उकेरा फिचर

पर्यटक आकर्षणको केन्द्र छिन्नमस्ता भगवती

सुजीतकुमार झा


फाइल तस्बिर।

जनकपुरधाम : सप्तरीको छिन्नमस्ता भगवतीे मन्दिर पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा बिहानदेखि रातिसम्म दशनार्थीको भीड लागेको हुन्छ। नेपालीहरू मात्र नभइ भारतीयहरू पनि ठूलो संख्यामा त्यहाँ पूजा गर्न पुग्ने गर्छन्। 
कोरोना भाइरस (कोभिड १९) संक्रमणमा पनि दर्शनार्थीमा खासै असर परेको छैन। दुई सातायता मात्रै भीड घटेको मन्दिरका कर्मचारीहरू बताउँछन्।

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये पनि एक हो, जहाँ दसैंका बेला उत्सव हुने गरेको छ।

मन्दिरका पुजारी महानन्द ठाकुर भने अरु समयमा पनि उत्सवकै माहोल हुने बताउँछन्। 

भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ। भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ। 

वरिष्ठ पत्रकार शिवहरि भट्टराईले सखडेश्वरीको मस्तक अर्थात् शिर नभएका कारण भक्तजनले ती भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्ने गरेको बताए।

छिन्नमस्ता भगवतीको मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ।

ऐतिहासिक पक्ष

किम्बदन्ती अनुसार तत्कालीन राजा शक्रसिंह आफ्ना भाइ-भारदारको दबाबका कारण छोरा कुमार हरिसिंहदेवलाई राजकाज सुम्पेर शेष जीवन बिताउन सप्तरीको सखडा क्षेत्र गएका थिए।
त्यतिबेला सो क्षेत्र घना जंगलले भरिएको थियो।

राजा शक्रसिंहलाई भगवतीले सपनामा भनिन्, ‘तिमी जुन स्थानमा बसिरहेका छौ, त्यस स्थानमा त्रिशूल गाडिएको भेटिनेछ र त्यहाँ अरु मूर्ति पनि छेउ–छाउमा पाउने छौ। ती मूूर्तिहरूको पूजा–आजा गरेर बस, तिम्रो भलो हुनेछ।’

देवी भगवतीले सपनामा दिएको निर्देशनअनुसार राजा शक्रसिंहले त्रिशूल गाडिएको क्षेत्रमा माताको मूर्ति जलाशय अर्थात् हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किम्बदन्ती छ। 

सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थालेको छिन्नमस्ता सखडेश्वरीका महन्थ ठाकुरले बताए।

‘बलि प्रदान गर्दा निस्केको रगतमा झिँगा नबस्ने, रगत लुगामा लागे पनि दाग नलाग्ने, पोखरीको पानीमा रगत मिसिँदा रातो नहुने, बलि प्रदान गर्ने नाममा राखिएका बोकालाई केही नहुने, बलिका लागि खसी किन्नुअघि कुकुर वा स्यालले टोकेको छ भने मन्दिर पुग्दा नपुग्दै मर्ने, बलि प्रदान गरेको खसीबाट निस्केको रगत सोही पोखरीमा नबगाएमा अनिष्ट हुने, जुठो वा अपवित्र, कुकुर र कागले छोएको पूजा सामग्री चढाउन नहुने जस्ता जनविश्वास र आस्था रहेको शक्तिपीठ हो, छिन्नमस्ता भगवती,’ उनले भने।

एघारौं शताब्दीको अन्त्यतिर भारत कलकत्ताका शासक गयासुद्दीन तुगलकको मुसलमानी आक्रमणकारी दलले सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा पीठ ध्वस्त गर्यो।

मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरूसमेत तोडफोड गरी जलाशयमा फ्याकिदिए। मन्दिरको मूर्ति तोडफोड गरेर मुसलमानी आक्रमणकारी दल अगाडि बढ्यो।

सोही क्रममा सखडादेखि १५ किमी पश्चिम–उत्तरस्थित सप्तरी जिल्लाकै मानराजा गाविसको गढीका मूर्तिहरूसमेत तोडफोड गर्यो।

मुस्लिम धर्मावलम्बीका केही व्यक्तिको आक्रमणपछि पुनः सखडा क्षेत्र जंगलमा परिणत भएको अनुमान गरिन्छ। मन्दिरको पूर्वतिर घना झाडी थियो, जसलाई अहिले पञ्चमुखी नागबाटिका र केवला वन भनेर चिनिन्छ।

यस स्थानमा समय–समयमा पञ्चमुखी नागदेवताले दर्शन दिने गरेको स्थानीय भक्तजनहरू बताउँछन्।

मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करिब एक सय २५ वर्षअघि सखडाको भगवती मन्दिर भग्नावशेष अवस्थामा थियो, जसलाई स्थानीय बासिन्दा च्याखुरी नानीर चूनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट संकलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए।

सो मन्दिर १९९० सालको भूकम्पमा फेरि भत्किन पुग्यो। र, त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा संकलन गरी ग्रामीण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाए।

२०२८ सालमा जीर्ण मन्दिरलाई तत्कालीन भारतीय रेलमन्त्री ललितनारायण मिश्रको सहयोगमा पक्की मन्दिर भवन साथै तीन कोठे धर्मशाला बनाइयो।

त्यसपछि २०४४ सालमा तत्कालीन राजा वीरेन्द्र शाह भगवतीको दर्शनार्थ जाँदा पाँच लाख रूपैयाँ चन्दा दिए। सो रकमबाट तत्कालीन सगरमाथा अञ्चलका अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका थिए।

मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ। उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्टरूपमा ढुंगामा कुँदिएको छ। मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली, महिषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति स्थापित छ। ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ।

पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्दै आएको छ। पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ।

१९८४ सालमा सप्तरीको तिलाठी निवासी ज्योतिषी यदुनन्दन मिश्रले अष्टधातुले बनेको एउटा घण्टा सखडा मन्दिरमा चढाएका थिए। उक्त घण्टामा शक्रेश्वरी एकपटक र महिषमर्दिनी दुईपटक लेखिएको छ। यसबाट स्पष्ट हुन्छ शक्रसिंहले आफ्नो इष्टदेवी भगवती स्थापना गरेका थिए।

सखडा भगवतीको मूर्तिलाई सूक्ष्मरूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

ड्रेस सेन्स फैलाउने धाख्वा

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने....

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....