यात्रा : मणिचूड

यात्रा : मणिचूड

हिन्दू धर्मावलम्बीको चाड बडादसैं सकिएको थिएन। कोरोना कहरले चहलपहल विगतभन्दा निकै कम थियो। धेरैले घरैमा बसेर दसैं मनाए। चाडको व्यस्तता भने खासै देखिएन।

अघिल्लो हप्ता गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगाना साइकल यात्रामा जहरसिंह पौवा उक्लिए। हप्ता दिन नगुग्दै पुनः अर्को गन्तव्य जान अनुरोध गरे। टाढाको गन्तव्य होइन। नजिकैको गन्तव्य। धेरै सुनेको। मणिचूड। 

साइक्लिङ गर्नेहरूका लागि मणिचूड निकै रमाइलो गन्तव्य हुन सक्छ। यो काठमाडौंको केन्द्रबाट नजिकैको सुन्दर गन्तव्य हो। मणिचूड जान विभिन्न रुटहरू मणिचूड छनोट गर्न सकिन्छ। आउनुस् विभिन्न रुट भएर पटक–पटक मणिचूड जाऔं।  

गोकर्णेश्वर महादेव मन्दिर–सुन्दरीजल 

हाम्रो साइकल यात्रा गोकर्णेश्वर महादेव मन्दिर अगाडिबाट सुरु भयो। जोरपाटी, गोकर्णेश्वर हुँदै सुन्दरीजलसम्मको सडक विस्तार भइरहेको छ। बिहानी समय बाटोमा सवारी साधनको चाप कम थियो। धुलो, सवारी साधनको चाप छल्ने हो भने बागमती नदीको किनारबाट सुन्दरीजल पुग्न सकिन्छ।

यो रुट भएर साइकल चलाउनुको मज्जा बेग्लै छ। हामीले मूल सडकबाटै सुन्दरीजल निस्कने तय गर्याैं। गोकर्णेश्वर महादेव मन्दिरबाट मूल सडक हुँदै सुन्दरीजल बस पार्कसम्मको दूरी करिब ४.५ किलोमिटर छ। यदि बौद्धलाई आधार बिन्दु मानेर यात्रा सुरु गर्ने हो भने बौद्ध, जोरपाटी, गोकर्णेश्वर महादेव मन्दिर, नयाँपाटी सुन्दरीजल बसपार्कसम्मको दूरी लगभग ९ किलोमिटर हुन आउँछ।  

सुन्दरीजल–मणिचूड

सुन्दरीजल बसपार्कबाट मणिचूड जान विभिन्न बाटो रोज्न सकिन्छ। चलनचल्तीको बाटो रोज्दा सजिलो। यसपटकको हाम्रो रोजाइ भने मूलखर्क हुँदै मणिचूड उक्लने रह्यो । मूलखर्क सुन्दरीजलको बाराही चोकबाट महाँकाल गाउँ निस्कने फराकिलो बाटो भएर पनि जान सकिन्छ। तर, साइकल यात्रीका लागि बसपार्क, जलविद्युत् गृह हुँदै पुल तरेर बागमती जाँदा अझ बढी रमाइलो हुन्छ। ठूला–ठूला चट्टानका अन्तर कुन्तरबाट बग्ने कलकलाउँदो बागमती नदीको सुन्दरतामा रमाउन सकिन्छ।

युवा अवस्थामा हामीले बागमतीका दहमा डुबुल्की मारेको स्मरण गर्दै अझ उकालियौँ। बस्ती छोडेपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सीमा सुरु हुन्छ। चेक पोस्ट पार गर्नुपर्छ। निकुञ्ज भएर आवत–जावत गर्नेले शुल्क बुझाउनु पर्छ। सदावहार जंगल। बागमती नदीको छङछङ गर्ने झंकार। चराको चिरचिर गाना। उकालोको चुनौती। मूलखर्क उक्लँदा निकै रमाइलो हुन्छ। मूलखर्कबाट विभिन्न गन्तव्य छनोट गर्न सकिन्छ। 

मणिचूड जाने बाटोको हाल स्तरोन्नति भएको छ। गत वर्षबाट चलनचल्तीमा आएपछि यो बाटो भएर चिसापानी, पाटी भञ्ज्याङ, तलाखु जानेहरूलाई निकै सहज बनेको छ। साइकल यात्रा गर्नेहरूका लागि पनि निकै सहज छ। पहिलेको बाटो चलनचल्ती नभएको झाडी छिचोल्दै यात्रा गर्न गाह्रो थियो।   

उपत्यका यति सफा खुलेको नदेखेको धेरै भयो। हामीले हरेक मोडबाट सुन्दरताको आनन्द लियौँ। सफा आकाश, हरिया डाँडा, सफेद चम्किलो हिमाल। स्वर्गानुभूति!

