उकेरा फिचर

दुर्गा भवानीको स्वागतका पूर्वकृत्य

हरि पाण्डेय ‘पथिक’


दसैंमा सिंगारिएको जनकपुरको राजदेवी मन्दिर। तस्बिर : सुजितकुमार झा।

नेपालीहरूको महान् चाड बडादसैं अब हाम्रो आँगनमै आइसकेको छ। केही शास्त्रीयता, केही पौराणिकता र केही लोकमान्यता मिसिएर बनेको बडादसैं हिन्दूहरूको मात्र नभइ सम्पूर्ण नेपालीहरूको साझा पर्व हो। 

हिन्दू, बौद्ध, मुस्लिम आदि नेपाली मूलका धर्म–सम्प्रदाय अनि आर्य, मंगोल, किराँत आदि सबै जातिले बडादसैं आ–आफ्नै किसिमले हर्षोल्लासपूर्वक मनाउँछन्। 

हिजोआज केही फरक विचार राख्नेहरूले दसैंका विपक्षमा मत जाहेर गरे पनि उनीहरूको सामाजिक परम्परामा दसैंप्रतिको आस्था थियो। र, छ। 

जीवन भौतिक पिण्ड मात्र होइन। मानसिक, दैविक र आध्यात्मिकताको समष्टि हो। यो कुरा कसैले स्वीकार गरे÷नगरे पनि ध्रुवसत्य हो। बडादसैंजस्ता चाडपर्व जीवनका यिनै विविध पक्षलाई सन्तुलन गर्ने र पुनस्ताजगी गर्ने विशिष्ट अवसर हुन्।

बडादसैं र दुर्गापूजनोत्सवको सम्बन्ध पुराण, तन्त्र, योग, ज्योतिष, वास्तुशास्त्र, मनोविज्ञान, स्वास्थ्य विज्ञानजस्ता विविध पक्षसँग जोडिएको छ। मानवशास्त्री, समाजशास्त्रीदेखि सबै किसिमका विज्ञहरूले यस्ता चाडपर्वको महत्त्व आ-आफ्नै किसिमले बताएका छन्। 

शास्त्रका बहुविध पक्षबाट हेर्दा दुर्गापूजनको विशेष महत्त्वको छ। यो पवित्रता, रमणीयता र उत्साहवृद्धिको अवसर हो। नवदुर्गामा जगज्जननी दुर्गामाताको पूजाअर्चना गर्नाले जीवनशक्तिको अभिवृद्धि हुन्छ। र, आगामी दिन ऊर्जाशील हुन्छन्। 

दुर्गापूजनोत्सवका लागि सबैभन्दा पहिले घर परिसर र वातावरणको सरसफाइ गरिन्छ। फोहोर वातावरणमा विभिन्न किसिमका वास्तुदोष हुन्छन् भने सफा सुग्घर वातावरणमा वास्तुदोषको भय हुँदैन। सफा वातावरणमा बस्नाले भाग्यवृद्धि पनि हुन्छ। संक्षेपमा चौतर्फी उन्नति नै भाग्य हो। जगज्जननी दुर्गा माताको स्वागतका लागि गरिएको सरसफाइ प्रकारान्तरले आफ्नै भाग्यवृद्धिको कारण हुन्छ। 

सरसफाइको सुरुआत गृह परिसरबाट हुन्छ। वर्षा ऋतुमा घरवरिपरि झारपात उम्रेका हुन्छन्। झारपात गोड्ने, खुर्कने, पन्छाउने र बाटादेखि घरसम्म आउने–जाने बाटो सफा गर्ने काम हामी आफैले गर्नु पर्छ भने गाउँ–टोल मिलेर मूलबाटो सफा गर्नु पर्छ। यसरी दुर्गा माताको स्वागतका लागि पहिलो तयारी गरिन्छ। 

दैलेखको महाबु गाउँपालिका–४ मा दसैंका लागि पोतिएको धन शाहीको घर। तस्बिर : नबिन शाही। 

