‘अब्बल’ किसान

‘अब्बल’ किसान

भैरहवा : दुईवटा गाई र एउटा पोखरीमा माछापालन। २०६१ सालदेखि रूपन्देहीको सियारी गाउँपालिका–३, लक्ष्मीपुरका सुवास कुर्मीले आफ्नो आर्यआर्जन गर्ने बाटो रोजे।

गाईको दूध र पोखरीबाट उत्पादित माछाले उनको घर खर्च राम्रैसँग चल्यो। विस्तारै उनी व्यावसायिक कृषि फार्मतर्फ अग्रसर भए। २०६७ पछि उनले पोखरी थप गरे। ०७१ बाट गाई थप गरे। र, अहिले उनले शान्ति उन्नत पशुपालन तथा माछा फर्ममार्फत व्यावसायिक रूपमा लगानी गरी मनग्ये आम्दानी गर्न थालेका छन्। अहिले उनका ८ वटा माछापोखरी छन्। २८ वटा विभिन्न प्रजातिका गाई।

६ जनाको परिवार र ४ जना कामदार गाई र माछाको हेरचाह गर्छन्। फर्ममा अहिले होलिस्टोन क्रस, जर्सी, लोकल फिजिसियन गरि तीन प्रजातिका गाई छन्। यी गाईले दिने दूधबाट दैनिक १२५ लिटर बिक्री गर्छन्। गाई फर्म नजिकै सटेको ७ विगाह जमिनमा ८ वटा माछापोखरी छन्।

४ वटा नर्सरी छन् भने २२/२२ कठ्ठाका ४ वटा व्यावसायिक पोखरी। अब पोखरी थप गरेर १० पुर्याउने उनको योजना छ। उनले ग्रास, रौं, सिल्भर, कमन, नौनी, विगोट र भाकुर जातका माछा पाल्दै आएका छन्। गत वर्ष यिनै पोखरीबाट कुर्मीले ४५० क्विन्टल माछा बिक्री गरे। अहिले ५५० क्विन्टल बिक्री गर्ने लक्ष्य राखेका छन्।

माछा र गाई फर्ममा गरि जग्गाबाहेक ४ करोड लगानी गरेको उनले बताए। ‘बर्सेनि माछा उत्पादन वृद्धि भइरहेको छ, यो वर्ष सय क्विन्टलभन्दा बढी माछा उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने। 

सबै खर्च कटाएर वार्षिक ६० लाख रूपैयाँभन्दा  बढी बचत गर्छन् उनी। ५ वर्षअघिसम्म मोटरसाइकल चढ्ने उनी व्यावसायिक माछा र गाई पालन राम्रो हुँदै गएपछि अहिले चार पांग्रे गाडी चढ्छन्। २०७४ मा नेपालकै सबैभन्दा बढी खाने माछा उत्पादन गर्ने उत्कृष्ट कृषकका रूपमा कुर्मीले राष्ट्रिय पुरस्कार समेत पाएका छन्।  उनलाई ३७औं विश्व खाद्य दिवसका अवसरमा तत्कालीन कृषिमन्त्रीले नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका थिए।

व्यावसायिक उत्पादन थालेपछि फर्मलाई कृषि विकास बैंकले ब्याज अनुदानसमेत दिएको छ। त्यहाँ संचालित प्रधानमन्त्री कृषि परियोजनामार्फत पनि अनुदान सहयोग मिलेको छ।

‘मैले व्यावसायिक कृषि गर्ने योजना गराएँ, सफल गराउन कृषि विकास बैंकले ठूलो सहयोग गर्यो,’ कुर्मीले भने।

कृषि विकास बैंकले कृषि पेसा अँगाल्नेहरूलाई ब्याज अनुदान दिएर प्रोत्साहन गर्दै आएको छ। कुर्मी कामका लागि विदेशिने सयौं युवाका लागि उदाहरण हुन्। राम्रो आम्दानी गर्दै गएपछि उनी अहिले जिल्लाकै ‘अब्बल’ कृषकका रूपमा चिनिन्छन्। उनीसहित परिवारका अन्य सदस्य बिहानैदेखि रातिसम्म माछा र गाईको स्याहारमा खट्छन्।

‘स्वदेशमा केही गर्छु भन्नेका लागि यहाँ प्रशस्त सम्भावना छ,’ उनले भने, ‘काममा निरन्तरता, इमानदारिता र इच्छाशक्ति जरुरी छ।’ 

उनले अरुको मुलुकमा गएर बगाउने पसिना आफ्नै ठाउँमा बगाए मनग्ये आम्दानी गर्न सकिने बताए। माछा र गाईसँगै व्यावसायिक पालन गरेका कुर्मी सियारीका उदारणीय र अब्बल कृषक हुन्। उनले मनग्ये आम्दानी गर्छन्। कृषिमा लगानी गर्न चाहने र व्यावसायिक उत्पादन गर्ने योजना बनाएकाहरूका लागि उनी उदाहरण हुन्। गाई पाल्दा उनलाई माछा उत्पादन बढाउनसमेत टेवा पुगेको छ। 

गाईको मल खेतबारीमा हालेर प्रशस्त अन्नसमेत उब्जाउ गर्छन्। यस्तै, मल र पिसाब माछापोखरीमा समेत प्रयोग हुने भएकाले उत्पादन राम्रो छ भने डिएपी र युरिया निकै कम प्रयोग हुने गरेको छ। डिएपी र युरिया थोरै मात्र प्रयोग हुने भएपछि वार्षिक हजारौं रूपैयाँ बचत समेत भएको छ। कृषिविज्ञका अनुसार गाईको पिसाबमा माछाका लागि चाहिने नाइट्रोजन प्रशस्त हुन्छ। नाइट्रोजनले पोखरीमा मलिनोपना ल्याउँछ र माछाका लागि पोसिलो खानेकुरा एवं आवश्यक चिल्लो पदार्थ उत्पादनमा सहयोग गर्छ।

दूधको मूल्य राम्रो नहुँदा गाईपालनबाट भने त्यति राम्रो आम्दानी हुन नसकेको उनको गुनासो छ। ‘दूधको मूल्य नै राम्रो भएन, भारतबाट लुकीछिपी आयात हुँदा माछाको मूल्य पनि दुई वर्षदेखि बढ्न सकेको छैन,’ उनले भने, ‘कृषकहरूलाई प्रोत्साहन गर्ने हो भने सरकारले दूधको मूल्य बढाई भारतीय माछा आयातमा पनि कडाई गर्नुपर्छ।’

कुर्मीका अनुसार अहिले दूध प्रतिलिटर ५० देखि ५२ रूपैयाँमा बिक्री हुँदै आएको छ। माछा प्रतिकेजी दुई सयदेखि २५० रूपैयाँसम्म बिक्री भइरहेको छ। 

१६ कात्तिक, २०७७, २०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।