यात्रा : साइकल डायरी

यात्रा : साइकल डायरी

धेरै अघि होइन, केही दशकअघिको कल्पना गरौं। कस्तो थियो होला केही दशकअघिको उपत्यका। यहाँको दैनिकी, रहन सहन, जन जीवन। जीवन शैली, मठ मन्दिर। उपत्यकाको वातावरण आदि इत्यादि। 

जिज्ञासा, कौतुहल मेटाउन उपत्यकाको वरिपरिका डाँडा बेलाबखत पालैपालो उक्लनुपर्छ। केही जिज्ञासाका उत्तर मिल्न सक्छ। केहीका नमिल्न सक्छ। गज्याङ्ग, मज्याङ्ग घना बस्ती। भीडभाड कोलाहल। पोखरीमा सिलिङ्ग मिलिङ्ग पौडने माछाका भूरासरि सवारी साधन छिचोल्दै दाजु दीपक श्रेष्ठ र यो पङ्क्तिकार नियमित साइकल यात्रामा निस्कियौं।

श्रेष्ठलाई उपत्यकाको भूगोलको ज्ञाताकै रुपमा लिन सकिन्छ। गत हप्ता हाम्रो साइकल यात्रा सूर्यविनायक नगरपालिकाको पूर्वी डाँडाको सेरोफेरोमै केन्द्रित रह्यो। २०७२ सालको भूकम्पले धेरै घरहरु क्षतिग्रस्त बने। आजकल अधिकांश आधुनिक भनिने सिमेन्टका घर ठडिने क्रम बढ्दो छ। सहरभन्दा केही किमी मात्र टाढा घुमघाम गर्ने हो भने अझै नेपाली मौलिक संस्कृति धानेर राखेका छिटफुट घर अझै भेटिन्छ। 

पटक–पटक डाँडाको टुप्पोमा पुग्यौं। कारण अरु केही थिएन। सिर्फ यहाँको सुन्दरताबाट मुग्ध भएर हो। यात्रा आराध्यदेव श्री पशुपतिनाथ प्राङ्गणबाट आरम्भ ग¥्यौँ। पशुपतिनाथबाट ठिमी, गाम्चा, दधिकोट हुँदै पहिलो गन्तव्य अनन्तलिङ्गेश्वर पुग्दा करिब तेह्र कि.मी दूरी तय हुन्छ। 

अनन्तलिङ्गेश्वर

समुद्र सतहबाट करिब १४३० मिटर उचाइमा अवस्थित अनन्तलिङ्गेश्वर धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व भएको आकर्षक गन्तव्य हो। मन्दिर स्थापनाको तिथि मिति यकिन छैन। लिङ्ग उत्पत्तिका विभिन्न रोचक प्रसंग तथा किंम्बदन्ती पुजारीबाट सुन्न सकिन्छ। राजा नरेन्द्र देवले सातौं शताब्दीमा जीर्णोद्धार गराएको शिलालेखले प्राचीन मन्दिर भएको प्रमाणित गर्छ। साउन महिनाको सोमबार, जनै पूर्णिमा, बाला चतुर्दशी, शिवरात्रीमा श्रद्धालु भक्तजनको भीड लाग्छ। अनन्तलिङ्गेश्वर महादेवको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ।

बाक्लो जंगलको बीचमा अवस्थित महादेव मन्दिर परिसरको वातावरणमा शान्त छ। मन्दिर प्राङ्गणमा निर्मित कुण्ड, बासुकी नाग, उमा महेश्वर, लक्ष्मी, सरस्वती, गणेश, जलहरी, अन्नपूर्ण, बसाहा वनदुर्गा गरुड आदिका मूर्ति निकै शोभायमान छन्। आकाश खुलेको समय उपत्यका, महाभारत पर्वत माला हुँदै हिमालयको दृश्य देख्न सकिन्छ। २०७२ सालको भूकम्पले क्षति पुर्याएको मन्दिरको पुनर्निर्माण भइसकेको छ । सूर्यविनायक नगरपालिका चार नं. वडामा अवस्थित पगोडा शैलीमा पुनर्निर्मित अनन्तलिङ्गेश्वर मन्दिर निकै चित्ताकर्षक छ।

