दुई वर्षमै ५ वटाबाट ३५ गाई

दुई वर्षमै ५ वटाबाट ३५ गाई
फर्ममा गाईको हेरचाह गर्दै सीताराम लुइँटेल। 

विराटनगर : सुनसरी, तरहराका सीताराम लुइँटेल खेती गरेर जेनतेन गुजारा चलाउँदै आएका थिए। अर्काको खेतमा अधिया खेती गरेर जेनतेन जीविका चलाउँदै आएका उनको अवस्था फेरिएको छ। 
 

दुई वर्षपहिले चिनजानका एक जना साथीले विराटनगरका बद्री बस्नेतसँग साझेदारीमा कृषि फर्म सञ्चालन गर्ने सुझाव दिए। साथी लेने बस्नेतसँग आफ्नो चिनजान गराएको उनले बताए। बस्नेतसँग साझेदारीमा फर्म सञ्चालनको कुरा साथीले चलाएपछि उनी फर्म सञ्चालनका लागि राजी भए। बस्नेतसँगको साझेदारीमा फर्म सञ्चालन गर्दा धेरैजसो लगानी बस्नेतले गर्ने र फर्म सञ्चालनको जिम्मा आफूले लिने लुइँटेलले सहमति गरे। 

विराटनगर–१९, धनपुरास्थित बस्नेतकै ६ कठ्ठा जग्गामा फर्म खोल्ने तयारी भयो। जग्गामा घेरबार र गाई फर्मका लागि गोठहरू बस्नेतले नै तयार गरिदिए। 

गोठ तयार भएपछि पहिलो लटमा ५ वटा गाईबाट फर्मको थालनी गरेको लुइँटेल बताउँछन्। दुई वर्षपहिले पाँच वटा गाईबाट सुरू गरेको गाईफर्ममा यतिबेला ३५ वटा गाई पुगेका छन्। पाँच वटा माउ गाई फर्ममा भएपछि केही साना बाछीहरू उनले किनेर ल्याए। गाईको दुध बेचेर आएको रकमबाट बाछी र भैसीका पाडी किनेको उनले बताए।

‘दुधबाट आएको नाफाले कोरली गाई थप्दै गएँ,’ उनले भने, ‘सुरुमै किनेका कोरली गाई ब्याएर दुध दिन थालिसकेका छन्।’ 

आफ्नै गोठका बाछीहरू पनि हुर्कंदै गएको उनले बताए। दुधबाट आएको नाफाले केही गाई थपिसकेको उनले बताए। हाल गोठमा भएका ३५ वटा गाईमध्ये ९ वटाले दुध दिइरहेका छन्। ९ वटा ब्याउनेछन्। यस्तै, १० वटा बाछीहरू कोरली भइसकेका छन् र केही साना बाछी हुर्कदै गरेको उनले बताए। 

यस्तै, एउटा भैंसी २ वटा भैसीका पाडी पनि आफूले पालन गरेको उनले बताए। एउटा पाडी भैसी किन्दै आएको हो भने एउटा बाहिरबाट किनेर ल्याएको उनले सुनाए। करिब  १५ लाख रूपैयाँ जति लगानी गरेको फर्ममा दुई वर्षमै गाई, भैंसी, बाख्रा गरेर ४० लाख रूपैयाँ जतिको सम्पत्ति पुगिसकेको उनले बताए। यसबीचमा तीन वटा गाई मरेको उनी बताउँछन्। खुट्टा सुन्निने पाक्ने र मर्ने समस्या देखिएपछि गोठका तीन वटा गाई मरे पनि आफूलाई धेरै नोक्सानी नभएको उनले बताए। उनले भने, ‘गाईको बिमा गरेका कारण तीन वटा माउ गाई मरे पनि बिमाबाट पैसा आएकाले घाटा लागेन।’ 

दुध बेचेर एक महिनामै दुई लाख रूपैयाँ कमाउँदा उनलाई जीवनमै धेरै खुसी लागेको उनले बताए। ‘यतिबेला धेरैवटा गाई ब्याउने र केही थाक्न लागेका छन्,’ उनले भने, ‘र पनि महिनाको करिब डेढ लाख रूपैयाँ आम्दानी भइरहेको छ।’ 

कोरलीबाट फाइदा 

दुध बेचेरभन्दा साना बाछी ल्याएर हुर्काउँदा धेरै फाइदा भएको लुइँटेलले बताए। उनका अनुसार दुध बेचेर आएको आधा रकम गाई बाछालाई घाँस दाना खुवाउँदै सकिन्छ। तर, कोरली हुर्काउँदा एकै वर्षमा निकै धेरै आम्दानी हुने उनको अनुभव छ। 

गाईका बाछा र भैसीका पाडी हुर्काउँदा एकै वर्षमा ३÷४ गुणाभन्दा बढी फाइदा हुने गरेको उनले बताए। छिट्टै फाइदा लिन सकिने भएकाले उनले अर्को गोठ थपेर राँगापालन गर्ने सोच पनि बनाएका छन्। चाडै नै २० वटा राँगा पाल्ने उनले योजना बनाएका छन्।

राँगा पालनबाट पनि थोरै समयमै धेरै नाफा हुने उनले बताए। फर्ममा गाई–भैंसीबाहेक लोकल कुखुरा, टर्की र बाख्रा पनि उनले पालेका छन्। दैनिक खर्च खसी, लोकल कुखुरा र टर्कीबाट आफुले जुटाइरहेको उनले बताए। 

कामदार पाउनै मुस्किल 

गाई फर्म बढाउँदै लगे पनि गोठमा काम गर्ने कामदार नपाउँदा समस्या भएको उनले बताए। ‘गोठमा काम गर्ने भनेपछि कोही पनि काम गर्न आउन मान्दैनन्,’ लुइँटेलले भने। बल्ल बल्ल एकजना काम गर्ने मान्छे भेटेर आफूले काममा लगाइरहेको उनले बताए। अन्य क्षेत्रमा काम गर्ने मानिसको ओइरो लागे पनि गोठमा काम गर्न कसैले नरुचाउँदा ठूलो फर्म सञ्चालन गर्न समस्या हुने उनको भनाइ छ। 

२३ कात्तिक, २०७७, १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।