मणिचूड उक्लने बहाना मात्र। त्यसभित्र अनेकन कुरा गाँसिएर आए। डाँडाको टुप्पाबाट यो रहस्यमय उपत्यकाको मनभरि दृश्य पान गर्दै मणिचूड पुगेको पत्तो पाइएन। लामो श्वास तानेर उपत्यकातर्फ हेर्याैं। मणिचूडको फेदीका गागलफेदी, भद्रबास, मनोहराका फाँट वास्तवमा निकै मनमोहक छन्।

उर्वर फाँटका धान बाली भित्र्याएर पराल सुकाएको, गहुँ, आलु, तोरीका लागि तयारी गर्दै गरेको जमिन निकै सुन्दर देखिन्थ्यो। उर्वर फाँटका बीच–बीचमा भइरहेको बस्ती विकासले भने सुन्दरता कुरूपतामा परिणत भइरहेको देखियो। गोकर्णेश्वर महादेव स्थानबाट सुन्दरीजल, मूलखर्क हुँदै मणिचूडसम्म आइपुग्दा करिब १८ किलोमिटरको दूरीमा तय गरिएछ। मूल सडकबाट करिब पाँच सय मिटर उकालिएपछि एउटा कुण्डमा पुगिन्छ।

मणिचूड

डाँडामा झुरुप्प जंगलले ढाकिएको छ मणिचूड थुम्को। थुम्कोमा कुण्ड छ। मणिचूड शंखरापुर नगरपालिका वडा नम्बर ८ मा पर्छ। सानो सुन्दर मणिचूड दह समुद्र सतहबाट करिब २,२१० मिटर उचाइमा अवस्थित छ। हिन्दू धर्मावलम्बी तथा बौद्ध मार्गीहरूको समान धार्मिक आस्था भएको स्थान हो मणिचूड। 

दह पुग्नेबित्तिकै दहमा गाढा नीलो आकाश, वरिपरिको डाँडाको प्रतिबिम्ब देखियो। यस्तो अनौठो दृश्यले सहयात्रीले यस अघिका सबै पीडा भुले। कुण्ड पुग्दा दायाँतर्फ शिवलिंग, शिव पार्वतीको प्रस्तर मूर्ति देखिन्छ। बायाँतर्फ स्तुप। यहाँ दुईवटा पाटी छन्।

कुण्डको छेवैको अनवरत बगिरहने धारो यहाँको अर्को आकर्षण हो। आ–आफ्नो रीतिरिवाज, चलन, मतअनुसार भक्तजनहरू आउँछन्। हरेक नयाँ वर्ष र रक्षाबन्धनका दिन यहाँ मेला लाग्छ। 

उपत्यकाका जुनसुकै ठाउँमा गए पनि त्यस ठाउँको बारेमा बडो रोचक प्रसंग भेटिन्छ। बस यसका लागि कौतुहलताको खाँचो छ। यस्ता रोचक प्रसंगले छक्क बनाउँछ। यस नगरपालिकाका विभिन्न ठाउँको संस्कृति, इतिहास, भूगोल तथा पुरातात्त्विक विषयबारे जान्न चाहनेले स्थानीय संस्कृतिविद् प्रकाशमान श्रेष्ठ दाइलाई सम्झँदा त्यहाँको सबै कुरा बुझ्न सकिन्छ। शंकरापुर नगरपालिका क्षेत्रको संस्कृति, इतिहास, भूगोल तथा पुरातात्त्विक विषयमा गहन अध्ययन छ प्रकाशमान दाइको। उनै प्रकाशमान दाइले मणिचूडको नाम कसरी रहन गयो भन्ने विभिन्न प्रसंग सुनाउनु भयो।  

स्थानीय संस्कृतिविद् प्रकाशमान दाइका अनुसार मणिचूडको नामकरणको प्रसंग स्वयम्भू पुराणमा उल्लेख छ। जसअनुसार राजा ब्रह्मदत्तकी रानी कान्तिमतीको गर्भबाट शिरमा मणि धारण गरेको बालक जन्मिए। उनको शिक्षा–दीक्षा भवभूति ऋषिबाट भयो। यी तपस्वी, दानी, त्यागी तथा परोपकारी स्वभावका थिए। मणिचूड राजाले राज्य गरेकाले उनै राजाको नामबाट यस ठाउँको नाम मणिचूड रहन गयो। यसलाई कुनै समय मणि पर्वतको नामले पनि चिनिन्थ्यो। 