यो क्षेत्र कृषि उत्पादनको दृष्टिले निकै उर्भर भूमि हो। सिजनअनुसारको विभिन्न किसिमका ताजा तरकारी पाइन्छ। चाड पर्वलाई लक्षित गरेर फुलाएको मखमली, सयपत्री फूल यहाँको सौन्दर्यको थप आकर्षण हो। दधिकोट, गाम्चा, गुण्डुका केही किसानले उत्पादन गरेको मखमली फूल तिहारको समयमा विदेशसम्म पुग्ने गरेको बताउँछन्। तर हालका वर्षमा कृषियोग्य जमिनमा बस्ती बढेको बढ्यै देखिन्छ। फाँटका बीच–बीचमा बनेका अव्यवस्थित बस्तीले भेगकै सुन्दरतामा स्खलन आइरहेको छ। 

अनन्तलिङ्गेश्वरलाई आधार मानेर नजिकैको दूरीमा डोलेश्व, रानीकोट, पाइलट बाबा आश्रम, लाकुरी भञ्ज्याङ्ग गन्तव्य चयन गरी यात्राको रोमाञ्चकता थप्न सकिन्छ। चुनौतीको अलिकति सामना गर्दै हाम्रो यात्रा घ्याम्पे डाँडा, तर्फ मोडियो। 

घ्याम्पे डाँडा

रानीकोटबाट उत्तर–पश्चिमतर्फ सलक्क बगेको डाँडा। माछाको ढाड जस्तै। डाँडाको पश्चिमतर्फको फेदीमा गुण्डु, पूर्वतर्फ सिपाडोल। सिरानमा रानीकोट। बीचतिर घ्याम्पे डाँडा। पुछारमा कटुञ्जे। निक्कै रमाइलो छ।  

अनन्तलिङ्गेश्वरबाट घ्याम्पे डाँडा जाने धेरै रुटहरु छन्। साइकल यात्रीहरुका लागि गोरेटो बाटोको रोजाइ रोचक हुन सक्छ। हामीले मन्दिर बाटै गोरेटो बाटो पच्छ्याउँदै गुण्डु निस्कियौं। गुण्डु डोका डोलबाट बायाँतर्फको उकालो लागेपछि घ्याम्पे डाँडाको डिलमा पुगिन्छ ।

डिलमा एउटा आश्रम निर्माण गरिएको छ। पाइलट बाबा आश्रम। यसको उचाइ समुद्र सतहबाट करिब १६५० मिटरमा छ। हरिया डाँडाका बीचका डोलमा पहेँलपुर पाक्दै गरेको धान। निलो आकाश मुनिको हरियो पहाड र डोलका पहेँलो रङ्गको संयोजन निकै सुन्दर देखिन्छ।

अझ हिमाल खुलेको बखत त, वाह, कति सुन्दर देखिन्छ। यहाँबाट चारैतिर आँखा दौडाउँदा उपत्यकाको निकै राम्रो दृश्य देखिन्छ। साँझपख सूर्यास्तको दृश्य निकै राम्रो देखिन्छ। रातिको आकर्षण भने सहरको झिलिमिली हेर्नु हो। 

आन्तरिक तथा बाह्य पर्यटकका लागि निकट भविष्यमै जिप लाइन सञ्चालनमा आउँदैै छ। हालै मात्र सफल परीक्षण भइसकेको छ। आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जनका लागि थप आकर्षण बढाउने निश्चित छ। घ्याम्पे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल, रेस्टुरेन्ट स्तरीकरणको काम तिब्र गतिमा भइरहेको छ। 