सरसफाइको अर्को चरणमा घरको सरसफाइ पर्छ। वर्षाको पानी र हिलाले छ्यापेर बिग्रिएका घरका भित्ता सफा गर्ने, लिपपोत र रङरोगन गर्ने, माकुराका जाला हटाउने, बाहिर–भित्र, कोठा–चोटा सबैतिर लिपपोत, रङरोगन र झाडुपोचा गरेर दुर्गा भवानीलाई विराजमान गराउनका लागि आफ्नो घर मन्दिरजस्तै चिटिक्क सिँगार्नु पर्छ। यसो गर्नाले शक्तिदायिनी दुर्गा भवानी प्रशन्न हुने मान्यता छ।

घरको शुद्धताका लागि घरभित्र राखिने सामानको व्यवस्थापन पनि आवश्यक हुन्छ। सामानहरू लथालिंग पारेर राख्ने, टुटेफुटेका, च्यातिएका, मैला र फोहोर सामान राख्ने घरमा लक्ष्मीको बास हुँदैन। र, भाग्य खोटो हुन्छ। यस्तो वातावरणमा बस्नाले परिवारमा खिन्नता बनिरहन्छ भने सदस्यहरू मनोरोगका सिकार हुन्छन्। 

महालक्ष्मीस्वरूपा दुर्गा भवानीको स्वागतका लागि टुटेफुटेका भाँडा, ऐना, जुत्ता-चप्पल, अन्य सामान र च्यातिएका, फाटेका कपडा व्यवस्थित गर्नु पर्छ। यस्ता सामान घरमा भण्डारण गरेर राख्नु पनि अशुभ हुन्छ। पुनः प्रयोग गर्न सकिने सामान मर्मत गर्ने, मैला सामान धोइ–पखाली गरेर चिटक्क व्यवस्थापन गर्ने र प्रयोगमा नआउने सामान घरबाट हटाउने गर्नाले महालक्ष्मीस्वरूपा दुर्गा भवानीको आवागमनमा सजिलो हुन्छ। 

दुर्गा भवानीको स्वागतका लागि घरका कोठा-चोटा, छिँडी-भर्याङ, पिँढी, बरन्डा, पूजाकोठा, छत, दलान, आँगन सबै सफा हुनु आवश्यक छ। यसो गर्नाले एकातिर वास्तुदोष शान्त हुन्छ भने अर्कातिर शारीरिक तथा मानसिक रोग शान्त हुन्छन्। सफा सुग्घर घरमा दुर्गा भवानी पनि प्रशन्न भएर प्रवेश गर्नुहुन्छ। 

जनकपुरको दुर्गा मन्दिर सरसफाइ गरिँदै। तस्बिर : सुजितकुमार झा। 

दसैँका अवसरमा भर्सक नयाँ वस्त्र र आभूषण धारण गर्नु शुभ हुन्छ। सके सबै कपडा नत्र एउटा भए पनि नयाँ कपडा फेर्नाले यश र आयु वृद्धि हुने बताइएको छ। यसै हुनाले हाम्रो परम्परामा अरू बेलाभन्दा दसैँमा नयाँ कपडा किन्ने प्रचलन रहेको पनि हो। 

कोरोना भाइरस (कोभिड–१९)को महामारीले यस वर्षको दसैं अरू बेलाको जस्तो सहज छैन। यो महाव्याधिले घरघरमा जन–धनको ठूलो क्षति भएको छ। कतिको ज्यान गएको छ भने कतिका व्यापार–व्यवसाय र रोजगारी बन्द भएका छन्। त्यसो भए तापनि निराशा र शोकले जीवन अगाडि बढ्दैन, ढिलोचाँडो सामान्य जीवनमा फर्कनै पर्छ।

आशावादी बनेर आफ्नो परिसर सरसफाइ गर्ने, व्यवस्थित गर्ने र शरीर मन शुद्ध गर्ने गरेर दुर्गा भवानीलाई स्वागत गरौं। जगज्जननीका प्रसादले यो संकटलाई सहजै पार गर्ने शक्ति प्राप्त हुने छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

ड्रेस सेन्स फैलाउने धाख्वा

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने....

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....