्दै त्यो सिक्काहरु कहाँ लुकाउने होला भनेर छिमेकीसँग सुझाव माग्यो।

छिमेकीको मनमा त पाप थियो। उसले फेरी चोर्न पाईने भो भन्ने सोच्यो। अनि गायकलाई त्यही खाल्डोमै लुकाउ भनेर सुझाव थियो। गायकले पनि छिमेकीलाई सुझाव दिएकोमा धन्यवाद दिँदै त्यहाँबाट गयो।

दिउसो गायक बाहिर कतै गएको मौका छोपेर छिमेकीले पहिला आफुले चोरेको सिक्कालाई पनि सोही खाल्डोमा लगेर पुरीदियो।

किनकी उ चाहन्थ्यो कि गायकलाई त्यहाबाट सुनको सिक्का चोरी भएको कुरा थाहा नहोस्। गायकले फेरीपनि अझ धेरै सुनका सिक्काहरु गाडेपछि एकमुष्ठ सबै सिक्का हात पार्ने छिमेकीको दाउ थियो।

राति गायक खुसुक्क करेसाबारीको त्यो खाल्डोमा गयो। टाढाबाट छिमेकीले गायकले खाल्डो खोस्रेको अनि त्यहा अझ ठूलो पोको गाडेको देख्यो।

छिमेकीलाई अब कहिले बिहान होला र त्यो गायक कतै गएपछि खाल्डोबाट त्यो सुनको पोको निकालौंजस्तो भयो। रातभरी उ निदाउन पनि सकेन।

बिहान जब गायक घरबाट निस्क्यो, छिमेकी फटाफट गायकको करेसाबारीको त्यही ठाउँमा गयो जहाँ सुनको पोको गाडिएको थियो। उसले हतार हतार खाल्डो खोर्स्यो।

त्यहा एउटा ठूलै पोको थियो। उ निकै खुशी हुदै त्यो पोको खोल्यो तर, त्यहाँ सुन थिएन ढुंगा मात्रै थियो। वास्तवमा गायकले छिमेकीले फिर्ता राखिदिएको सुन झिकेर त्यहाँ ढुंगाले भरिएको पोको राखिदिएको थियो।

यसरी गायकले आफ्नो सुन पनि पायो अनि चोर छिमेकीले भने चोरेको सुन पनि गुमायो।

२४ कात्तिक, २०७७, १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।