हिप चिटिक्क मिलाउने यौन व्यायाम

हिप चिटिक्क मिलाउने यौन व्यायाम

काठमाडौं : शारीरिक आकर्षणमध्येको एक अंग हो, हिप। हिप नमिलेको अवस्थामा व्यक्तिको सुन्दरतामा नै असर पुग्छ। स्वास्थ्यका दृष्टिले पनि हिपको आकार मिल्नु आवश्यक हुन्छ। 

 

हिप र थाई फरक हुन्। हिप मेरुदण्डभन्दा तल हुन्छ। थाईभन्दा माथि हुन्छ। व्यक्तिको हिपको आकार सानो वा ठूलो, सुकेको वा फुकेको हुन सक्छ। 

महिलाको हिप ठूलो हुने कारण

सामान्यतः महिलाको हिप ठूलो हुन्छ। पुरुषको तुलनामा महिलाको हिप ठूलो हुनुको पनि कारण छ। पुरुषको तुलनामा महिलाको हिप ठूलो हुनु प्रजनन् स्वास्थ्यको लागि प्राकृतिकरूपमा नै आवश्यक हुन्छ। विशेषगरी चिटिक्क हिप मिलेका महिलाको सुन्दरताको चार्म नै बेग्लै हुन्छ। 

हिप धेरै फुकेको तथा धेरै सुकेको अवस्थामा अमिल्दो देखिन्छ। हिपको आकार नमिल्दा महिलामा तनावको स्थितिसमेत उत्पन्न हुनु स्वभाविकै हो। सामान्यतः हिप ठूलो भएका महिलाको ज्यान नै मोटो भएको पाइन्छ। हिप नमिलेको तथा भद्दा भएको अवस्थामा त्यसले महिलाको सुन्दरतामा नै असर पुग्छ।

प्राकृतिकरूपमा नै पुरुषको भन्दा महिलाको हिप सामान्यतः ठूलो र फुकेको हुन्छ। वंशाणुगतरूपमा पनि व्यक्तिको हिप सानो तथा ठूलो हुन्छ। हिप सानो वा ठूलो हुनु हार्मोनमा पनि भर पर्छ। महिला हार्मोन र पुरुष हार्मोनका कारण सामान्यतयाः पुरुषको भन्दा महिलाको हिप ठूलो हुन्छ। 

त्यसो त हिप नमिलेको तथा भद्दा भए पनि चिन्ता लिइहाल्नु पर्ने अवस्था भने छैन। व्यायामका विभिन्न तरिका अपनाएर हिपको आकार मिलाउन तथा आकर्षक बनाउन सकिन्छ। व्यायाम गरी ठूलो आकारको हिप सानो बनाउन सकिन्छ भने सानो हिप ठूलो बनाउन सकिन्छ। पछिल्लो समय व्यायामका विभिन्न विधि अपनाई हिपको आकार मिलाउने तथा साइजमा ल्याउनेको संख्या बढिरहेको देखिन्छ।

त्यसैले अब हिप चिटिक्क मिलेको आकारमा ल्याउने तथा आकर्षक बनाउने व्यायाम विधिबारे चर्चा गरौं।

हिप मिलाउने यौन व्यायाम

यौन सम्पर्कका क्रममा पनि व्यायाम पुगेको हुन्छ। यौन सम्पर्क गर्नाले हिप मिलेको आकारमा ल्याउन सकिन्छ। विशेषगरी यौन सम्पर्क गर्दा महिलामा हिपको व्यायाम पुग्छ। महिलामा बच्चा जन्माउँदा पनि हिपको व्यायाम हुन्छ। सामान्यतः विवाह गरेका तथा बच्चा जन्माएका महिलाको हिप फुक्छ, ठूलो हुन्छ। विवाहपछि हिप फुक्ने तथा ठूलो हुने एउटा कारण यौन सम्पर्क हो। 

महिलाको हिपको आकार ठूलो भएको हुनाले पनि बच्चा जन्माउन सहज हुन्छ। बच्चा जन्मिएपछि भने महिलाको शरीर तथा हाडजोर्नी खुकुलो हुन्छन्। सुत्केरी भएको करिव तीन महिनापछि शरीर सामान्य (नर्मल) अवस्थामा फर्कन्छ। त्यसैले सुत्केरी भएको तीन महिनापछि मात्रै व्यायाम गर्नुपर्छ। 