अनन्तलिङ्गेश्वरबाट पाइलट बाबा आश्रम जाँदा करिब तीन किमीको दूरी तय हुन्छ। पुरानो बाटो नछोडी अझ उकालियौं। बाटो पच्छ्याउँदै उकालो लागे रानीकोट पुग्न सकिन्छ। हाम्रो गन्तव्य मालिगाउँ भएकोले घ्याम्पे डाँडाबाट सिपाडोलतर्फ लाग्यौँ। आन्तरिक पर्यटकको चाप निकै बाक्लिँदो छ यस भेकमा। ओर्लँदै गर्दा बाटोमा हाइकर्स समूह भेटिए। घ्याम्पे डाँडाबाट जंगल छिचोल्दै जिप ट्र्याक भएर साइकलमा सिपाडोल झर्ने बाटो निकै रमाइलो छ। भिरालो पाखामा डोजर निकै व्यस्त छ। यी रसिला डाँडापाखाका भविष्य कस्तो हुने हो। सोचनीय छ। 

मालीगाउँ

सिपाडोलमा डोलेश्वर महादेवको मन्दिर अवस्थित छ। घ्याम्पे डाँडाबाट डोलेश्वरसम्म आई पुग्दा चार किमी दूरी तय हुन्छ। डोलेश्वर महादेव मन्दिर हाता प्रवेश द्वारको सामन्नेबाट उकालो बाटो आउँछ। करिब दुई किमी उकालो चढेपछि मालिगाउँ आउँछ । यहाँबाट उपत्यकालगायत वरिपरिको दृश्य निकै सुन्दर देखिन्छ। निजी सवारीका साधन मोटर, मोटर साइकलमा वा पैदल पनि जान सकिन्छ। माथि उकालो लाग्ने बाटोको हरेक वर्ष स्तरोन्नति हुँदै गएको छ। खाना खान र बस्नका लागि चिन्ता लिनु पर्दैन। 

एक्लेरुख

मालिगाउँबाट करिब एक किमी उकालो लागेपछि डाँडाको थाप्लोमा लाकुरीको एउटा रुख ठिङ्ग उभिएको छ। स्थानीय यसलाई एक्लेरुख भनेर सम्बोधन गर्छन्। थकित ज्यानलाई विश्राम दिन लाकुरीको रुखमुनि सुस्ताउनु बेस। यहाँबाट भक्तपुरको दृश्य निकै सुन्दर देखिन्छ। डाँडापारि हिमालको राम्रै दर्शन मिल्छ। दिन चाहिँ खुल्नु पर्छ। 

पुरानो रैथाने ज्ञान, सीपबाट धेरै पाठ सिक्न सकिन्छ। पहाडका चौतारीमा किन लगाइएको होला लाकुरी? गर्मी मौसममा झपक्क पात पलाउँछ। चौतारीमा विश्राम गर्ने बटुवालाई शीतल छहारी दिन्छ। हिउँदमा पात झरेर रुख नाङ्गो हुन्छ। जाडोमा चौतारीमा विश्राम गर्ने बटुवालाई न्यानो पारिलो घाम दिन्छ। जाडोमा घाम, गर्मीमा शीतल। मौसमअनुसार उपयोगी।

काँक्रा बारी

एक्ले रुखबाट करिब तीन किमी जंगलको बाटो छिचोलेपछि काँक्रा बारी पुगिन्छ। काँक्रा बारी सूर्यविनायक नगरपालिकाको वडा नं. ९ मा पर्छ। समुद्र सतहबाट करिब १८०० मिटरको उचाइमा अवस्थित छ।

यो भेग मै साइकल यात्रा गर्दाको सबैभन्दा रोमाञ्चक क्षण र उत्कृष्ट ठाउँ काँक्रा बारी हुन सक्छ। यहाँको जंगल जैविक विविधताले निकै धनी देखिन्छ। चरा अवलोकनमा रमाउनेहरुका लागि पनि यो ठाउँ उपयुक्त छ। जंगलमा पाइने विभिन्न किसिमका फूल अर्को आकर्षण हो। सिजन अनुसार फुल्ने फूल देख्दा मन आनन्दित हुन्छ। 