मणिचूड शैलनदी (शालीनदी), मनमत्ता, महादेव खोला, असः खुसी र अरु थुप्रै स–साना खोलाहरूको उद्गम स्थल हो।  मनोहरा नदीको नाम मणिचूड राजाको हराएको मणिसँग सम्बन्धित छ। चारैतिर फैलिएको महामारी रोग साम्य पार्न मणिचूड राजाले आफ्नो शिरको मणिदान गरे। मणि जलको प्रभावले महामारी रोग साम्य भयो। मणि फर्काउन ल्याउँदा मनमत्ता र शालिनदीको दोभानमा मणि पखालियो। मणि पखाल्दा बगेर हरायो। नदीमा मणि हराएकोले त्यस नदीको नाम मणिहरण नदी भयो। मणिहरणकै अपभ्रंश भई मनोहरा भएको भनिन्छ। यस ठाउँबारे थप जिज्ञासा भए स्थानीय संस्कृतिविद् प्रकाशमान श्रेष्ठ दाइलाई सम्पर्क गर्न सकिन्छ। 

मणिचूड गन्तव्य बनाएर साइक्लिङ गर्न उत्सुकहरूले विभिन्न रुट चयन गर्न सक्छन्। आउनुस् पुनः अर्को रुट भएर मणिचूड जाऔँ।

मणिचूड जाने अन्य रुटहरू। 

सुन्दरीजल–गागलफेदी–मणिचूड

मणिचूड जाने विभिन्न आकर्षक रुटहरूमध्ये सुन्दरीजल आलापोट, सातघट्टे हुँदै जाने रुट पनि एक हो। सुन्दरीजलको बाराही चोकबाट पूर्वतर्फ ओरालो लागेर बागमती नदीको पुल तरेपछि दायाँतर्फ मोडिएर आलापोट पुग्न सकिन्छ। बाटोको सञ्जाल चारैतिर विस्तार भएको छ। आलापोट निस्कने साविकको बाटो हुँदै गागलफेदी सात घट्टेबाट बायाँतर्फको उकालो लागेपछि सुन्दरीजल चिसापानी रोड भेटिन्छ।

बीचमा कागेश्वरी जाने बाटो आउँछ। समय भए कागेश्वरी पनि जान सकिन्छ। मूल सडकबाट करिब ३ किलोमिटरमा मणिचूड पुगिन्छ। सुन्दरीजलबाट गागलफेदी सातघट्टे हुँदै मणिचूडसम्मको दूरी १० किलोमिटर छ। उकालो सडक खण्ड ढलान गरिएको छ। कच्ची बाटो मन नपराउने माउण्टेन बाइकरहरूका लागि यो बाटो उपयुक्त रोजाइ हुन सक्छ। 

साँखु–मणिचूड    

बौद्ध स्तुपबाट जोरपाटी, थली, डाँछी, ब्रह्मखेल, इन्द्रायणी, सलम्बु हुँदै साँखुसम्मको दूरी करिब १२ किलोमिटर छ। साँखु बजारको उत्तर–पश्चिमतर्फको बाटो भएर बज्रयोगिनी, घुमारे चोक हुँदै वनदेवी विद्यालय पुगिन्छ। अलि अगाडि बायाँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र कार्यालय तथा निकुञ्ज प्रवेश मार्ग छ। करिब पाँच सय मिटर उत्तरतर्फ मूल बाटो भेटिन्छ। मूलबाटोबाट अझ पाँच सय मिटर उत्तरतर्फको गोरेटो बाटो जानुपर्छ। क्याम्पिङका लागि अति नै उपयुक्त फराकिलो चौर हुँदै मणिचूड दह पुगिन्छ। साँखु बजारबाट करिब सात किलोमिटरको दूरी साइकल यात्रा गरेपछि मणिचूड दह पुगिन्छ।      

जहरसिंह पौवा–मणिचूड

साँखुबाट साँखु–मेलम्ची सडकबाट जहरसिंह पौवा करिब पाँच सात किलोमिटरको दुरीमा छ। साइकल यात्रामा जहरसिंह पौवाबाट हिमालका रमणीय दृश्य हेर्न, चिया, नास्ता पानी विश्राम लिन उपयुक्त स्थान हो। जहरसिंह पौवाबाट उत्तरतर्फ लागेपछि दुईवठा बाटो आउँछ। बायाँतर्फको पक्की सडक भएर दुई किलोमिटर अगाडि चौकी भञ्ज्याङ पुगिन्छ। चौकी भञ्ज्याङबाट मूल सडक भएर अगाडि गए भोटेचौर, काहुले दोभान, बाहुने पाटी पुगिन्छ। बायाँ उकालो लाग्दा झुले पुगिन्छ। झुलेबाट करिब ३ किलोमिटर पश्चिम लागेपछि दायाँ करिब ५०० मिटर उत्तरतर्फ गए मणिचूड दह पुगिन्छ। 