त्यसो त महिलाको मात्रै हैन पुरुषको पनि सन्तुलित यौन सम्पर्कले हिपको आकार मिलाउन मद्दत पुग्छ। त्यसैले भन्न सकिन्छ– यौन जोडीसँग सन्तुलितरूपमा यौन सम्पर्क गर्नाले हिपको आकार मिलाउन सकिन्छ। विशेषगरी यौन सम्पर्क गर्नाले हिपको सानो आकार ठूलो हुन्छ। 

हिप–डान्स 

हिप हल्लाएर डान्स (हिप–डान्स) गर्दा पनि हिपको राम्रो व्यायाम हुन्छ। अफ्रिकाजस्ता मुलुकमा हिप हल्लाएर डान्स गर्ने परम्परा लोकप्रिय छ। हिप हल्लाएर डान्स गर्दा हिपको मांसपेशी कसिलो हुन्छ, जसले भद्दा भएको तथा सानो हिप मिलेको आकारमा ल्याउन सकिन्छ। दैनिक १५ मिनेट यस्तो व्यायाम गर्नाले हिप ठूलो तथा फुकेको आकारमा ल्याउन मद्दत मिल्छ। 

व्यक्ति पाको हुँदै जाँदा हिपका कोषिका पनि ह्रास हुँदै जाने नै भए। पाको हुँदै जाँदा हिपका कोषिका ह्रास हुँदै जाने भएकाले सामान्यतः उमेर जति पाको हुँदै गयो हिप पनि त्यति नै सुक्दै जान्छ। पाको उमेरमा हिप ठूलो बनाउने किसिमका व्यायाम धेरै प्रभावकारी नहुने भए पनि केही हदसम्म भए पनि लाभदायक हुन्छ। त्यसैले पाको उमेरका व्यक्तिले पनि हिप हल्लाउँदै नाच्न तथा व्यायामका अन्य विधि अपनाउन सकिन्छ। 

पुतली आशनले चिटिक्क हिप

पुतली अर्थात् बटरफ्लाई आशनमा व्यायाम गर्दा भद्दा भएको तथा नमिललेको हिप मिलेको आकारमा ल्याउन सकिन्छ। बटर फ्लाई आशनमा व्यायाम गर्दा सबैभन्दा पहिले दुवै खुट्टाका पञ्जा जोडेर भुइँमा बसिन्छ। हातका पञ्जाले खुट्टाका पञ्जा नमस्कार गरेजस्तैगरी च्यापिन्छ। दुवैतर्फका घुँडा भने पलेटी मारेर बस्दा देखिनेझैं गरी फारेर बाहिर निकालिन्छ। अब घुँडाले भुइँमा छुँदै उठाउन सकिन्छ। पुतली आशनमा बसेर गरिने यस्तो व्यायामले जाङ र हिपको हाडजोर्नी लचिलो हुन्छ, खुल्छ। जसले हिपको मांशपेशी लचिलो भई हिप मिलेको आकारमा ल्याउन सकिन्छ। 

होचो व्यक्तिको हिप ठूलो भएको अवस्थामा व्यायामका विधि अपनाई शारीरिक तौल घटाउन सकिन्छ। शारीरिक तौल घटाउँदा हिप मिलेको आकारमा ल्याउन मद्दत मिल्छ। 

सानो हिप ठूलो बनाउने तरिका

कतिपय व्यक्तिको त हिप अस्वभाविक तरिकाले भद्दा हुन्छ। अस्वभाविकरूपमा भद्दा भएको हिपलाई पनि आकारमा ल्याउन भने सकिन्छ। विशेषगरी पुरुषको धेरै ठूलो हिप भद्दा देखिन्छ। त्यसो त हिप सुकेका पुरुषको पनि व्यक्तित्वमा नै असर पर्छ। पुरुषले होस् वा महिलाले सुकेको हिप बढाउन सकिन्छ। योगा तथा जिमको विभिन्न व्यायामका तरिका अपनाई हिपको आकार ठूलो बनाउन सकिन्छ। 

आकार बढाउन दौड्ने, हिँड्ने, उफ्रने, उठबस गर्नेजस्ता शारीरिक व्यायाम गर्न सकिन्छ। यसरी व्यायाम गर्दा हिपको बोसो कम हुन्छ। जसले हिप सानो तथा मिलेको आकारमा ल्याउन सकिन्छ। 