यात्राका क्रममा बाटोमा कुकुरको जस्तो देखिने ठूलो पद चिह्न भेटियो। हामीले अनुमान लगायौँ त्यो पद चिह्न चितुवाको हुन सक्छ। हामी पुग्दाको क्षण निकै रमाइलो थियो। स्थानीय धमाधम धान बाली भित्र्याउने क्रममा थिए। अलि मास्तिर बारी भने तोरी फुलेर पहेँलपुर थियो। तोरीको फूलको बास्ना निक्कै मीठो हुन्छ। केही क्षण हामी यतै हरायौं। यहाँबाट दक्षिणतर्फ थोरै ओह्रालो लागे आसापुरी महादेव पुगिन्छ। 

काँक्रा बारी आउन छोटो दूरीको रुट पनि चयन गर्न सकिन्छ। डोलेश्वरबाट काँक्राबारी सम्मको दूरी जम्मा सात किमी हुन्छ। त्यसैगरी साँगा भञ्ज्याङ्गतर्फको बाटो भएर आउने हो भने साँगा भञ्ज्याङ्गबाट काँक्रा बारीसम्मको दूरी करिब पाँच किमी । कोटेश्वर साँगा भञ्ज्याङ्गको दूरी जम्मा चौध किमी। साँगा भञ्ज्याङ्गका दुई डाँडा जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको छ।

औपचारिक रुपमा झोलुङ्गे पुल चालु भए जस्तो देखिँदैन। तर सेल्फी खिच्नेको भीड लाग्न थालिसकेको छ। समय उपलब्धता ध्यानमा राखी फर्कँदा पलासे भएर फर्कन सकिन्छ। यो रुटमा साइक्लिङ्गको आनन्द लिने हो भने न्यूनतम आधा दिनको योजना बनाउनु राम्रो। यात्रा जताबाट सुरु गर्दा पनि हुन्छ। साँगा भञ्ज्याङ्गबाट भने ठाडो उकालोको चुनौती कम हुन्छ।  

काँक्राबारीबाट उपत्यकालगायत उत्तरतर्फको हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकालाई धुवाँ धुलोले गाँज्न थालेको सहजै देखिन्थ्यो। एकै हप्तामा पटकपटक आउँदा पनि हाम्रो कौतुहलता मेटिएको छैन। हरेकपटकको यात्रामा केही न केही नौलो कुराले भुलाउँछ।  

अन्तमा

घुमफिर गर्दा के फाइदा होला र ? धेरैको मनमा लाग्ला। बेलाबखत लामो दूरीको साइकल यात्रामा भेट भइरहन्छ मनोचिकित्सा विद् लक्ष्मी गुरुङ्ग सँग। महिला साइकल यात्रीका लागि उत्प्रेरक हुन् गुरुङ्ग। साइकल यात्राकै क्रममा क्लिनिकल मनोचिकित्सा विद लक्ष्मी गुरुङ्गसँग एकपटक सोधेँ। घुमफिर गर्दा, शारीरिक व्यायाम गर्दा वा उपलब्धि हाँसिल गर्दा ‘इन्डोरफिन’ उत्पादन हुन्छ। मनोचिकित्सा विद्को सहज जवाफ थियो। 

के हो इन्डोरफिन? इन्डोरफिन एक किसिमको हार्मोन हो। खुसी भएको समयमा उत्पादन हुने हार्मोन। यो हार्मोन उत्पादन हँुदा शरीरमा तीब्र गतिमा फैलन्छ। मनका दुःख, दर्द, पीडा भगाउँछ। शरीरमा यो हार्मोन फैलँदा रक्तचाप र मुटुको चाल सन्तुलनमा ल्याउँछ। आराम मिल्छ।   

कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या उकालो लागेको लाग्यै छ। घरदैलोमा आउन लागेको चाडपर्वमा ख्याल गर्नु प¥यो। सुरक्षा आचार संहिता पालना गर्नु पर्याे। संक्रमणको जोखिम बढेको बखत सार्वजनिक सवारी साधनभन्दा सहज तथा सुरक्षित साधन साइकल नै हो। साथै गाउँ पर्यटन प्रवर्द्धनका लागि पनि केही हदसम्म सहयोगी बन्न सक्छ साइकल। साइकल चढौं। मानसिक तथा शारीरिक रूपमा स्वस्थ बनौँ ।  

१ कात्तिक, २०७७, १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।