पहिलेको दाँजोमा मणिचूड आउने सबै बाटोको स्तरोन्नति भएको छ। यहाँको भौगोलिक सुन्दरता, विविध चराचुरुङ्गी, पुतली, जंगली जनावर, वनस्पति, मौसमअनुसार फुल्ने फूलहरु सबै रोचक छन्। सदावहार असाध्य नै रमाइलो छ शिवपुरी क्षेत्र। साइक्लिङ, हाइकिङ, मोटर बाइकिङ, चरा अवलोकन, सुनगाभा अवलोकन, अन्य वन पैदावार, मौसमी फूल अवलोकनकर्ता सबैको उत्कृष्ट रोजाइमा पर्छ यो क्षेत्र। पहिले त यो महिनामा आन्तरिक तथा बाह्य पर्यटक निकै भेटिन्थे। हामी गएको बखत भने निकै पातलो आवत–जावत थियो। लगभग सुनसान जस्तै। 

समय भए मणिचूडबाट झुले हुँदै चिसापानी पुग्न सकिन्छ। चिसापानीसम्म जान खासै चुनौतीपूर्ण उकालो छैन। रोमाञ्चकारी स–साना उकालीओरालीहरू छन्। प्रकृतिको असीमित आनन्द लिँदै यस ठाउँमा यात्रा गर्न छुटाउनु हुँदैन। पहिलोपटक जानेहरुका लागि कौतुहल र रहस्यका धेरै पोका खुल्छन् यो बाटोमा। यहाँ साइकल यात्रा गर्नुको आनन्द बेग्लै छ। झुलेतर्फ अगाडि बढ्दै जाँदा मनमोहक हिमाली शृंखलाले हामीलाई लठ्ठ बनाउँछ। 

झुलेबाट करिब ७ किलोेमिटर दूरी तय गरेपछि हिले भञ्ज्याङ पुगियो। यहाँबाट दायाँ लागे हैबुङ, बायाँ लागे सुन्दरीजल र सिधै पश्चिम गए चिसापानी। करिब २ किलोमिटर बाटोको बायाँतर्फ धाप पोखरी छ। यो नागमती नदीको उद्गमस्थल हो। नागमती बागमतीको सहायक नदी हो। प्राकृतिक स्वरूप बिगारेर अहिले कृत्रिम पोखरी निर्माण गरिँदै छ। कृत्रिम निर्माणाधीन पोखरीप्रति खासै चासो छैन। पहिले त धाप नगए यात्रा खल्लो लाग्थ्यो। हामी यहाँबाट मूलखर्क ओर्लने निर्णय गर्याैं। 

पुरानो बाटो पच्छ्याउँदै हामी सुन्दरीजलतर्फ हानियौँ। मूलखर्कमा सयपत्री, गोदावरी फूल ढकमक्क फुलेको देख्दा यो ठाउँ छोडेर कतै नजाउँ जस्तो लाग्ने। यसपटकको छोटो यात्रा जीवनकै अविस्मरणीयमध्ये एक रह्यो।      

अन्तमा

शिवपुरी नागार्जुन निकुञ्ज जैविक विविधताले भरपूर छ। विविध वनस्पतिले भरिएको प्राकृतिक जंगल विविध प्रजातिका जलचर तथा थलचरको साझा घर। सयौं प्रजातिका पुतली तथा चराचुरुङ्गी। मौसमअनुसार फुल्ने विविध किसिमका फूल। पारिपट्टि देखिने मनमोहक हिम शृंखला। उपत्यकामा निसास्सिएर बसेकाहरुका लागि नजिक, निकै सुन्दर आकर्षक गन्तव्य।

यसको सुन्दरता कायमै राख्न निकै चुनौतीपूर्ण देखिन्छ। यो क्षेत्रमा घुमफिर गर्नेहरूले नसड्ने, नगल्ने, ठोस प्रकृतिका फोहोरजन्य पदार्थ जथाभाबी नफाल्ने हो कि। नत्र भावी सन्ततिले धिक्कार्लान् है! 

२२ कात्तिक, २०७७, ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।