उठबस गर्दा हिप सानो

भद्दा भएको हिपको आकार मिलाउन तथा सानो बनाउनका लागि उभिँदै टुक्रुक्क बस्न सकिन्छ। यसरी बस्दै उठ्दै गर्दा दुवै हात दुवै घुँडामा राख्नुपर्छ। 

यस किसिमको व्यायामले हिपको मांशपेशी लचिलो हुन्छ। मांशपेशी कडा हुन्छ। मांसपेशी लचिलो र कडा भएपछि हिपको बोसो कम हुन्छ। हिपको बोसो नै कम भएपछि भद्दा भएको तथा ठूलो आकार भएको हिपको  आकार सानो र मिलेको आकारमा आउँछ। सामान्यतः महिलाको हिपको आकार ठूलो हुने भएकाले घुँडा मारेर गरिने यस्तो व्यायाम महिलाको हिप मिलाउन तथा सानो आकारमा ल्याउन उपयोगी हुन्छ। यस्तो व्यायाम दैनिक १५ मिनेट गर्न सकिन्छ। 

मुडामा बस्दा चिटिक्क हिप

मुडा वा कुर्सीमा बसेर पनि हिपको व्यायाम गर्न सकिन्छ। मुडा वा कुर्सीमा बसेपछि दुवै खुट्टा साइकल चलाएजसरी चालिन्छ। दुवै खुट्टा साइकल चलाएजसरी चाल्दा हिपमा दबाब पर्छ। जसले हिपको मांशपेशी कसिलो बन्छ। बसेर दुवै खुट्टाले साइकल चलाएजस्तै गरि खुट्टा चाल्न सकिन्छ। यस्तो साइकल चलाएजस्तै गरिने व्यायामले हिपमा दबाब परि हिपको मांशपेशी कसिलो हुन्छ। त्यसैगरी मुडा वा कुर्सीमा नै बसेर दुवैतर्फका खुटा (पञ्जा)मा उचाल्न सक्ने तौल राखिन्छ। जसले भद्दा देखिने हिप मिलेको आकारमा आउन मद्दत पुग्छ। 

घुँडा थिच्दै खुम्च्याउने 

उभिएर व्यायाम गरि हिप मिलाउँदा सबैभन्दा पहिला सिधा उभिनुपर्छ। त्यसपछि एउटा खुट्टा घुँडाभन्दा तल आउने उचाईको टेबुलमा टेकिन्छ। टेबलमा टेकिएको खुट्टाको घुँडामा एउटा हात राखिन्छ। पञ्जाले घुँडा थिचिन्छ। अर्को हात पछाडि लगेर हिपमा राखेर हिपलाई थिचिन्छ। 

त्यसपछि टेबुलमा राखेको हातले घुँडामा थिचिरहेर टेबुलमाथि राखेको खुट्टा खुम्च्याउँदै अगाडि र पछाडि लगिन्छ। एकातर्फको खुट्टा अगाडि र पछाडि गरिसकेपछि अर्को खुट्टालाई पनि त्यसैगरी टेबलमा राखेर अगाडि र पछाडि गरिन्छ। यसरी दुवै खुट्टाको व्यायाम पाँच–पाँच मिनेट गर्नुपर्छ। 

यस्तो व्यायाम दैनिक गर्नाले नमिलेको, ठूलो तथा भद्दा भएको हिप मिलाउन सकिन्छ नै। हिपको आकार सानो भएको तथा सुकेको देखिएको अवस्थामा पनि यस्तो किसिमको व्यायामले हिप फुकाउन सकिन्छ। 

पोषणमा ध्यान

व्यायाम तथा पोषण सन्तुलित नभएको अवस्थामा हिपको आकार नमिल्न सक्छ। व्यायाम र पोषणको अभावमा त हिप सुक्नसमेत सक्छ। 
हिप मिलेको आकारमा ल्याउनका लागि खानपान तथा पोषणको निकै ठूलो भूमिका हुन्छ। हिप मिलेको आकारमा ल्याउन तथा आकर्षक बनाउन हरियो सागपात, गेडागुडी, फलफूल, माछामासुलगायत सन्तुलित खानपान गर्न आवश्यक हुन्छ। 

(उकेराकर्मी उपेन्द्र खड्काले डा. सुनुवारसँग गरेको कुराकानीमा आधारित)
 

२२ कात्तिक, २०७७, १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।