असई हत्यापछि कैलाली प्रहरीको जिम्मेवारी देउवालाई 

असई हत्यापछि कैलाली प्रहरीको जिम्मेवारी देउवालाई 

धनगढी : कैलाली प्रहरी प्रमुख कोरोना संक्रमित भएर उपचारमा रहेकै समयमा एक प्रहरी सहायक निरीक्षकको हत्या भएपछि नयाँ एसपीलाई काजमा खटाइएको छ। 
 

प्रदेश दंगा नियन्त्रण प्रहरी गण कञ्चनपुरका एसपी दिलिपसिंह देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा काज सरुवा गरिएको हो।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले एसपी देउवालाई सोमवारदेखि काजमा कैलाली खटाइएको जानकारी दिए। 

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज असई गोविन्द बिकको हत्या भएपछि देउवालाई काजमा कैलाली खटाइएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शमशेर जवरालाई कोरोना पुष्टि भएपछि उनी उपचारका लागि काठमाडौंमा छन्। 

कैलालीमा डिएसपी प्रतिक बिष्टले निमित्तको रुपमा काम गरिरहेका थिए।

असई बिकको हत्यासँगै प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन्।
 

३ कात्तिक, २०७७, १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।